क्यानका महानिर्देशक अधिकारीको विषयमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच यस्तो छलफल



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ११ औं तहका कर्मचारी हुन् । आफूभन्दा बरिष्ठ ६ जनालाई उछिन्दै अधिकारी २०७८ माघ १७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक भएका थिए ।

सरकारले महानिर्देशकबाट हटाएमा वा २०८२ माघ १६ गते ४ वर्षे कार्यकाल पूरा भएमा अधिकारी आफ्नै पद ११ औं तहमा फिर्ता हुनेछन् । अधिकारी महानिर्देशक बन्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले थिए भने प्रधानमन्त्री शेर बहादुर देउवा थिए ।

आफैं प्रधानमन्त्री हुँदा नियुक्त भएका अधिकारीलाई पदबाट हटाउनु पर्ने विषयमा नेपाली कांग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । यसै विषयमा प्रधानमन्त्री ओलीसँगको शनिबार भएको भेटमा देउवासहित नेपाली कांग्रेसका १६ जना नेता सहभागी थिए ।

प्राधिकारणका महानिर्देशक अधिकारीले साउन ९ गते काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको विमान दुर्घटना भएपछि प्रतिनिधिसभाका सदस्यलाई लक्षित गर्दै समाजिक संजालमा अमर्यादित टिप्पणी गरेपछि नेपाली कांग्रेसको नेतृत्व अधिकारीसँग क्रुद्द छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेपाली कांग्रेसका नेता बद्री पाण्डे छन् । प्रधानमन्त्रीको रुची नभई अधिकारीको अशिष्ट व्यवहारमा लगाम लगाउन नसकिने बुझेका कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँगको भेटमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय गरी दुई संस्था बनाएर भए पनि अधिकारीलाई बिदाई दिनुपर्ने धारणा राखेका हुन् ।

गत साउन १० गते संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा नेपालको हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सांसदहरुले र्‍याखर्‍याख्ती पारेका थिए ।

अधिकारीले क्यानको नेतृत्व सम्हालेपछि नेपाली आकाशमा ७ वटा ठूला दुर्घटना भएको भन्दै सांसदहरुले क्यान नेतृत्वको चर्को आलोना गरेका थिए । हुन पनि अधिकारी नेतृत्वमा आएपछि नेपाली आकाशमा ज्यान जानेगरी २ र सामान्य २ गरी ४ वटा हेलिकप्टर र ३ वटा ठूला विमान दुर्घटना भइसकेका छन् ।

२०८० बैशाख २२ गते भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा १ जना र २०८० असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । यस्तै, २०७९ जेठ १५ गते ताराएयरको दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

२०८० माघ १५ गते यति यएरको दुर्घटनामा ७२ जना तथा २०८१ साउन ९ गते काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् । अधिकारी महानिर्देशक भएपछि भएका विमान दुर्घटनामा ११९ जनाले ज्यान गुमाइसकेका छन् ।

समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद उदयसमशेर जबरासहितका सांसदले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाएका थिए । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि नेपाली आकाशमा ७ वटा ठूला हवाई दुर्घटना परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो । क्यान नेतृत्वलाई सरकारले निलम्बन गर्नुपर्ने वा अधिकारीले राजीनामा दिनु पर्ने सांसदहरुको भनाइ थियो ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरु जबरा, अमरेश कुमार सिंह, राजेन्द्र बजगाइँ लगायतले क्यान नेतृत्वको आलोचना गर्दै राजीनामा माग गरेका थिए । राजनीतिक शक्तिको प्रयोग गर्दै क्यान नेतृत्व हात पारेका महानिर्देशक अधिकारीले आफ्नो राजीनामा मागिएको प्रतिशोध सामाजिक सञ्जालमार्फत पोखे ।

आफ्नो राजीनामा माग गर्ने सांसदलाई गधा र आफूलाई सिंहसँग तुलना गरेका अधिकारीले त्यस्त चुनौतीको वास्ता गर्नुको अर्थ नरेहको भन्दै उनीहरुले सांसदमा जितेको भन्दा नि लाज लाग्ने उल्लेख गरे । लगातार आफ्नो राजीनामा माग भएपछि ‘क्रुद्द’ अधिकारीले सामाजिक सञ्जाल एक्समा लेखे, ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन, जितेभन्दा नि लाज…।’

पर्यटन व्यवसायीसमेत रहेका गोरखाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले प्राधिकरणका महानिर्देशकलाई ‘भ्रष्ट स्याल’ को संज्ञा दिँदै आफूलाई सिंह सम्झिएर सार्वभौम सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीसँग के भयो छलफल ?

