काठमाडौं । अमेरिकी सेनाको एक विमान अवैध रूपमा अमेरिका बसेका २०५ भारतीयहरूलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि पहिलोपटक अवैधरुपमा अमेरिकामा बसिरहेका भारतीय आप्रवासीहरूलाई डिपोर्ट गरिएको हो ।
सुरक्षा अधिकारीहरूका अनुसार अमेरिकाबाट डिपोर्ट गरिएकाको सूची जाँच गरिसकिएको छ र तीमध्ये कोही पनि अपराधी होइनन् ।
अमृतसर आइपुगेका केही व्यक्तिहरूलाई प्रहरीको गाडीमार्फत उनीहरूका गाउँहरूमा पठाइनेछ भने अन्य राज्यका नागरिकहरूलाई विमानमार्फत गन्तव्यमा पुर्याइनेछ ।
मिडियालाई विमानस्थलभित्र प्रवेशको अनुमति दिइएको छैन । तर बाहिर उनीहरूसँग कुराकानी गर्न दिइएको छ । पंजाब सरकारका एनआरआई मामिला सम्बन्धी मन्त्री कुलदीप सिंह धालीवालले यस घटनालाई गम्भीर मुद्दा भन्दै प्रतिक्रिया दिएको बीबीसी हिन्दीले जनाएको छ ।
‘धेरै भारतीयहरू कार्य अनुमति लिएर अमेरिका गएका थिए, तर समय सकिएपछि अवैध आप्रवासीका रूपमा परिभाषित भए,’धालीवालले अमेरिकी निर्णयप्रति निराशा व्यक्त गर्दै भने, तिनीहरूले अमेरिकी अर्थतन्त्रमा योगदान दिएका छन्, त्यसैले तिनीहरूलाई नागरिकता दिनुपर्थ्यो ।’
यस विषयमा उनले आगामी हप्ता भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भेट्ने योजना बनाएका छन् । साथै, उनले पंजाबका नागरिकहरूलाई अवैध रूपमा विदेश नगइदिन आग्रह गरे ।
पंजाबका डीजीपी गौरव यादवले मुख्यमन्त्रीले प्रवासीहरूलाई स्वागत गर्ने नीति अवलम्बन गर्ने बताए । उनले अहिलेसम्म उनीहरुक पहिचान र कानुनी स्थितिको विस्तृत जानकारी छैन ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी सेनालाई अवैध आप्रवासीहरूलाई देश निकालामा प्रयोग गरिएको छ । अमेरिकी-मेक्सिको सीमामा प्रवासीहरूका लागि सेनाको अस्थायी शिविरहरू बनाइएको छ । विभिन्न देशका अवैध आप्रवासीहरूलाई फिर्ता पठाउन सेनाको प्रयोग गरिएको छ । रॉयटर्सका अनुसार, यसअघि ग्वाटेमाला, पेरू र होन्डुरासका आप्रवासीहरूलाई पनि डिपोर्ट गरिएको थियो।
अमेरिकाले सामान्यतया आफ्ना आप्रवासन निकायहरूमार्फत डिपोर्टेशन गर्छ । सैन्य हस्तक्षेप गर्दा खर्च धेरै हुने देखिएको छ। एक रिपोर्टअनुसार, ग्वाटेमालाका अवैध आप्रवासीहरूलाई फर्काउन अमेरिकी सेनाले प्रति व्यक्ति करिब ४ हजार ७०० अमेरिकी डलर (करिब ४ लाख रुपैयाँ) खर्च गरेको थियो ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री मार्को रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ताका क्रममा अवैध भारतीय आप्रवासीहरूको चिन्ता व्यक्त गरेका थिए ।
अमेरिकी विदेश मन्त्रीले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग पनि अवैध आप्रवासनको विषय उठाएका थिए । जयशंकरले पत्रकारहरूसँग भने, ‘भारत अवैध आप्रवासनको समर्थन गर्दैन। यसले अवैध गतिविधिहरूलाई प्रोत्साहन दिन्छ र हाम्रो प्रतिष्ठालाई असर गर्छ। यदि कुनै भारतीय नागरिक अमेरिका अवैध रूपमा बसिरहेको पाइएमा र उसको भारतीय नागरिकता प्रमाणित भएमा, हामी उसलाई कानुनी रूपमा फिर्ता ल्याउन तयार छौं ।’
अमेरिकामा अवैधरुपमा रहेका १३ सय आसपास नेपाली रहेको बताइएको छ । छिमेकी देश भारतका नागरिकलाई फिर्ता पठाएको अमेरिकाले नेपालीलाई के गर्छ चासोको रुपमा हेरिएको छ ।
प्रतिक्रिया