
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ ।
पछिल्लो दुई वर्षदेखि ३० लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् ।
करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’ मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका छन् ।
विष्ट त्यसबेलाको जुक्तिबाट व्यवसायी स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै लगेका छन् ।
‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा तीन सयदेखि सात सय रुपैयाँसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ’, विष्टले भने ।
उनी आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा लागेका छन् । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।
अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उनले स्ट्रेबरीखेतीका लागि करिब ३० लाख रुपैयाँ लगानी गरेका छन् ।
गत वर्ष सबै खर्च कटाएर ३० लाख रुपैयाँ बचत भएको थियो । उनले यो वर्ष यहि हाराहारीमा आम्दानी लिने अपेक्षामा छन् । विष्टले हाल स्ट्रेबरी मात्र लगाएका छैनन, बरु मौसमअनुसार अन्य तरकारी तथा कुखुरापालनसमेत लगाएका छन् ।
हाल उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उनले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएका छन् ।
‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन’, गुनासो गर्दै उनले भने,’अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु ।’
साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरेको उनले बताए ।
उनको अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।
उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए । उनले गत वर्ष ४० हजार बिरूवा उत्पादन गरी केही बिक्री गरेका थिए ।
दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।
प्रतिक्रिया