
काठमाडौं । व्यवसाय बढे पनि खर्च बढ्दा गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बिमा कम्पनीको नाफामा उच्च गिरावट देखिएको छ ।
विशेषगरी खुद बिमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिए पनि लगानीसहित अन्य आम्दानी बढ्न नसक्दा निर्जीवन बिमा कम्पनीको कुल आम्दानी भने अपेक्षित रुपमा बढ्न सकेन । तर, कुल खर्चमा वृद्धि हुँदा बिमा कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको हो ।
गत आर्थिक वर्षको असोजमा परेको भारी वर्षापछि बाढी र पहिरोका कारण भएको क्षतिको दाबी भुक्तानीमा बिमा कम्पनीहरुले ठूलो रकम खर्च गर्नुपर्यो । जसले गर्दा बिमा कम्पनीको आम्दानीमा सुधार भए पनि खर्च बढ्न पुग्यो । तर, खुद बिमाशुल्क बाहेकका अन्य आम्दानी भने बिमा कम्पनीहरुमा अपेक्षित रुपमा बढ्न नसकेको देखिन्छ । यसले गर्दा कम्पनीको नाफामा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बिमा कम्पनीहरुको खुद बिमाशुल्क १५ अर्ब १ करोड ८२ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा १७.१४ प्रतिशतले बढेर १७ अर्ब ५९ करोड २५ लाख रुपैयाँ पुगेको छ । तर, कुल आम्दानी भने २.४३ प्रतिशतले मात्रै बढेर २६ अर्ब ९१ करोड ११ लाख रुपैयाँ मात्रै रहेको कम्पनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ ।
अघिल्लो आर्थिक वर्षमा नै कम्पनीहरुले २६ अर्ब २७ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए । यता बिमा कम्पनीरुको खर्च भने ११.४३ प्रतिशतले बढेर १९ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च १७ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ मात्रै थियो ।
यसरी कुल आम्दानीमा कुल खर्च उच्च हुँदा नाफा घटेको हो । १४ निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब १६ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २८.९२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरुको नाफा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष प्रभु इन्स्योरेन्सले ३९ प्रतिशतले नाफा वृद्धि गर्यो । सानिमा जीआईसीले १०।१३ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ९.६६ प्रतिशतले नाफा वृद्धि गर्दा अन्य चार कम्पनीमा सामान्य सुधार देखियो । अघिल्लो आवको तुलनामा गत वर्ष ओरिएन्टल इस्न्स्योरेन्सको कम्पनीको नाफा ८६ प्रतिशतले घट्दा राष्ट्रिय बिमा कम्पनीको ३१ प्रतिशतले र आईजीआई प्रुडेन्सियलको २७ प्रतिशतले घट्यो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर कम्पनीले ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । नेको इन्स्योरेन्सले ५५ करोड ८ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ नाफा कामाएका छन् । नेशनल इन्स्योरेन्सको नाफा ६२ करोड ३९ लाख रुपैयाँल ऋणात्मक हुँदा ओरिएन्टलले ८ करोड २९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
खासगरी, बिमा कम्पनीको लगानी मुद्दती निक्षेपमा रहेकाले बैंकको ब्याजदर न्यून हुँदा त्यसको असर नाफामा देखिएको बिमकहरु बताउँछन् । अघिल्लो आर्थिक वर्षमा बैंकको ब्याजदर उच्च रहेकाले बिमा कम्पनीले ब्याजवापत् राम्रो प्रतिफल प्राप्त गरेका थिए । तर, गत आर्थि वर्षबाट बैंकको ब्याजदर न्यून हुँदा ब्याजवापत्को प्रतिफल घट्ने गई त्यसको असर बिमा कम्पनीको नाफामा देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५७.८८ प्रतिशत बढी खुद बिमाशुल्क आर्जन गर्दा एनएलजी इन्स्योरेन्सले ४६ प्रतिशतले, नेपाल इन्स्योरेन्सले ३३ प्रतिशतले र शिखर इन्स्योरेन्सले ३१.९१ प्रतिशतले बढाए । अघिल्लो आवको तुलनामा गत आवमा राष्ट्रिय बिमा कम्पनीको खुद बिमाशुल्क संकलन २०.४५ प्रतिशतले घट्यो ।
समग्रमा गत आवमा तीन बिमा कम्पनीको खुद बिमाशुल्क आर्जन घट्दा अन्य ११ कम्पनीले भने बढाएका छन् । राष्ट्रिय बिमा कम्पनी बाहेक अन्य बिमा कम्पनीको बिमाशुल्क संकलनमा ठुलो कमि देखिँदैन । वित्तीय विवरण हेर्दा निर्जीवन बिमा कम्पनीको खुद बिमाशुल्क आर्जन भने सकारात्मक नै देखिन्छ ।
गत आर्थिक वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियरले २ अर्ब ५ करोड र हिमालयन एभरेष्टले २ अर्ब २ करोड बराबरको खुद बिमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम खुद बिमाशुल्क संकलन गरेको राष्ट्रिय बिमा कम्पनीले २४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गर्दा नेशनल इन्स्योरेन्सले ५६ करोड ६ लाख र प्रभु इन्स्योरेन्सले ६३ करोड ४९ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीले कुल २६ अर्ब ९१ करोड रुपैयाँ कुल आम्दानी गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने बिमा कम्पनीले २६ अर्ब २७ करोड कुल आम्दानी गरेका थिए ।
गत आर्थिक वर्षमा नेशनल इन्स्योरेन्स कम्पनीको कुल आम्दानी २२.७० प्रतिशले घट्दा राष्ट्रिय बिमा कम्पनीको २०.०६ प्रतिशतले घटेको छ । यसका अलावा ओरिएन्टल, युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियलको कुल आम्दानी पनि घटेको छ । पाँच कम्पनी बाहेक अन्य बिमा कम्पनीको कुल आम्दानी भने बढेको छ ।
जसमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष एनएलजी इन्स्योरेन्सको कुल आम्दानी २०.१६ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १२.५० प्रतिशतले बढेको छ । यस्तै, शिखर इन्स्योरेन्सको कुल आम्दानी ११.७५ प्रतिशतले बढ्दा अन्य कम्पनीको कुल आम्दानीमा सामान्य वृद्धि मात्रै भएको देखिन्छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब ७३ करोड, हिमालयन एभरेष्टले २ अर्ब ६८ करोड र नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड कुल आम्दानी गरेको छ । सबैभन्दा कम कुल आम्दानी गरेको नेशनल इन्स्योरेन्सले ७० करोड र युनाइटेड अजोडले ९६ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेका छन् ।

