सार्वजनिक यातायातमा ईभी: लगानी बढाउँदै सुन्दर र साझा यातायात



काठमाडौं । नेपालमा पछिल्लो समय ठूला विद्युतीय बसहरुको प्रचलन बढ्दो छ । यसैकारण पहिलो पटक ठूला विद्युतीय बसमार्फत सार्वजनिक यातायातको सेवा दिइरहेका कम्पनीहरु थप क्षमता बढाउनमा लागिपरेका छन् । हाल विद्युतीयमा ठूला बस सञ्चालन गर्ने सुन्दर र साझा यातायातले थप लगानीसहित यात्रु क्षमता बढाउने रणनीति कार्यान्वयन गर्न लागेका हुन् ।

दुबै कम्पनीले ठूला विद्युतीय सवारी साधन सञ्चालन गर्दै सेवा दिइरहेका छन् । यी दुबै कम्पनीले यात्रुको सहजता र चाहना अनुसारको गन्तव्यमा सेवा विस्तार पनि गर्दै गएका छन् ।

नेपालमा विद्युतीय सवारीमार्फत सर्वाजनिक यातायात सेवा दिने सुन्दर यातायात पहिलो निजी क्षेत्रको कम्पनी हो । यसले २०७६ भदौ २३ मा सार्वजनिक ईभी भित्र्याएको थियो । सुन्दरले ५ वर्षअगाडि जम्मा ४ वटा बसबाट सार्वजनिक सेवा दिएको थियो भने हाल कम्पनीसँग ३५ वटा सार्वजनिक सवारी पुगिसकेका छन् । यसमध्ये २५ वटा आफैं खरिद गरेको छ भने १० वटा विद्युतीय माइक्रो भाडामा लिएर सञ्चालन गरिरहेको छ ।

नेपालकै सार्वजनिक यातायातमा प्रवेश गर्ने पहिलो कम्पनी हुनुका साथै ठूला तथा साना चार्जिङ मेसिनसमेत सुन्दर यातायातसँग छ ।

सुन्दर यातायातका प्रबन्ध निर्देशक भेषबहादुर थापाका अनुसार कम्पनीका १६ वटा विद्युतीय ठूला सार्वजनिक यातायात सञ्चालनमा छन् भने थप बस ल्याएर सेवाको दायारा बढाउने प्रयास जारी छ । कम्पनीले साना ९ वटा माइक्रोसमेत सञ्चालन गर्दछ । सुन्दर यातायातले साना गाडीमार्फत सिन्धुली, जनकपुर र दाङसम्मको गन्तव्यका यात्रुलाई सेवा दिइरहेको छ ।

सुन्दर यातायातले अबको एक महिनाभित्रै आधुनिक विद्युतीय सवारी साधन भित्र्याउने पनि जनाएको छ । यसले हालको भन्दा बढी उचाई भएको ४० वटा बस थप्दै छ । कम्पनीले थप गर्दै गरेका सवारी सधानमध्ये ४ वटा भने आधुनिक सुविधा सम्पन्न क्लोज बस हुने बताएको छ । हाल सुविधासम्पन्न भनेर सञ्चालनमा आएका डिजेल बस सरहकै विद्युतीय सवारी साधान हुने थापाले बताए ।

सुन्दरले आधुनिक सुबिधासहितका क्लोज बस भित्र्याएर काठमाडौंबाट भैरहवा रुटमा सेवा दिने भएको छ । यी गाडी भदौ २३ मा सुन्दर यातायातको वार्षिकोत्सवको अवसर पारेर ल्याउने तयारी भएपनि भदौ महिनाभित्र भने आइपुग्ने समयसीमा तय गरेको छ ।

यो कम्पनीसँग आफ्नै ८ वटा चार्जिङ स्टेसन छ भने थप स्टेसन बनाउने काम पनि गरिरहेको छ । बुटवल नारायणगढखण्डको दलदले र बुटवल, भैरहवा र पोखरामा चार्जिङ स्टेसन बनाउँदै गरेको सुन्दर यातायातले विद्युतीय सार्वजनिक यातायातमा एउटा छुट्टै इतिहास बनाउने कम्पनीसमेत बन्दै गएको छ । कम्पनीले काठमाडौं बाहिर विद्युतीय बसमार्फत यात्रु सेवा दिने पहिलो कम्पनीको रुपमा समेत आफूलाई चिनाएको छ ।

‘दुःखजिलो गरेर सार्वजनिक सेवामा इभीको सुरुवात गरेको यो कम्पनीले विस्तारै बजारको पकड बढाउन थालेको छ,’ सुन्दर यातायातका थापाले क्लिकमाण्डुसँग भने, ‘यसले ४ वटा बसबाट सुरु गरेको सेवामा पछिल्लोपटक एकैपटक ४० वटा बस ल्याउनेसम्मको क्षमता बनाउन सकेको छ ।’

जम्मा ५ करोडबाट सुरु भएको सुन्दर यातायातको लगानी हाल करिब २ अर्ब रुपैयाँ हाराहारीमा पुगेको पनि थापाले जानकारी दिए ।