प्रधानमन्त्री ओलीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियमन गर्ने गरी दुइवटा संस्था बनाउनु पर्ने विषयमा छलफल भएको प्रतिनिधी सभा तथा संसदीय समितिमा हवाई दुर्घटनाका विषयमा प्रश्न उठाउँदै आएका नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य रहेका उदयसमसेर राणाले जानकारी दिए । प्रधानमन्त्रीलाई हवाई दुर्घटना र सडक दुर्घटनालाई एउटै रुपमा हेर्न नमिल्ने गरी आफूले धारणा राखेको राणा बताउँछन् ।

‘कुनै पनि दुर्घटनामा ज्यान जाने अवस्था आउनु निकै दु:खद हो ।सडक दुर्घटनामा हुँदा सडक विभागको महानिर्देशकले जिम्मा लिँदैने भने हवाई दुर्घटना हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण वा पर्यटन मन्त्रालयले किन जिम्मा लिने भन्न मिल्दैन,’ राणाले भने, ‘सडक विभागले बाटो बनाउँछ । तर, गाडीको मर्मत भएको छ वा छैन देखी सवारी चालकलाई लाइसेन्स दिने, गाडी दर्ता गर्ने लगायतका काम गर्दैन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा सञ्चालनको अनुमति दिने देखी, विमानस्थल बनाउने, पाइलटलाई अनुमति पत्र दिने, विमान मर्मत भए नभएको एकिन गर्ने सबै काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । त्यसैले यसलाई सडक विभागसँग तुलना गर्नु हुँदैन ।’

प्रधानमन्त्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक गरी २ वटा निकाय बनाउने प्रतिबद्धता जनाएको राणाको भनाइ छ ।

प्रधानमन्त्रीसँगको बैठकमा सहभागी नेपाली कांग्रेसका एक सांसदले कांग्रेस सभापति देउवाले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकले प्रतिनिधी सभा सदस्यलाई लक्षित गर्द अमर्यादित टिप्पणी गरेको भन्दै तत्काल पदबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

हतारमा पदबाट बर्खास्त गर्ने निर्णय गर्दा अदालतबाट पुनर्वहाली भएर समस्या आउने भन्दै प्रधानमन्त्री ओलीले कानुनी दायरा भित्रबाट निर्णय गर्नु पर्ने धारणा राखेका थिए ।

‘तपाईंहरुले उठाउनु भएको प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने विषयलाई शीघ्र अगाडि बढाउन मैले निर्देशन दिइसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘ यो कानुन फास्ट ट्याकबाट बन्नु पर्छ भन्नेमा म तपाईंहरुसँग सहमत छु । तर, तत्काल पदबाट निलम्बन वा बर्खास्त गर्ने विषयमा कानुनी तयारी गर्नु पर्छ ।’

स्रोतका अनुसार सरकारले अधिकारीलाई पदबाट हटाउन प्रधिकारणलाई विभाजन गर्ने ऐनमा हाल महानिर्देशक रहेका व्यक्ति विभाजनपछि बन्ने संस्थाको नेतृत्वमा नरहने गरी मस्यौदा गर्ने तयारी गरेको छ ।

विभाजनपछि नयाँ बन्ने सेवा प्रदायक र नियामक निकायमा सरकारले नयाँ प्रमुख तोक्ने व्यवस्था गर्दै ऐन तयार गर्दा अधिकारीले मुद्दा दायर गर्ने सम्भावना नहुने भन्दै स्ष्टीकरण सोधेर अधिकारीलाई पदबाट हटाउनु भन्दा प्राधिकरणलाई विभाजन गर्दै सेवा प्रदायक र नियामक छुटाउने विकल्पमा सरकारले तयारी अगाडि बढाएको छ ।

‘प्रदीप अधिकारीको व्यवहारलाई लिएर प्रधानमन्त्री पनि सन्तुष्ट नभएको हाम्रो बुझाइ छ,’ भेटमा सहभागी एक सांसदले भने, ‘हाम्रो सभापतिज्यूले समेत सांसदलाई नगन्ने कर्मचारीले आफू मातहतका कर्मचारीलाई कसरी सही तरिकाले चलाउन सक्छ भन्ने विषयमा प्रश्न उठाएका प्राधिकरणमा प्रदीप अधिकारीको कार्यकाल लामो छैन् भन्ने मेरो बुझाइ हो ।’


क्लिकमान्डु