केही बिमा कम्पनीको नाफादेखि आम्दानीसम्म संकुचित बन्दा लगानी पनि सोही लयमा सीमित भएको छ । गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीले कुल ७९ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.७४ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षमा भने निर्जीवन बिमा कम्पनीले कुल ७७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका थिए । यस अवधिमा चार बिमा कम्पनीको लगानी घट्दा अन्यको भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक लगानी वृद्धि गर्ने कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ जसले आफ्नो लगानी ३२.३४ प्रतिशतले बढाएको छ ।
एनएलजीले ३२ प्रतिशत लगानी बढाउँदा प्रभु इन्स्योरेन्सले १३.१२ प्रतिशत, नेको इन्स्योरेन्सले ७.५५ प्रतिशत र शिखर इन्स्योरेन्सले ५.११ प्रतिशत लगानी वृद्धि गरेको छ । समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्जीवन बिमा कम्पनीले लगानी वृद्धिमा खासै सुधार गर्न सकेको देखिँदैन ।
गत आर्थिक वर्षमा राष्ट्रिय बिमा कम्पनीले १८ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ भने सिद्धार्थ प्रिमियरले ९ अर्ब लगानी गरेको छ । अर्कोतर्फ, प्रभु इन्स्योरेन्स कम्पनीले भने १ अर्ब ४३ करोड २४ लाख रुपैयाँको मात्रै लगानी गरेको छ ।

गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीले कुल १९ अर्ब ७८ करोड रुपैयाँ कुल खर्च गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.४९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने यी बिमा कम्पनीले १७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कुल खर्च गरेका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेपाल इन्स्योरेन्सले ८८.३५ प्रतिशतले कम खर्च गरेको छ । यसका अलावा सिद्धार्थ प्रिमियर र सानिमा जीआईसी इन्स्योरेन्सले पनि खर्च घटाएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा नेशनल इन्स्योरेन्स कम्पनीले २०७ प्रतिशत बढी खर्च गर्दा ओरिएन्टलले ४९.०९ प्रतिशतले, एनएलजीले २३.११ प्रतिशतले, राष्ट्रिय बिमा कम्पनीले २५.५२ प्रतिशतले र हिमालयन एभरेष्टले २०.०७ प्रतिशत बढी खर्च गरेको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५४ करोड २८ लाख कुल खर्च गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८ करोड ८३ लाख र शिखर इन्स्योरेन्सले २ अर्ब ८ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको छ ।
सबैभन्दा कम खर्च गरेको नेपाल इन्स्योरेन्सले १० करोड १२ लाख रुपैयाँ खर्च गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले ६५ करोड ९३ लाख रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय बिमा कम्पनीको कुल खर्च भने ५७ करोड ४५ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल बिमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात न्यूनतम १.३ प्रतिशत तोकेको छ । जसअनुसार वित्तीय विवरणमा हेर्दा बिमा कम्पनी यसमा भने निकै सहज अवस्थामा देखिन्छन् ।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सबैभन्दा बढी सल्भेन्सी रहेको प्रभु इन्स्यारेन्सको सल्भेन्सी अनुपात ४.६६ प्रतिशत छ ।
नेपाल इन्स्योरेन्सको सल्भेन्सी अनुपात ४.३४ प्रतिशत, नेको इन्स्योरेन्सको ३.८४ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.६७ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ३.४३ प्रतिशत, एनएलजीको ३.४२ प्रतिशत र हिमालयन एभरेष्टको ३.३२ प्रतिशत छ ।
सबैभन्दा कम सल्भेन्सी अनुपात रहेको सानिमा जीआईसीको पनि २.६२ प्रतिशत छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीले भने आफ्नो वित्तीय विवरणमा आर्थिक वर्ष २०७६/७७ को मात्रै सल्भेन्सी अनुपातको तथ्यांक राखेको छ जुन २।७३ प्रतिशत छ ।








प्रतिक्रिया