सार्वजनिक यातायातमा लगानी गरेर ठूला बस सञ्चालन गर्ने काम भने लामो समयदेखि साझा यातायातले गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार सरकारी लगानी भएकै कारण सेवा र सुविधामा राम्रो गर्दै क्षमता धेरै भएको बस ल्याउने काम गर्न सकिएको छ ।

हाल नौ मिटर लम्बाइका बस संचालन गरिरहेको साझा बस अब भने १२ मिटरमा जाने भएको छ । ‘सिट क्षमता बढाउन र एकैपटक धेरै यात्रुलाई सेवा दिन हालको भन्दा थप लामो इभी बसको आवश्यकता देखियो,’ दिक्षितले भने ‘त्यसै कारण यात्रु क्षमता र लगानीका दृष्टिले ठूला सवारी ल्याउन लागिएको छ ।’

सार्वजनिक यातायात डिजेल पेट्रोलबाट चल्दा हुने खर्च कम गर्न र वातानुकुलीत सेवा दिन इभीमा जाने सरकारको निर्णयलाई कार्यान्वयन गर्ने काम साझाले गरिदिएको पनि उनको भनाइ छ । सार्वजनिक सवारी विद्युतीय भएपछि यसले दिने सेवा र सुविधा थप प्रभावकारी पनि भइरहेको उनको दाबी छ ।

साझा यातायातमा सरकारले ३ अर्ब रुपैयाँ लगानी गरेको छ । सरकारले साझा यातायातलाई विद्युतीय सवारी सञ्चालन गर्नकै लागि गरेको उक्त लगानीबाट साझाले हालसम्म ४० वटा विद्युतीय सवारी खरिद गरिसकेको छ भने आफ्नै चार्जिङ स्टेसनसम्म बनाउँदै गएको छ ।

साझा यातायातसँग पुल्चोकमा नेपालकै ठूलो चार्जिङ स्टेशन छ । एकैठाउँमा ४० वटा बस पार्किङ गरेर चार्ज गर्नुपर्ने यो स्थान अब भने साँधुरो भएकोले थप सवारीलाई चार्जिङ गर्न नयाँ स्थानको आवश्यक पर्ने भएको छ । यसका लागि नयाँ ठाउँको व्यवस्था सरकारले गरिदिनुपर्ने भनाइ साझा यातायातको छ ।

साझाले थप विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाइरहेको छ । यसले सार्वजनिक यातायातलाई सहज र प्रभावकारी बनाउने छुट्टै रणनीतिसमेत बनाउँदै गएको बताएको छ ।

साझा यातायतासँग हाल ४० वटा विद्युतीय सार्वजनिक सवारी साधन चलिरहेको छ । पेट्रोल डिजेलको खपत घटाउँदै जान वातावरणानुकुलीत सहरी यातायातको उपयुक्त विकल्प नै ठूला ईभी हो भन्ने निष्कर्षका साथ सरकारले नै साझा यातायातमा लगानी गरेको हो । सरकारले गरेको लगानीलाई उपयुक्त ढंगबाट परिचालन गर्ने जिम्मेवारी मात्रै आफूले पाएको साझा यातायातका अध्यक्ष दीक्षितले बताए ।

साझामा सरकारले गरेको लगानीलाई तीन चरणमा कार्यान्वयन गर्ने योजना साझा यातायात सञ्चालक समितिले बनाएको छ । योजनाअनुसार, साझाले पहिलो चरणमाा १ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । दोस्रो चरणमा अर्को एक अर्ब रुपैयाँ लगानी गरेर हालको ९ मिटरको बसबाट १२ मिटरमा प्रवेश गर्ने रणनीति बनाएको पनि साझा यातायातका अध्यक्ष दिक्षितले बताए ।

ईभीमा जानु नै नयाँ प्रविधि भएकोले यसमा हुने लगानीलाई निकै बुझेर गर्नु पर्ने उनी बताउँछन् ।

साझाले निकट भविष्यमै २ सय वटा विद्युतीय सार्वजनिक सवारीमार्फत सेवा दिने योजना पनि अगाडि सारेको छ । यसले शहरी यातायातका साथै काठमाडौंबाट बाहिर जाने यात्रुका लागि पनि विभिन्न गन्तव्यको लागि सेवा विस्तार गर्दै जाने जानकारी दीक्षितले दिए ।

यसका लागि साझाले तत्कालै ६० वटा बस थप गर्ने योजना बनाएको छ । त्यसका लागि १ अर्ब रुपैयाँ खर्च गर्ने र त्यसबाट जतिवटा बस आउँछ त्यति नै सञ्चालन गर्ने पनि साझा यातायातका अध्यक्ष दीक्षितले बताए ।

साझासँग हाल संचालनमा रहेका १ सय ११ वटा बसमध्ये इभीको ४० र डिजेल बस ७१ वटा छ । अब इभीको हिस्सा बढाउँदै जाने भन्ने नीति साझाको छ । ठूला इभी बस डिजेल बस भन्दा ३/४ गुणासम्म महंगो हुने भएकोले लगानी गर्दा धेरै सुझबुझका साथ गर्नुपर्ने र लाभ पाउने अवस्था पनि हुनुपर्ने दीक्षितको भनाइ छ ।


क्लिकमान्डु