![](https://clickmandu.com/wp-content/uploads/2025/02/steel-768x431.jpg)
एजेन्सी । जापानले बुधबार अमेरिकासँग स्टिल र आल्मुनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करमा छुटका लागि आग्रह गरेको छ ।
जापानी सरकारी प्रवक्ताले कर छुटका लागि अमेरिकासँग आग्रह गरिएको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसले क्यानाडा, मेक्सिको र युरोपेली संघ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।
‘हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ’, प्रवक्ता योशिमासा हायासीले भने ।
यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको उनले बताए । ‘जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ’, उनले भने ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए ।
तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।
‘ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’’, व्यापार मन्त्रालयका एक अधिकारीले भने ।
ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र आल्मुनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ ।
प्रतिक्रिया