क्याथे विमानमा यात्रुलाई बिरामी पार्ने खाना हङकङमा तयार : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग


काठमाडौं । हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा यात्रा गरिरहेका यात्रुहरु विषाक्त खाना (फुड प्वाइजन) सेवन गरेका कारण विरामी भएको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहिबार यो बिषयलाई पुष्टि गरेको छ । यात्रुले सेवन गरेका उक्त विषाक्त खाना भने नेपालमा तयार नभएको विभागले प्रस्ट पारेको छ ।

विभागले विहिबार जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘क्याथे विमानमा खुवाइएको खाना उक्त विमान कम्पनीको हङकङस्थित क्याथे प्यासेफिक क्याटरिङ सर्भिसले तयार गरेको थियो ।’

यो क्याटरिङ हङकङको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै छ । विषाक्त खाना सेवनबाट क्याथे विमानको ४३ जना यात्रु विरामी भएको घटनाको बिषयमा छानविन गर्न विभागका महानिर्देशक संजिवकुमार कर्णले वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कोडेक्स तथा इन्फोसान सचिबालयका शाखा प्रमुख सुमन धितालको संयोकत्वमा पुष २८ गते ४ सदस्यीय अध्ययन कार्यदल गठन गरेका थिए ।

यो कार्यदलले घटनाको विस्तृत रुपमा अध्ययन गरी विहिबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । धितालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पुष २४ गते हङकङ उडान भएको क्याथे विमानका १० जना र पुस २५ गते उडान गरेको सोहि विमानका १८ जना बिरामीमा फुड प्वाइजनको समस्या देखिएको थियो ।

यो घटनापछि खाद्य स्वच्छता नियामक निकायहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्फोसान) को इमरजेन्सी कन्ट्याक्ट पोइन्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णले अध्ययन गर्न कार्यदल गठन गरेका थिए ।

कार्यदलले हङकङको स्वास्थ्य विभाग र सेन्टर फर हेल्थ प्रोटेक्सनको सहकार्यमा यो अध्ययन गरेको थियो ।

इन्फोसानले २८ जना भनेपछि हङकङबाट प्राप्त जानकारीअनुसार फुड प्वाइजनबाट ४३ यात्रु विरामी परेका थिए । विभागले नेपालबाट उडान हुने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडानको क्रममा गुणस्तरयुक्त खाना यात्रुलाई खुवाउन आग्रह समेत गरेको छ ।