देखावटी प्रेमः सियाले ब्याइफ्रेन्डसँग मिलेर कसरी गरिन् हुनेवाला श्रीमान् केतनको हत्या ?


एजेन्सी । सुरूमा त लोहागढ किल्लाको भीरबाट खसेर अर्बपति व्यवसायीका छोरा केतन अग्रवालको निधन भएको घटनालाई दुःखद दुर्घटना मानिएको थियो । तर, जब केतनको बहिनीलाई २० वर्षिया सियाको जवाफप्रति शंका बढ्दै गयो, जब प्रहरीले केतन जिवितै रहेको भन्दा सियाको हाउभाउ बदलिएको थियो तब यो घटनालाई दुर्घटना नभएर योजनाबद्ध हत्या हुन सक्ने आशंकासहित प्रहरी अुनसन्धान बढ्यो । सिया गोयल उनै थिइन्, जोसँग केतनको विवाह नोभेम्बरमा हुने तय भएको थियो ।

सीसीटीभीमा सिया र केतन पुगेका लोहागढ किल्लामा एक व्यक्ति पुरै जिउ ढाक्ने हुडी लगाएर पुगेको देखिए । अनुसन्धान अघि बढ्दै जाँदा सिया र ती व्यक्तिबीच पछिल्लो ६ महिनामा २ हजार ४ पटक अर्थात् २३८ घन्टा टेलिफोन कुराकानी भएको पाइयो । ती व्यक्ति कोही नभएर चेतन चौधरी थिए, जोसँग सिया एक वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । यतिसम्म कि प्रमाण लुकाउन चेतनले मोबाइल फोन अफिसमै छाडेर लोहागढ पुगेका गएका थिए ।

त्यसो भए विवाह गर्न इन्कार नगरेर सियाले चेतनसँग मिलेर किन केतनको हत्या गरिन् ? सियाले यसअघि पनि कसरी पटकपटक केतनको हत्या गर्ने प्रयास गरेकी थिइन् ? र केतनले अन्धो प्रेममा परेर कसरी सियाको प्रयासलाई सकारात्मक नजरले हेर्ने गरेका थिए ? केतनको पासपोर्ट लुकाएर बाली टुर कसरी क्यासिल गरिदिएकी थिइन् ? २० वर्षीय सियालाई कसरी आपराधिक मानसिकताको मान्न सकिन्छ ? र, कुन यस्तो क्लु मिल्यो जसले अनुसन्धान सियातर्फ मोडियो ? र, यसमा चेतन पनि संलग्न छन् भन्ने पुष्टि प्रहरीले गरी गर्‍यो ? आऔं, सियाले गरेको क्रुर हत्यालाई एकएक गरेर पहिल्याऔं ।

२० वर्षकी सिया गोयलको विवाह २६ वर्षीय केतन अग्रवालसँग आगामी नोभम्बरमा हुने तय भएको थियो । उनीहरू दुवै सम्पन्न परिवारका थिए । केतन र सियाका बुबाहरू ३५ वर्षदेखि साथी थिए । राजस्थानको उदयपुरमा हुने भनिएको विवाहका लागि १७ करोड रुपैयाँमा एउटा शाही दरबार बुक गरिएको थियो र पाहुनाहरूका लागि दुई प्राइभेट प्लेनको पनि व्यवस्था गरिएको थियो ।

लोनावालाको ऐतिहासिक लोहागढ किलाको भीरबाट खोल्सामा खसेर भएको मृत्यु एक सुनियोजित हत्या भएको विषय भारतमा चर्चित छ ।

केतन अग्रवाल पुणेको गहुँजेमा बस्थे र आफ्नो पारिवारिक रियल एस्टेट व्यवसाय सक्सेस ग्रुपमा निर्देशक र चिफ मार्केटिङ अफिसरको पदमा कार्यरत थिए । हालै विदेशबाट पोस्टग्र्याजुएट पढाइ पूरा गरेका थिए र भारत फर्केर आफ्नो बुबाको व्यवसायमा सक्रिय रूपमा जोडिएका थिए ।

गत फेब्रुअरीमा सिया र केतनको इन्गेजमेन्ट भयो । सिया र केतनका बुबा ३५ वर्षदेखि साथी थिए । उनीहरूबीच पारिवारिक निकटता थियो । सबै खुसी थिइ । इन्गेजमेन्ट पछि पनि सबै ठीकठाक चलिरहेको प्रमाण सियाले सामाजिक सञ्जालमा गरेको पोस्टले दिन्थ्यो । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सिया आफू र केतनबीचका रोमान्टिक पलहरू पोस्ट गर्थिन् । केतनले पर्पोज गरेको, सँगै नाचेको, गाडीमा घुम्न गएको सबै उनले सेयर गरेकी छन् ।

