![](https://clickmandu.com/wp-content/uploads/2025/02/us-tarrif-768x401.jpg)
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशहरूमा अमेरिकी सामानमा लगाएको ट्यारिफ (कर)को बराबरी गर्ने घोषणा अमेरिकी उपभोक्ताका लागि महँगो पर्न सक्ने देखिएको छ ।
ट्रम्प अन्य देशहरूले अमेरिकाले आयातमा लगाएको भन्दा बढी कर ति देशले निर्यातमा लगाउनुलाई अन्यायपूर्ण ठान्छन् । ‘यदि उनीहरूले हामीलाई कर लगाउँछन् भने हामी पनि उनीहरूलाई कर लगाउँछौं,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पको यो नीति अमेरिकी समयअनुसार मंगलबारदेखि लागू हुन सक्ने सीएनएनले जनाएको छ । यसले अधिकांश देशलाई प्रभाव पार्न सक्ने समाचारमा जनाइएको छ । यो कर चिनियाँ सामानमा पहिले नै लागू भइरहेको कर र स्टील तथा आल्मुनियममा २५% को ट्यारिफमा थप हुनेछ ।
विश्व बैंकका अनुसार सन् २०२२ मा अमेरिकाको औसत करको दर १.५ प्रतिशत थियो । यदि अमेरिकाले अन्य देशले अमेरिकी सामानमा लगाएको करको बराबरी गर्ने हो भने यो दर ५% सम्म पुग्न सक्ने ड्यूश बैंकका अर्थशास्त्रीले अमेरिकामा सामानहरू पठाउने शीर्ष १० देशको तथ्यांक विश्लेषणको आधारमा अनुमान गरेका छन् ।
यसले चीन, मेक्सिको, क्यानाडा, जापान, जर्मनी, भियतनाम जस्ता देशहरूलाई प्रभाव पार्नेछ जसले अमेरिकामा ७०% निर्यात गर्छन् ।
केही अवस्थामा अमेरिका र अन्य देशहरूबीच करको अन्तर धेरै ठूलो छ । उदाहरणका लागि २०२२ मा भारतले अमेरिकी सामानमा ९.५ प्रतिशत कर लगाएको थियो भने अमेरिकाले भारतबाट आयात हुने सामानमा ३ प्रतिशत मात्र कर लगाएको थियो।
अमेरिकी उपभोक्तालाई के प्रभाव पार्छ ?
अमेरिकाले विदेशबाट धेरै सामान आयात गर्छ । किनभने कतिपय उत्पादन अमेरिकामा भन्दा सस्तो हुन्छ वा अमेरिकामा ति सामग्रीहरुको उत्पादन हुँदैन ।
कुनै अवस्थामा एउटा मात्र देशले केही विशेष सामान उत्पादन गर्छ । ट्रम्पका पूर्ववाणिज्य सचिव विल्बर रसलेका अनुसार ट्रम्पको पहिलो कार्यकालमा अस्ट्रेलिया मात्र ‘ग्रीन स्टील’ उत्पादन गर्ने देश थियो । यसले गर्दा ट्रम्प प्रशासनले अस्ट्रेलियालाई स्टील करमा छुट दिएको थियो । यदि छुट नदिइएको भए अमेरिकी उपभोक्ताले ग्रीन स्टीलका लागि २५% बढी तिर्नु पर्थ्यो ।
ट्रम्पको नयाँ ट्यारिफ नीतिले यस्तो छुट दिँदैन । जसले गर्दा अमेरिकी उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य हुनेछन् । यसको असर कति हुने छ र को बढी प्रभावित हुन्छ अहिले सकिने अवस्था छैन ।
अमेरिकी उपभोक्ताले सस्तो विकल्प फेला पार्न सकेनन् भने उनीहरूले करको बोझ बहन गर्नुपर्ने हुन्छ । अर्थात महँगोमा सामान खरिद गर्नुपर्ने हुन्छ । यो आपूर्ति गर्ने कम्पनीले बहन गर्न सक्ने खर्चमा पनि निर्भर हुन्छ ।
केही सामानहरू अमेरिकामा उत्पादन हुँदैनन् । जस्तै मेडिकल पञ्जा अमेरिकामा उत्पादन हुँदैन । यी पञ्जाहरु दक्षिणपूर्वी एसियाली देशहरूमा धेरै सस्तोमा उत्पादन हुन्छ । त्यस्तै माइक्रोवेब र लुगाधुने मेशिन जस्ता उपकरणहरूमा प्रयोग हुने रेसिस्टर र क्यापासिटर जस्ता साना पूर्जाहरू पनि अमेरिकामा उत्पादन हुँदैन । त्यसैले यस्ता सामानको मूल्य अमेरिकामा अस्वभाविक रुपमा बढ्न सक्छ ।
