
काठमाडौं । नेपाली बिमा कम्पनीहरुको अधिकांश लगानी मुद्दती निक्षेपमै सीमित भएको देखिन्छ । दायरा विस्तार हुन नसक्दा बिमा कम्पनीको लगानीको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै सीमित हुन पुगेको हो । पछिल्लो पाँच आर्थिक वर्षको विवरण हेर्ने हो भने पनि बिमा कम्पनीहरुले गर्ने लगानी अन्य क्षेत्रतर्फ आकर्षित हुन सकेको छैन ।
जीवन तथा निर्जीवन दुबै किसिमका बिमा कम्पनीहरूले लगानी गर्ने रकमको करिब ८० प्रतिशत रकम बैंक खातामै थन्किने गरेको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ को पाँच वर्षमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गरेको लगानी मुद्दती निक्षेपमै बढी केन्द्रीत भएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ सम्म जीवन बिमा कम्पनीहरुले २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ कुल लगानी गरेका थिए, जुन बेला कुल लगानीको ८२.५३ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब ९४ करोड लगानी मुद्दती निक्षेपमा भएको थियो । त्यसबाट गत आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा जीवन बिमा कम्पनीको कुल लगानी बढेर ६ खर्ब ४३ अर्ब २७ करोड पुगेको छ ।
तर, लगानीको क्षेत्रमा भने खासै परिवर्तन आएको देखिँदैन । आर्थिक वर्ष २०८०/८१ मा जीवन बिमा कम्पनीहरुले कुल लगानीको ८१.०५ प्रतिशत अर्थात् ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगेर थन्क्याएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्म जीवन बिमा कम्पनीहरुले ७ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँको कुल लगानी गरेका छन् ।
जसमध्ये बैंकको मुद्दति निक्षेपमा ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ लगानी भएको देखिन्छ । जीवन बिमाको हकमा मात्रै नभएर निर्जीवन बिमा कम्पनीतर्फको स्थिति पनि उस्तै देखिन्छ । निर्जीवन बिमा कम्पनीहरुको अधिकांश लगानी पनि मुद्दती निक्षेपमै सीमित भएको छ ।
जीवन बिमकहरुले गरेको क्षेत्रगत लगानीको विवरण
निर्जीवन बिमकहरुले गरेको क्षेत्रगत लगानीको विवरण | |||
आर्थिक वर्ष | क्षेत्रगत लगानी (करोडमा) | ||
कुल लगानी | मुद्दती निक्षेप | मुद्दतीको हिस्सा (प्रतिशत) | |
२०८०/८१ | ६६५२ | ५२७२ | ७९.२५ |
२०७९/८० | ५८८६ | ४७४४ | ८०.६० |
२०७८/७९ | ४९९७ | ३९०१ | ७८.०७ |
२०७७/७८ | ४६४३ | ३७६४ | ८१.०७ |
२०७६/७७ | ४२९७ | ३४९१ | ८१.२४ |
बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ सम्ममा ४२ अर्ब ९७ करोड रुपैयाँ कुल लगानी गरेका थिए । जसको ८१.२४ प्रतिशत अर्थात् ३४ अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी भएको थियो । त्यसबाट गत आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा निर्जीवन बिमा कम्पनीको कुल लगानी ६६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
उक्त कुल लगानीको ७९.२५ प्रतिशत अर्थात् ५२ अर्ब ७२ करोड रुपैयाँ निक्षेपमा लगानी भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्म निर्जीवन बिमा कम्पनीहरुले कुल ६८ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् जसमध्ये ४५ अर्ब ७ करोड लगानी भने निक्षेपमा छ ।
यसरी, बिमा कम्पनीहरुको लगानी निरन्तर उकालो लाग्दा पनि लगानी क्षेत्रमा भने निक्षेपमा मात्रै सीमित भएको देखिन्छ । पाँच वर्ष अगाडि बिमा कम्पनीले गर्ने लगानीको क्षेत्र र आजको लगानी क्षेत्रमा खासै परिवर्तन आउन सकेको छैन ।
सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले बिमा कम्पनीले लामो अवधिको वित्तीय साधन परिचालन गरेको तर लगानीको उपयुक्त वित्तीय उपकरण नपाएको स्थिति रहेको उल्लेख गर्दै बिमा कम्पनी लक्षित उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाको लागि पूर्वाधार वण्ड जारी गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको थियो ।
निर्जीवन बिमकहरुले गरेको क्षेत्रगत लगानीको विवरण