सिया र केतन प्रायः सँगै घुम्न जान्थे र दुवै हाँस्दै-मुस्कुराउँदै देखिन्थे, त्यसैले उनीहरूलाई कहिल्यै शंका लागेन । सियाले यो सबै नाटक मञ्चन गरिरहेकी हुन् भनेर कसैलाई थाहा दिइनन् ।

तर, अनुसन्धानका क्रममा सिया परिवारको दबाबमा केतन अग्रवालसँग विवाह गर्न लागेको भन्ने खुलेको छ र मानसिक रूपमा उनी यो सम्बन्धका लागि तयार पनि थिइनन् । पारिवारिक सम्बन्धबाट तय भएको विवाह बिथोलिँदा बदनामी हुने र परिवारको इज्जत जाने कुरामा सिया जानकार थिइन् । तर, परिवारको इज्जत जोगाउने नाममा सियाले चालेको आपराधिक कदमले कुन हदसम्मको भयावह अवस्था जन्माउँछ भन्ने सिया रत्तिभर जानकार थिइनन् । उनको केतनलाई मार्ने योजनामा उनी सफल भइन् पनि । तर वास्तविकता लुकेन, सियाको झुटको मुकुन्डो उघ्रिएरै छाड्यो ।

केतन र सिया ३१ मेमा पनि लोहागढ किलामा गएका थिए । त्यो क्रममा सियाले केतनलाई धकेलेकी पनि थिइन् । तर, केतन राम्रो ट्रेकिङ गर्थे । पहाडी भुभागबारे जानकार थिए । सियाले धेकेल्दा नजिकैको बुट्यान समाएर भीरबाट खस्नबाट केतन जोगिएका थिए । ‘किन धकेल्यौ’ भनेर केतनले सोध्दा ‘त्यहाँ सर्प थियो’ भनेर सियाले जवाफ दिएकी थिइन् । केतनले घरमा आएर बुबाममी र बहिनीलाई सो घटनाबारे सुनाउँदै आफूलाई सियाले सर्पबाट जोगाएको भनेका थिए । त्यसपछि सबैले सियालाई धन्यवाद पनि भने । सियाको योजनाबारे उनीहरूले शंकासम्म गरेनन् ।

पहिलो प्रयासमा केतनलाई मार्न नसकेकी सियाले फेरि त्यहाँ जान जिद्दी गरिन् । एकपल्ट गइसकेको ठाउँमा फेरि किन जानु ? भनेर केतनले प्रश्न गर्दा सियाले मेरो जन्मदिनमा मैले भनेको ठाउँमा जान सक्नुहुन्न ? भन्ने प्रतिप्रश्न गरेकी थिइन् ।

सियाको जन्मदिन जुन १९ मा थियो । जुन १८ को लोहागढको सीसीटीभी फुटेज हेर्दा त्यहाँ पुरै सरिर ढाक्ने हुडी लगाएका एक व्यक्ति देखिए । हुडी अनुहारसम्म तानेका थिए र माथि हेडफोन लगाएका थिए । ती व्यक्तिमाथि प्रहरीले शंका गर्‍यो किनकी जबजब सिया पछाडि फर्किन्थिन् ती व्यक्ति आफ्नो गति सुस्त बनाउथे ।

केतन भीरबाट खसेपछि सियाले नै प्रहरीले दुर्घटना भएको जानकारी गराएकी थिइन् ताकी प्रहरीले शंका नगरोस् । केतनका परिवारले पनि सियामाथि शंका गर्ने ठाउँ नै भएन ।

तर, एकदिन केतनकी बहिनीले सियालाई यस्तो प्रश्न सोधिन् जसले प्रहरी अनुसन्धान सियातर्फ मोड्यो । प्रश्न थियो, ‘तिमी त्यहीँ थियौं । मेरो दाइ ट्रेकिङ गर्न जान्ने मान्छे हो । आखिर मेरो दाइ भिरमा गयो र खस्यो कसरी ?’ यदि सिया निर्दोष हुन्थिन् त सियाले यो प्रश्नको ठाडो जवाफ दिन्थिन् । तर, उनी फरकफरक जवाफ दिन लागिन् । उनको अनुहारको रूपरेखै परिवर्तन भयो । केतनकी बहिनीले केतनको निधन हुँदा पनि सिया दुःखी भएको महसुस नगरेपछि सियालाई त्यो प्रश्न सोधेकी थिइन् ।

