धितोपत्र बोर्डको अध्ययन प्रतिवेदन

पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर किन्नेमा भट्ट-अग्रवालसहित को-को ?

मूल्य बढाउन आफैँ संलग्न कम्पनीबीच सेयर किनबेच

1.4k
Shares


काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले पब्लिक लिमिटेड कम्पनीको फण्ड (कोष) बाट सेयर खरिद गरी सेटलमेन्ट गरेर दुरुपयोग गरेको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

सुलभ अग्रवाल, दीपक भट्ट लगायत संस्थापक सेयरधनी रहेको पब्लिक लिमिटेड कम्पनीको साथै हिमालयन लाइफ र हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीहरूको समेत फण्ड दुरुपयोग गरी दीपक भट्ट, सुभी अग्रवाल र ऋषिराज मोर लगायतका व्यक्तिले खरिद गरेको सेयरको राफसाफ भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ।

त्यति मात्रै नभएर भट्ट र सुभी अग्रवालले किनेको सेयर तथा ऋणपत्रहरूको मूल्य बढाएर हिमालयन रि-इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र दीपक भट्ट तथा सुलभ अग्रवालको लगानी भएको लघुबिमा कम्पनीमार्फत खरिद गर्ने र मूल्य बढाउन प्रयोग भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

दीपक भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत नेपाल पुनर्बिमा कम्पनीको ३ अर्ब १० करोड १६ लाख ८९ हजार रुपैयाँ बराबरको २० लाख ७२ हजार २१३ कित्ता सेयर खरिद गरेको देखिएको छ । जसमध्ये उनले ९२ हजार ९९२ कित्ता १२ करोड ७० लाख ७१ हजार रुपैयाँमा बिक्री गरेका छन् ।

यस्तै ‘नबिल डिबेन्चर २०८५’ १ लाख कित्ता १० करोड ८० लाख रुपैयाँमा खरिद गरी ११ करोड ८१ लाख २१ हजार रुपैयाँमा बिक्री गरेको देखिएको छ ।

यस्तै १० प्रतिशत ब्याजदरको ‘एनआईएमबी डिबेन्चर २०९०’ १ लाख ४ हजार ४०३ कित्ता १२ करोड ९५ लाख ६४ हजार १२३ रुपैयाँमा खरिद गरी १४ करोड ८७ लाख ५५ हजार ७०४ रुपैयाँमा बिक्री भएको छ ।

१०.२५ प्रतिशत ब्याजदर भएको ‘नेपाल एसबीआई ऋणपत्र २०८३’ ४४ हजार कित्ता ४ करोड ९० लाख ६० हजार रुपैयाँमा खरिद भई ५ करोड ३९ लाख ३८ हजार ६५० रुपैयाँमा बिक्री भएको छ ।

१०.७५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेन्चर २०८९’ ३ लाख ३९ हजार २२५ कित्ता ४१ करोड ७० लाख ६९ हजार ६०६ रुपैयाँमा खरिद गरी ४८ करोड २७ लाख ५ हजार ७३३ रुपैयाँमा बिक्री भएको छ ।

दीपक भट्टले नेपाल पुनर्बिमा कम्पनी र ४ वटा डिबेन्चर गरी कुल ३ अर्ब ८० करोड ५३ लाख ८३ हजार रुपैयाँको खरिद गरेको र उक्त सेयर खरिदका लागि आवश्यक अग्रिम रकम नलिएको मात्रै नभई, दीपक भट्टले रकम भुक्तानी नै नगरी राफसाफ भएको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले देखाएको छ ।

भट्टले सेयर र ऋणपत्र गरी कुल ९३ करोड ५ लाख ९२ हजार ३०७ रुपैयाँको सेयर भने बिक्री गरेको देखिएको छ ।

दीपक भट्टको मात्रै नभएर नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गर्ने ऋषिराज मोर, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाहले खरिद गरेको करिब २ अर्ब रुपैयाँको पनि भुक्तानी नलिई अन्य पब्लिक लिमिटेड कम्पनीको रकम उक्त कारोबार राफसाफमा प्रयोग भएको देखिएको छ ।