आर्थिक वर्ष क्षेत्रगत लगानी (करोडमा)
जीवन बिमकहरुले गरेको क्षेत्रगत लगानीको विवरण | |||
आर्थिक वर्ष | क्षेत्रगत लगानी (करोडमा) | ||
कुल लगानी | मुद्दती निक्षेप | मुद्दतीको हिस्सा (प्रतिशत) | |
६४३२७ | ५२१३६ | ८१.०५ | |
२०८०/८१ | ५६८१५ | ४३७९३ | ७७.०८ |
२०७९/८० | ४७३१६ | ३६४४५ | ७७.०२ |
२०७८/७९ | ३५९३३ | २९०४९ | ८०.८४ |
२०७७/७८ | २८४६७ | २३४९४ | ८२.५३ |
आयोगको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा समेत यो विषय समेटिएको छ । कार्यान्वयन कार्य योजनामा एक वर्ष भित्र पूर्वाधार वण्ड जारी गर्नुपर्ने भनिएको छ । यदि, यस्ता टुल्सहरु आएमा बिमा कम्पनीले लगानी गर्ने दायरा विस्तार हुने देखिन्छ । हुन, त नियामक प्राधिकरणले बिमा कम्पनीलाई अन्य क्षेत्रमा पनि लगानी गर्ने बाटो खोलिदिएको छ । तर, निक्षेप बाहेक अन्य क्षेत्रको लगानी भने नगन्य मात्रामा देखिन्छ ।
नेपाल बिमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्ले पछिल्लो केही समय यता निक्षेप बाहेकका अन्य क्षेत्रमा पनि लगानी जान थालेको बताउँछन् । ‘पहिलाको तुलनामा अहिले बैंकको निक्षेप बाहेक अन्य क्षेत्रमा पनि लगानी जान थालेको छ । यद्यपि, लगानी गर्ने टुल्स तथा विकल्पहरु धेरै नभएकाले पनि ठुलो हिस्सा निक्षेपमै छ,’ वाग्ले भन्छन्, ‘सुरक्षाका हिसाबमा पनि क वर्गका बैंकहरु सुरक्षित हुने हुनाले यसतर्फ बढी लगानी गएको हो ।’
उनले अन्य सुरक्षित क्षेत्रहरु आउँदै जाँदा बैंकहरुको लगानी पनि विविधिकरण हुँदै जाने बताए । हुन, त नागरिकको पैसा कम प्रतिफल आउने भए पनि सुरक्षित ठाउँमा राख्नुपर्ने तर्क गरिन्छ । फेरि पूवार्धारमा लगानी गर्ने हो भने पनि बिमा कम्पनीले मात्रै पूर्वाधार निर्माणको काम गर्न सक्दैन । लगानी गरेर प्रतिफल ल्याउन सकेन भने जनताको लगानी डुब्ने स्थिति बन्छ ।
यहि, कारण प्राधिकरणले बढी मात्रामा बैंकिङ क्षेत्रतर्फ लगानी केन्द्रित गर्न खोजेको देखिन्छ । तर, पछिल्लो समय कृषि, पूर्वाधार, पर्यटनमा जस्ता थुप्रै क्षेत्रमा लगानीको बाटो प्राधिकरणले खोल्दै लगेको छ । अहिले बाटो खेलेका यी ठाउँबाट बिमा कम्पनीले प्रतिफल लिन सके र व्यापार दिगो बनाउन सके भने थप लगानीका लागि प्रोत्साहन गर्ने योजनामा प्राधिकरण छ ।
यसका अलावा, नेपालमा बिमा कम्पनीले लगानी गर्ने बिमाका बन्ड, ग्रीन बन्डहरु छैनन् । यदि यी परिदृश्य अनुकुल बन्यो र लगानीका नयाँनयाँ टुल्सहरु आए भने त्यसतर्फ बिमा क्षेत्रको लगानी जाने प्राधिकरणको भनाइ छ । वास्तवमा, बिमा क्षेत्रले अहिले उत्पादनमूलक क्षेत्रमा जोखिम लिन नसक्नु र बैंकिङ प्रणाली भित्र मात्रै लगानी गर्नु दीर्घकालीनरुपमा घाटा मानिन्छ ।
यस्तो प्रवृत्तिले बिमा क्षेत्रको दीर्घकालीन उद्देश्य र अर्थतन्त्रको समग्र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने क्षमतालाई सीमित गरिरहेको छ । बिमा कम्पनीको लगानी कृषि, ऊर्जा, पूर्वाधार, औद्योगिक उत्पादन, हाइड्रोपावर जस्ता दीर्घकालीन लाभदायक र मुलुकको आर्थिक विकासमा योगदान दिने क्षेत्रतर्फ परिचालन गर्न आवश्यक रहेको विषय बेलाबेला उठ्दै पनि आएको छ ।
बिमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्रमा वा ऋणपत्रमा, क वर्गको बैंकको मुद्दती निक्षेप तथा पूर्वाधार बैंकको मुद्दती निक्षेपमा, घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, सूचीकृत कम्पनीले जारी गर्ने बन्ड, डिबेन्चर ऋणपत्रमा लगानी गर्न पाउँछन् ।
यस्तै, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत् उद्योग, सौर्य उर्जा, केवलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्थास्थ्य क्षेत्रमा लगानी गर्ने बाटो बिमा कम्पनीका लागि खुला छ । नागरिक लगानी कोष म्युचअल फन्ड, इन्भेस्टमेन्ट कम्पनीको सेयर, संस्थापक सेयर जस्ता क्षेत्रमा पनि बिमा कम्पनीले लगानी गर्न पाउने नीतिगत व्यवस्था छ ।
प्रतिक्रिया