यतिबेलासम्म सियाले सोचेअनुसार नै भइरहेको थियो । सबैले दुर्घटना मानेर स्वीकार गरिरहेका थिए । परिवारको इज्जत जोगाउन सियाले गरेको अपराध दबिइ नै रहेको थियो ।

तर, अब स्थिति सियाको नियन्त्रण बाहिर पुग्यो । केतनकी बहिनीले सियाप्रति शंका गर्दै बुबालाई यो सबै कुरा भनिन् । केतनका बुबाले प्रहरीलाई भने । त्यसपछि अनुसन्धान सियातर्फ मोडियो । त्यही क्रममा प्रहरीले सीसीटीभी फुटेज र सियाको मोबाइलको कल डिटेल हेरेको थियो ।

सियाको मोबाइलबाट एउटा नम्बरमा ६ महिनाभित्र २ हजार पटक कुराकानी गरेको पाइयो । ती व्यक्ति केतन नभएर, चेतन चौधरी थिए , सियाका वास्तविक प्रेमी । सीसीटीभीमा हुडी लगाउने व्यक्ति चेतन हुन् कि भनेर उनको मोबाइल ट्र्याक गरियो । तर, जुन १८ तरिखका दिन उनको मोबाइल उनको अफिसमै रहेको पाइयो ।

तर, प्रहरीले चेतनको अफिसमा गएर सोधपुछ गर्दा यस्तो वास्तविकता बाहिरियो जसबाट प्रहरी चकित भयो । चेतनले डिजिटल फुटप्रिन्ट मेटाउन आफ्नो मोबाइल अफिसमै छाडेर कार्यालयको अर्का एक व्यक्तिको फोन लिएर गएर फेला पर्‍यो । ती व्यक्तिको फोनको लोकेसन जुन १८ तारिखमा गोहागढ किल्ला देखियो ।

यसरी सिया र चेतनको करतुत छर्लंग भयो । दुवै समातिए ।

सियाले केतनलाई इन्कार गर्ने प्रयास पटकपटक गरेकी थिइन् । एकपल्ट सिया र केतनको बाली टुर अन्तिम समयमा केतनको पासपोर्ट हराएकाले रद्द भएको थियो । अनुसन्धानका क्रममा केतनको पासपोर्ट सियाले नै ट्वाइलेटमा च्यातेर फालिदिएको खुलेको छ ।

घटना घटेको दिन पनि जब प्रहरीले केतन जीवितै छन् भनेको थियो, तब सियाको अनुहारको रूपरंग नै फेरिएको थियो । लोहागढ फोर्टमा चेतन चट्टानमा उभिएर सियाको सिग्नलको प्रतीक्षा गरेका थिए, सियाले सिग्नल दिएपछि चेतनले पछाडिबाट केतनलाई तल धकेलेर भागेको पाइएको छ । त्यसपछि सियाले यसलाई दुर्घटना भन्दै चिच्याउन थालेकी थिइन् ।

हत्याको अघिल्लो दिन सिया र चेतन एउटा क्याफेमा भेटेर योजना बनाएको पनि खुलेको छ ।

सोधपुछका क्रममा सिया बारम्बार आफ्नो बयान बदल्दै थिइन् । पहिले उनले फोटो खिच्दाखिच्दै केतन भीरबाट खसेको भनिन् । पछि आराम गर्दा पानी माग्दा बोतल दिने क्रममा केतनको सन्तुलन बिग्रिएको पनि भनिन् ।

अनुसन्धानका क्रममा सिया गोयल र चेतन चौधरीको भेट गत दीपावलीमा भएको थियो । त्यसपछि दुवैबीच नजिकको सम्बन्ध विकसित भएको थियो । चेतन पनि हुनेखाने परिवारका थिए ।

हिरासतमा पुगेपछि चेतन र सियाले एकअर्कामाथि हत्याको दोष थोपर्न थाले । चेतनले आफूले कहिल्यै हत्याको कुरा नसोचेको र सियाले केतनलाई बाटोबाट हटाउन जिद्दी गरेकी थिइन् । सियाले भने यो योजना पूर्णतः चेतनको रहेको बताएकी छन् ।

केतनका बुबा विशाल अग्रवाल पुनेका एक प्रसिद्ध उद्योगपति र निर्माण व्यवसायी हुन् ।

जसलाई केतन अन्धो प्रेम गर्थे । जसको गल्तीलाई उनले माफी दिएका थिए । जसका कुकृत्यका प्रयासलाई उनले सकारात्मक प्रचार गरेका थिए । आखिरमा केतनले उसैको हातबाट ज्यान गुमाउनुपर्‍यो । सियाले पनि यस्तो नाटक मञ्चन गरिन्, जसलाई पत्याउनुको विकल्प कोहीसँग थिएन ।