
एजेन्सी । पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली फुटबलको पावरहाउस जापानबीच सोमबार ह्युस्टन स्टेडियममा सन् २०२६ को विश्वकपको ‘राउन्ड-अफ-३२’ अन्तर्गत एक ऐतिहासिक भिडन्त हुँदैछ।
४८ टोली सहभागी पहिलो विश्वकपको यो नयाँ नकआउट चरणमा दुवै टोलीका लागि यो ‘गर या मर’ को स्थिति हो ।
फिफाको तालिका अनुसार यो प्रतियोगिताको ७६औँ खेल हो, जुन नेपाली समय अनुसार सोमबार राति पौने ११ बजे बजे सुरु हुनेछ ।
मोरियासुको दृढता र जापानी फुटबलको नयाँ पहिचान
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जापानी म्यानेजर हाजिमे मोरियासुले निकै सम्मानित तर आत्मविश्वासिलो शैलीमा आफ्ना भनाइहरू राखे । ‘नकआउट चरणमा पुग्नु विगतकै सफलता जस्तो लागे पनि हाम्रा खेलाडीहरूले अब मात्र वास्तविक विश्वकप सुरु हुँदैछ भनिरहेका छन्,’ आठ वर्षदेखि जापानको नेतृत्व गरिरहेका मोरियासुले भने।
उनले जापानको फुटबल विकासमा ब्राजिलको ठूलो गुन रहेको स्वीकार गरे । मोरियासु आफैँले फाल्काओको नेतृत्वमा खेलेका थिए भने सन् २००६ को विश्वकपमा १९८२ को चर्चित ब्राजिलियन मिडफिल्डका सदस्य जिकोले जापानको प्रशिक्षण सम्हालेका थिए ।
मोरियासुले जापानी फुटबलको मौलिक पहिचान र ‘अदम्य भावना’ लाई कायम राख्दै इतिहास बदल्ने प्रण गरे । यद्यपि, चोटका कारण ताकेफुसा कुबो टोलीबाट बाहिरिनु जापानका लागि ठूलो धक्का हो।
नागातोमोको अनुभव: ‘ब्राजिललाई अत्यधिक सम्मान नदेऊ’
जापानका ३९ वर्षीय दिग्गज डिफेन्डर युटो नागातोमोले आफ्नो पाँचौँ विश्वकपको अनुभवको आधारमा टोलीलाई मानसिक रूपमा तयार रहन आग्रह गरेका छन् । न्यासभिलस्थित बेस क्याम्पबाट बिदा हुँदै नागातोमोले भने, ‘पछिल्लो २० वर्षमा ब्राजिलको तुलनामा जापानले आफ्नो स्तर बढी सुधारेको छ। हामी उनीहरू र हामीबीचको दूरी कम गर्दैछौँ ।’
सन् २०१०, २०१८ र २०२२ का नकआउट चरणका हारहरू (विशेष गरी बेल्जियमविरुद्ध २-० को अग्रता गुमाएको क्षण) सम्झँदै नागातोमोले खेलमा रणनीतिक चातुर्य र शान्तताको आवश्यकतामा जोड दिए । उनले आफ्ना सहयात्रीहरूलाई ब्राजिलियन स्टार नेयमारबाट सचेत रहन तर विपक्षीलाई ‘अत्यधिक सम्मान’ दिएर नडराउन आग्रह गरे । ‘हामी इतिहासमा सम्झिन चाहन्छौँ, हामी केवल एउटा ‘राम्रो टोली’ मात्र बनेर बाहिरिन चाहँदैनौँ,’ उनले भने ।
एन्सेलोटीको ब्राजिल र छैटौँ उपाधिको दबाब
ब्राजिलको नेतृत्व इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले गरिरहेका छन्, जो पाँचवटै शीर्ष युरोपेली लिग र पाँच पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक हुन् ।
