वर्षमानले ल्याएको बजेट ९१% मात्र खर्च हुने विष्णु पौडेलको अनुमान, बजेट १ खर्ब ६७ अर्बले घट्यो

1.1k
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको बताएका छन् ।

तरलता र न्युन ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको उनले बताए ।
बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तीले सिर्जीत थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए ।

उनले चालु आर्थिक वर्षको पुससम्म राजस्व परिचालन १२.७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान समेत उनले गरे ।

बिहीबार प्रतिनिधिसभामा बजेटको मध्यावधिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरेका हुन्।

निवर्तमान अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
चालु खर्च तर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको उनले बताए ।

चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधितत अनुमान ९०.२४ प्रतिशत हो । पूँजीगत तर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको उनले बताए । उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको उनले बताए ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । जुन विनियोजनाको ९९.०९ प्रतिशत हो ।