राजीनामा मागेपछि क्यानका डीजीले सांसदलाई भने ‘गधा’, झोलामा अवैध वस्तु राखेर फसाउने खतरा !



काठमाडौं । साउन ९ गते काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए ।

विमान दुर्घटनाको भोलिपल्ट संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा नेपालको हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सांसदहरुले र्‍याखर्‍याख्ती पारे

नेपाली आकाशमा अधिकारीले क्यानको नेतृत्व सम्हालेपछि ७ वटा ठूला दुर्घटना भएको भन्दै सांसदहरुले क्यान नेतृत्वको चर्को आलोना गरेका थिए ।

समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद उदयसमशेर जबरासहितका सांसदले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि नेपाली आकाशमा ७ वटा ठूला हवाई दुर्घटना परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो । क्यान नेतृत्वलाई सरकारले निलम्बन गर्नुपर्ने वा अधिकारीले राजीनामा दिनु पर्ने सांसदहरुको भनाइ थियो ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरु जबरा, अमरेश कुमार सिंह, राजेन्द्र बजगाइँ लगायतले क्यान नेतृत्वको आलोचना गर्दै राजीनामा माग गरेका थिए ।

राजनीतिक शक्तिको प्रयोग गर्दै क्यान नेतृत्व हात पारेका महानिर्देशक अधिकारीले आफ्नो राजीनामा मागिएको रिस सामाजिक सञ्जालमार्फत पोखे ।

आफ्नो राजीनामा माग गर्ने सांसदलाई गधा र आफूलाई सिंहसँग तुलना गरेका अधिकारीले त्यस्त चुनौतीको वास्ता गर्नुको अर्थ नरेहको भन्दै उनीहरुले सांसदमा जितेको भन्दा नि लाज लाग्ने उल्लेख गरे ।

लगातार आफ्नो राजीनामा माग भएपछि ‘क्रुद्ध’ अधिकारीले सामाजिक सञ्जाल एक्समा लेखे, ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन, जितेभन्दा नि लाज…।’

पर्यटन व्यवसायीसमेत रहेका गोरखाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले प्राधिकरणका महानिर्देशकलाई ‘भ्रष्ट स्याल’ को संज्ञा दिँदै आफूलाई सिंह सम्झिएर सार्वभौम सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेको टिप्पणी गरे ।

‘भ्रष्ट स्यालले सिंह सम्झेर सोभरेन सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेछ,’ बजगाइँले भने, ‘बाघले एक्लै शिकार गर्ने गर्छ भन्ने कुरा नागरिक उड्डययन कार्यकारी निर्देशक प्रदीप अधिकारी थाह छैन होला । माननीय उदय समशेर जबरा, राजेन्द्र लिङ्देन र म एक्लै एक्लै शिकार गर्न निष्कियौं भने दुनियाको कुनै शक्तिले बचाउने छैन।’

सांसद बजगाइँले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सांसदहरुलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे ।
सामाजिक सञ्जाल एक्समा सांसद उदयसमशेर जवरालाई मेन्सन गर्दै बजगाइले विमानस्थलबाट विदेश आवतजावत गर्नेक्रममा ख्याल गर्न आग्रह गरे ।

अधिकारीले दुश्मनी साँधेका मानिसको ‘चेक इन ब्यागेज’मा विमानस्थलबाट विदेश आवतजावत गर्ने क्रममा लागूऔषध तथा अवैध खरखजना राखिदिएर फसाउने खतरा भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको कब्जामा भएको उनको भनाइ छ ।

सांसद बजगाइँले प्रदीप अधिकारीको नाम किटान नगरे पनि ‘प्राधिकरणका कार्यकारी’भनी सम्बोधन गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका सांसद बजगाइँले विदेश जानुअघि सुरक्षा निकायलाई पत्राचार गर्न पनि आग्रह गरेका छन् ।

‘नागरिक उड्डययन कार्यकारीले दुश्मनी साँधेका मानिसले विमानस्थलबाट विदेश आवतजावत गर्नु पूर्व उनीहरूको चेक इन ब्यागेजमा अवैध खरखजना लागूऔषध विदेशी मुद्रा राखिदिने फसाउने टड्कारो खतरा भएकाले त्यसपूर्व सुरक्षा निकायलाई पत्राचार गर्नुहोला। विमानस्थल तस्करको कब्जामा छ’ बजगाइँले भनेका छन् ।

सांसद राणाले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संसदीय समितिमा प्रश्न गरेपछि त्यसबारे संसद्‍मा प्रश्न उठाएका थिए । राणाले अधिकारीले तत्काल राजीनामा दिनुपर्ने अथवा अनुसन्धान अवधिभर सरकारले निलम्बन गर्नुपर्ने माग गरेका थिए ।

सांसद राणाले संसद्‍मा बोल्दै प्राधिकरण टुक्र्याएर नियामक र सेवा प्रदायक बनाउनु पर्ने भन्दै यस्ता दुर्घटनामा प्राधिकरणले जिम्मा लिनुपर्ने बताएका थिए ।

अधिकारीले भने प्रारम्भिक चरणमा समितिको बैठकमा आफूले दुर्घटनाको जिम्मा लिने जवाफ दिएका थिए । तर अनुसन्धान भइरहेको भन्दै यसबारे ठोस कुरा बोल्न नमिल्ने उनले बताएका थिए । तत्कालीन कांग्रेस-माओवादी गठबन्धन सरकार रहेको बेला अधिकारी ११औं तहको कर्मचारीबाट १२औं तहमा नपुगी क्यानको डीजी बनेका थिए । विगतमा १२औं तहको कर्मचारी क्यान महानिर्देशक बन्ने अभ्यास थियो ।

प्राधिकरणको महानिर्देशकको सेवा अवधि ४ वर्षको हुने कानुनी व्यवस्था छ । उनले साढे २ वर्षको कार्यकाल बिताइसकेका छन्। उनको कार्यकालमा देशमा ठूला ७ वटा हवाई दुर्घटना भएको भन्दै सांसदहरुले उनलाई हटाउन माग गरिरहेका छन् ।

पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै उनीमाथि छानबिन भइरहेको छ भने संसदीय समितिले दुई विमानस्थल निर्माणका विषयमा छानबिनसमेत गरिरहेका छन् । केही समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसँग २० घण्टा बयान लिएको थियो ।


क्लिकमान्डु