‘स्वविवेकले निर्णय गर्छु’ भन्दै गृहमन्त्रीको ६० पाने स्पष्टीकरणमाथि बालेनले गरे सुक्ष्म अध्ययन

सुधनलाई पैसा दिने चाङ को हुन् ?

8.3k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले गृहमन्त्री सुधन गुरुङले बुझाएको ६० पृष्ठ लामो स्पष्टीकरणको मिहिन अध्ययन सुरु गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालका कम्पनीमा साझेदारीका साथै उनीहरुसँगको कनेक्सन देखिए पछि गृहमन्त्री गुरुङ विवादको घेरामा तानिएका छन् ।

गृहमन्त्री गुरुङको शंकाष्पद साझेदारी र कारोबारका विषयमा चौतर्फी आलोचना भइरहेको छ । गुरुङलाई बर्खास्त गरी अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ ।

गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई लिखित स्पष्टीकरणसहित त्यसलाई सपोर्ट गर्ने ६० पृष्ठ लामो स्पष्टीकरण बुझाइसकेका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री सुधन गुरुङका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री बालेनले आफूले स्वविवेकले निर्णय गर्ने जवाफ दिएका थिए ।

मन्त्रिपरिषदको बैठक सकिएपछि प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरुङले बुझाएको ६० पृष्ठ लामो स्पष्टीकरणको मिहिन अध्ययन थालेका छन् । अरु दिन बिहान साढे ८ बजे प्रधानमन्त्री कार्यालय आएर साँझ ६ बजेतिर निस्कने प्रधानमन्त्री बालेन मंगलबार भने गृहमन्त्री गुरुङको स्पष्टीकरणको सुक्ष्म अध्ययन गरे । प्रधानमन्त्रीसँगै उनको कोर टिम पनि सहभागी थियो । साँझ साढे ७ बजेसम्म बालेन प्रधानमन्त्री सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै गृहमन्त्रीको स्पष्टीकरणको सुक्ष्म अध्ययन गरेको स्रोतले जानकारी दियो।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगको व्यावसायिक साझेदारी र सेयर विवादमा तानिएपछि चौतर्फी आलोचना र राजीनामाको दबाब खेपिरहेका गृहमन्त्री गुरुङले आफ्नो बचाउ गर्दै प्रधानमन्त्री बालेनलाई स्पष्टीकरण बुझाएका थिए ।

गृहमन्त्री गुरुङले बुझाएको स्पष्टीकरणमा आफ्नो सम्पत्ति विवरण, सेयर लगानीको स्रोत र विवादास्पद व्यवसायीहरूसँगको सम्बन्धबारे उल्लखे गरेका छन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत् एक स्पष्टीकरण सार्वजिनक गर्दै स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफमा रहेको आफूले २५/२५ हजार कित्ता सेयर किनेको र सो लगानी ‘अपराध’को नभई ‘व्यावसायिक लगानी’ भनेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक तमसुकअनुसार सुधनले विजय कुमार श्रेष्ठ नामक व्यक्तिसँग ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर प्रतिकित्ता १५० रुपैयाँका दरले सेयर किनेको उल्लेख गरिएको छ । साथै गुरूङले आफ्नो २ करोड ७४ लाखको कुल सेयर विवरणभित्रै यी कम्पनीहरू पर्ने दाबी गर्दै विवरण लुकाएको भन्ने आरोपको खण्डन गरिसकेका छन् ।

त्यतिबेलै चाङ अग्रवाल नामका व्यक्तिको खाताबाट गुरुङको खातामा २२ लाख ५० हजार रुपैयाँ प्राप्त भएको विवरण हालै कान्तिपुर दैनिकले सार्वजनिक गरेको छ । कान्तिपुरले ‘हामी नेपाल’ को खाताबाट सुधनको खातामा पैसा पठाएको प्रमाण आफूसँग रहेको भन्दै समाचार प्रकाशन गरेको छ । समाचारमा दाबी गरिए अनुसार ‘ती तथ्यले हामी नेपालले पाउने सहायता रकम सुधनको व्यक्तिगत खातामै आउने गरेको र संस्थाको रकम पनि सुधनकै खातामा जाने गरेको’ पुष्टि गर्छ ।

नेपाल उद्योग परिसंघको युवा परिषदका पूर्वअध्यक्ष चाङ हाल इमेज टेलिभिजनका निर्देशक हुन् । कर्पोरेट जगतमा चाङ अग्रवाल दीपक-सुलभसँग निकटस्थ व्यवसायीका रूपमा परिचित छन् ।

यता सुधनले सम्पत्ति विवरणमा उल्लेख गरेको निजी कम्पनी होप होल्डिङबारे सोधखोज सुरू भएको छ । कम्पनीको रजिस्ट्रार कार्यालयले प्रधानमन्त्री कार्यालयलमा बुझाएको होप होल्डिङको सेयर लगतमा गुरूङ एकल सेयरधनी रहेको र गत जेठमा मात्र १ करोड रूपैयाँ जम्मा गरेको पाइएको छ । स्रोतका अनुसार सो रकमको स्रोत खुलेको छैन भने होप होल्डिङको अडिट रिपोर्ट पनि फेला परेको छैन ।

उता दीपकको कम्पनी इन्फिनिटी होल्डिङ्स र सुलभ अग्रवालको शंकर ग्रुप सुधनले नेतृत्व गर्ने हामी नेपाल नामक गैरसरकारी संस्थाको ठूलोमध्येका दाता हुन् । सुधनले कोरोना महामारीमा ठूलो आर्थिक सहयोग गरेको भन्दै इन्फिनिटी र शंकर ग्रुपलाई सम्मान समेत गरेका थिए ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानमा रहेका व्यवसायीद्वय भट्ट र अग्रवालको प्रभावमा लाइसेन्स पाएका दुई कम्पनीमा गृहमन्त्रीकै साझेदारी देखिएपछि प्रधानमन्त्री बालेनले ‘प्रश्न उठिसकेकाले हटाउँदा राम्रो म्यासेज नजाने’ भन्दै गुरुङलाई राजीनामा दिन भनेका थिए ।

तर, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले भने तत्काल राजीनामा नदिन गुरुङलाई ढाडस दिएका थिए । विवाद आएपछि रास्वपा सभापति रवि लामिछानेको निवासमै भेट्न पुगेका गुरूङलाई लामिछानेले ‘सम्पत्तिको स्रोत खोल्नुपर्ने र पार्टीले नै यसबारे आवश्यक निर्णय गर्ने’ भन्ने जवाफ दिएका थिए ।

गृहमन्त्री गुरुङले भने सामाजिक सञ्जालमार्फत् आफू ‘सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म बुझेको’ व्यक्ति भएको र हल्लाको पछाडि नलाग्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

तर, संसदमा प्रतिनिधित्व गर्ने नेपाली, नेकपा एमाले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जेनजी युवाको समूहहरूले गुरूङको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

Skip This