अर्बौ संकलन भएको कोरोना नियन्त्रण कोषको खर्च भने शुन्य



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसर नियन्त्रण तथा उपचारका लागि सरकारले अर्बौ रुपैयाँ कोष नै स्थापना गरी सहयोग संकलन गरिसकेको छ ।

सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै चैत १० गते कोष स्थापना गरेर इच्छुक व्यक्तिहरूलाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।

विश्वभर नै महामारीको रुपमा फैलिएको रोग नियन्त्रण तथा उपचारका लागी सरकारी, निजी क्षेत्रका संघ संस्था तथा व्यक्तिगत तबरबाट कोषमा सहयोग गरिरहेको छन् ।

सरकारले स्थापना गरेको हालसम्म कोषमा २ अर्ब १८ करोड ९२ रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेका प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

तर उक्त रकम हालसम्म खर्च गर्ने प्रक्रिया सुरु भएको छैन ।

कोष सञ्चालनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकमा अर्थसचिव, स्वास्थ्य सचिव, गृह सचिव, संघीय मामिला सचिव, महालेखा नियन्त्रक सदस्य र प्रधानमन्त्री कार्यालयका सचिव र सहसचिव सहितको कोष सञ्चालक समिति गठन भइसकको छ ।

‘प्रदेश तथा स्थानिय सरकारसँग कोरोना भाइसर नियन्त्रण र उपचारका लागि मागहरु संकलन भइरहेको छ,’ कोषका सहसचिव पौडेलले क्लिकमाण्डूसँग भने ‘खर्च निकासको लागि प्रत्येक आइतबार समितिका बैठक बस्ने निर्णय भएको छ ।’

गत आइतबार कोषको खर्च निकासा सम्बन्धी पहिलो बैठक भएको उनले जानकारी दिए ।

‘गत साताको बैठकले प्रदेश तथा स्थानिय सरकारहरुसँग खर्चको माग संकलन गर्ने निर्णय गरको थियो,’ उनले भने ‘यो साता भने केही कारणवस कोषको बैठक बसेन तर खर्चको लागि भने माग संकलन नै हुनुपर्छ ।’

कोषको कार्याविधि, योजना र माग अनुसार कोरोना भाइरसको उपचारको लागि आएका निवेदनहरुको अध्ययन गरेर रकम निकासा गरिने उनको भनाइ छ ।

हाल कोषको आम्दानी, निकासा र खर्चको विवरण राख्ने जिम्मा महालेखा नियन्त्रक कार्यालयलाई दिइएको छ । कोरोना कोषमा अर्बौं रुपैयाँ जम्मा भएको लेखा विवरण राखेको भएपनि हालसम्म कोषबाट खर्च निकासाको विवरण भने नभएको महालेखा नियन्त्रकको कार्यलयका उपसचिव भेष भुर्तेलले बताए ।

‘हालसम्म कोषमा रकम जम्मा हुने काम मात्र भइरहेको छ,’ उनले क्किमाण्डूसँग भने ‘कोरोना कोषबाट खर्च भएको विवरण सञ्चालक समितिबाट महालेखाले आजको दिनसम्म प्राप्त गरेको छैन ।’ सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण र उपचारको लागि जतिपनि खर्च गरिरहेको छ त्यो सबै बजेट प्रणालीबाटै खर्च भइरहेको छ ।’

स्थानीयतहले प्रदेशले पठाएको बजेट प्रणालीबाट नै राहत वितरण गरिरहेका उनले जानकारी दिए ।

‘कोरोना भाइरस रोकथाम र उपचार तथा राहत वितरण गर्न हालसम्म बजेट प्रणालीबाट नै पुगिरहेको छ,’ उनी भन्छन् ‘महालेखाले हालसम्म स्वास्थ्य मन्त्रालयले गर्ने बजेट प्रणालीको खर्चलाई नै अख्तियारी गरिरहेको छ ।’

कोरोना कोषको सञ्चालन समितिले खर्च निकासाको लागि केही निर्णय गरेपछि कोषमा जम्मा भएको रकमको अख्तियारी गरेर महालेखाले खर्च प्रदेश तथा स्थानियतहमा पठाउने उनले बताए ।

कोरोना रोक तथा उपचारको लागि कुनै पनि निकायले कोषको रकम खर्च गर्न अर्थ मन्त्रालयलाई चिठी पठाउनु पर्ने अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए ।

‘अर्थले निकासाको आदेश दिएपछि भुक्तानीका लागि महालेखाले निकासा गर्छ,’ उनले क्लिमाण्डूसँग भने ‘कोष सञ्चालन समिति मार्फत मागहरु संकलन भइरहेको छ ।’

कोरोना भाइसर नियन्त्रण तथा उपचार र राहतको लागि कोषबाहेक पनि सरकारले वित्तीय व्यवस्थापनमा गत साता ४ अर्ब रुपैयाँ निकासा गरेको उनले जानकारी दिए । सो रकम रक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका मन्त्रालय मार्फत खर्च हुने खत्रीले बताए ।


पुष्प दुलाल