युरोपेली कारहरूमा पनि करले ठूलो असर गर्नेछ । हाल अमेरिकाले युरोपेली कारहरूमा २.५ प्रतिशत कर लगाउँछ भने युरोपेली संघले अमेरिकी कारहरूमा १०% ट्यारिफ लगाउँछ । तर, ट्यारिफ बराबरको नीतिमा जाने हो भने युरोपेली कारमा अमेरिकाले पनि थप कर लगाउने छ । जसले गर्दा अमेरिकामा युरोपेली कारहरुको मूल्य वृद्धि हुन जान्छ । यदि अन्य देश ट्रम्पको उद्देश्य अनुसार सम्झौता गर्न सहमत हुन्छन् भने ट्रम्पले ट्यारिफ लागू गर्न ढिला गर्न सक्छन् । तर, ट्रम्प सम्झौताको ‘मुड’मा देखिएका छैनन् ।
लोकप्रिय मेक्सिकन बियर मोडेलो र कोरोना अमेरिकी ग्राहकहरूका लागि अझ महँगो हुन सक्ने छ । ती बियर आयात गर्ने अमेरिकी कम्पनीले बढेको आयात कर अनुसार मूल्यमा वृद्धि गर्दा यसको प्रभाव उपभोक्तामा पर्ने छ ।
मोडेलो २०२३ मा अमेरिकामा सबैभन्दा बढी बिक्री हुने बियर ब्रान्ड बनेको थियो र हालसम्म शीर्ष स्थानमा रहेको छ ।
स्पिरिट्सको हकमा भने स्थिति अलि जटिल छ । यो क्षेत्र १९९० को दशकदेखि नै प्रायः करमुक्त रहँदै आएको छ। अमेरिकी, क्यानाडाली र मेक्सिकन उद्योग संस्थाहरूले कर घोषणा हुनुअघि नै संयुक्त रूपमा वक्तव्य जारी गर्दै चिन्ता व्यक्त गरिसकेका छन्
उनीहरूले बर्बन, टेनेसी ह्विस्की, टकीला र क्यानाडियन ह्विस्की जस्ता केही ब्रान्डहरू ‘विशेष रूपमा पहिचान गरिएका उत्पादनहरू’ भएको भन्दै यी पेयहरू तोकिएको देशबाहिर उत्पादन गर्न नसकिने उल्लेख गरे।
यी पेयहरूको उत्पादन अन्यत्र सार्न नसकिने भएकाले आपूर्तिमा प्रभाव पर्न सक्ने र मूल्य वृद्धि हुन सक्ने छ ।
अमेरिकी उपभोक्ताले मूल्य वृद्धिको सामना गर्न सक्ने एउटा फलफूल एभोकाडो हो । मेक्सिकोमा उत्पादन हुने एभोकाडोले हरेक वर्ष अमेरिकी बजारको झन्डै ९० प्रतिशत हिस्सा ओगट्छ।
भन्सार कर लागू भएमा एभोकाडो साथै ग्वाकामोले जस्ता लोकप्रिय एभोकाडो आधारित परिकारहरूको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।
त्यस्तै अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यमा पनि मूल्य वृद्धिको जोखिम छ । किनकी क्यानडा अमेरिकाको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता हो । गत वर्ष जनवरीदेखि नोभेम्बरसम्म अमेरिका आयात भएको तेलमध्ये ६१% क्यानडाबाट आएको थियो ।
अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार कर लगाएको छ, तर ऊर्जामा भने कम दर अर्थात् १० प्रतिशत कर लागु गरिएको छ।
अमेरिकामा बनाइएका प्रशोधन केन्द्रहरू (रिफाइनरी)का लागि प्रायः बाक्लो कच्चा तेल आवश्यक पर्छ । जुन मुख्यतया क्यानडा र केही मात्रामा मेक्सिकोबाट आपूर्ति हुने गरेको छ ।
अमेरिकन फ्युल एन्ड पेट्रोकेमिकल म्यानुफ्याक्चरर्सका अनुसार धेरै रिफाइनरीहरूलाई पेट्रोल, डिजेल र जेट इन्धनको उत्पादन लचिलो बनाउन गाढा कच्चा तेल आवश्यक पर्छ ।
प्रतिक्रिया