नेपाल-भारतबीच क्यूआरमार्फत भुक्तानी सहज बन्यो, नेसनल पेमेन्ट स्विच नहुँदा के हुन्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रसबोर्डर भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न नियामकीय प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन गदै क्यूआरमार्फत् पैसा पठाउन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच पूर्णरुपमा सञ्चालनमा नआएसम्म सटही सुविधा, रेमिट्यान्स, विदेशमा गरिने भुक्तानीलगायत काम रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत् यी काम गर्न सकिने व्यवस्था गरेको हो । आरपीएस नेसनल पेमेन्ट स्विचअन्तर्गतको स्विच हो ।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

यसैगरी भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुनेछ ।

रेमिट्यान्स रकम पनि ई-बैंकिङ, मोबाइल बैंकिङ, अन्तरबैंक भुक्तानी र क्यूआर कोडमार्फत् भित्र्याउन सकिने भएको छ । रेमिट्यान्स रकम विदेशी विनियमको कारोबार गर्न इजाजत नलिएका वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले पनि प्राप्त गर्न सक्ने भएका छन् । यस्तो रकम नेपाली सेटलमेन्ट बैंकमार्फत् नेपाली रुपैयाँमा मात्र प्राप्त गर्न सक्नेछन् ।

यता नेपाली वस्तु तथा सेवा विक्री गरेवापत क्यूआरलगायत विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सकिने भएको छ । वस्तु तथा सामान बिक्री गरेको रकम बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले परिवत्र्य विदेशी मुद्राको सट्टा नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्नेछन् ।

क्यूआर कोडबाट वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकमा भारतीय मुद्रामा रकम प्राप्त भएको छ भने भारतीय मुद्रामा नभएर नेपाली मुद्रामा प्राप्त हुनेछ ।


क्लिकमान्डु