ब्राजिलको पहिलो विदेशी प्रशिक्षकका रूपमा उनले जापानलाई ‘विश्वकै उत्कृष्ट मध्येको एक’ भनेर प्रशंसा गरेका छन् । अक्टोबर २०२५ मा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानसँग ३-२ ले हारेको प्रसंग निकाल्दै एन्सेलोटीले यो खेललाई ‘फाइनल’ सरह तयारी गरेको बताए । उनले जापानी गोलकिपर जायोन सुजुकीलाई विशेष निगरानीमा राख्ने बताए, जो उनको पुरानो टोली पार्माबाट खेल्छन् ।
भिनिसियसले खेलमा ब्राजिलले सुरुदेखि नै दबाब बनाउने र जित हासिल गर्ने भविष्यवाणी समेत गरेका छन् । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको ब्राजिलको त्यो लयबद्ध र कलात्मक ‘साम्बा जादु’ मैदानमा उतार्दै जापानी रक्षापंक्तिलाई ध्वस्त पार्ने रणनीतिमा भिनिसियस र उनको टोली देखिन्छ ।
तथ्यांक र रणनीतिक अवस्था
टोलीको प्रदर्शन: ब्राजिल समूह ‘सी’ को विजेता (७ अंक) बन्दै यहाँसम्म आइपुगेको हो, जहाँ उसले मोरक्कोसँग बराबरी र हाइटी तथा स्कटल्याण्डमाथि जित निकालेको थियो । भिनिसियस जुनियर (४ गोल) र माथियस कुन्हा (३ गोल) ब्राजिलका मुख्य हतियार हुन् ।
जापानको यात्रा: जापान समूह ‘एफ’ को उपविजेता (५ अंक) बन्दै आएको हो । उसले नेदरल्याण्ड्स र स्विडेनलाई बराबरीमा रोक्दै ट्युनिसियामाथि सानदार जित निकालेको थियो । आयासे उएडा र दाइची कामादाले २-२ गोल गरेका छन् ।
ब्राजिलका राफिन्हा (ह्यामस्ट्रिङ) र जापानका कुबो बाहिर छन् । तर नेयमार मैदानमा बढी समय बिताउन तयार छन् । ब्राजिलले चार दिन र जापानले तीन दिनको विश्राम पाएका छन् ।
यो महत्वपूर्ण खेलको कमाण्ड इटालियन रेफ्री मौरिजियो मारियानीले सम्हाल्नेछन् ।
हेड-टु-हेड र सम्भावना
इतिहासमा ब्राजिल निकै बलियो छ । ब्राजिलले अहिलेसम्म जापानमाथि ११ जित २ बराबरी तथा १ हार व्यहोरेको छ ।
जापानको एकमात्र जित सन् २०२५ को अक्टोबरमा भएको पछिल्लो भिडन्तमा निस्किएको थियो ।
अप्टाको सुपरकम्प्युटरका अनुसार निर्धारित समयमा ब्राजिलको जित्ने सम्भावना ५८.३% छ भने जापानको १८.१% छ । २३.६% सम्भावना खेल अतिरिक्त समय वा पेनाल्टीमा जाने देखिन्छ।
सम्भावित सुरुवाती-११:
ब्राजिल (४-३-३): एलिसन; ड्यानिलो, मार्किन्होस, गेब्रियल, सान्तोस; गुइमारेस, कासेमिरो, पाक्वेटा; रायन, कुन्हा, भिनिसियस जुनियर।
जापान (३-४-२-१): सुजुकी; तोमियासु, तानिगुची, इतो; डोआन, सानो, तानाका, नाकामुरा; इतो, कामादा; उएडा ।
६८,३११ क्षमताको ह्युस्टन स्टेडियममा हुने यो खेलको विजेताले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। कप्तान को इताकुराले भनेझैँ, जापान यसपटक ‘इतिहास परिवर्तन’ गर्दै विश्वकपको दाबेदारका रूपमा उभिन चाहन्छ।






प्रतिक्रिया