दीपक भट्टले खरिद गरेको ३ अर्ब ८० करोडको सेयरमा बिक्री गरेको ९३ करोड रुपैयाँलाई घटाउँदा हुने २ अर्ब ७३ करोड रुपैयाँ भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई भुक्तानी गर्नुपर्ने देखिएको हो ।

त्यस्तै सुभी अग्रवालको ६२ करोड ८९ लाख ५६ हजार, ऋषिराज मोरको २३ करोड १ लाख ३२ हजार, राजबहादुर शाहको ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ भृकुटी स्टक ब्रोकरलाई भुक्तानी गर्नुपर्ने देखिएको हो ।

यता हिमालयन रि-इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख ७१ हजार, हिमालयन रि-इन्स्योरेन्सकै सहायक कम्पनी हिमालयन क्यापसर्वको ३७ करोड रुपैयाँ, हिमालयन रि-इन्स्योरेन्स कम्पनीको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ उक्त सेयरको राफसाफमा प्रयोग भएको देखिएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड ‘एचएलआई लार्ज क्याप फण्ड’को २५ करोड १४ लाख ८५ हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख ५३ हजार रुपैयाँ, शेखर गोल्छाको ५२ करोड ५० लाख रुपैयाँ र रोहित गुप्ताको ५२ करोड ५० लाख रुपैयाँबाट सुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाह र दीपक भट्टले खरिद गरेको सेयरको राफसाफ भएको छ ।

‘भृकुटी स्टक ब्रोकिङ कम्पनीको पत्रानुसार शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्वको रकम दीपक भट्ट, सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले गर्ने धितोपत्र कारोबार, राफसाफ र फर्छ्यौटमा प्रयोग भएको देखिन्छ,’ नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा भनिएको छ ।

भृकुटी स्टकको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकको खातामा विभिन्न मितिमा शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्व लगायतबाट रकम जम्मा भएको छ ।

उक्त रकमलाई भृकुटी स्टकले धितोपत्रको राफसाफ गर्न ग्लोबल आइएमई बैंकमा खोलेका राफसाफ खाताहरूमा रकमान्तर गरेको देखिन्छ । ‘शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्वले भृकुटी स्टकबाट रकम लिन बाँकी भएको अवस्थामा समेत थप रकम जम्मा गरेको तथा धितोपत्र बिक्री बापतको रकम नलिएको देखिन्छ,’ धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा दीपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत र शेखर गोल्छा सञ्चालक रहेको हंसराज हुलासचन्द एण्ड कम्पनीको २.० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमालयन सेक्युरिटिज बैंकर हिमालयन रि-इन्स्योरेन्सको सहायक कम्पनी हो । जसमा हिमालयन रि-को ७५ प्रतिशत, दीपक भट्टको ७ प्रतिशत र शेखर गोल्छाको २.५ प्रतिशत सेयर स्वामित्व छ । यस्तै हिमालयन क्यापसर्वमा पनि हिमालयन रि-को शतप्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरमा दीपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत सेयर स्वामित्व छ । जसले एचएलआई लार्ज क्याप फण्ड सामूहिक लगानी कोषको योजना सञ्चालन गरिरहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा दीपक भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा दीपक भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा हिमालयन रि-इन्स्योरेन्सको १५ प्रतिशत सेयर स्वामित्व छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि हिमालयन रि-इन्स्योरेन्सको २१.४३ प्रतिशत सेयर स्वामित्व छ । हिमालयन रि-इन्स्योरेन्सका शेखर गोल्छा पूर्वअध्यक्ष हुन् भने रोहित गुप्ता पनि सञ्चालक हुन् ।

सुभी अग्रवालका श्रीमान् सुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष साथै हिमालयन रि-इन्स्योरेन्स सहित सबै लघुबिमा कम्पनीका महत्त्वपूर्ण सेयरधनीहरूमध्ये एक हुन् । यी तथ्यहरूले पनि दीपक भट्ट र सुभी अग्रवालले खरिद गरेको सेयर र त्यसमा राफसाफमा प्रयोग भएका कम्पनीहरूको अन्तरसम्बन्ध स्थापित गर्ने आधार रहेको देखाउँछन् ।

दीपक भट्टले नबिल डिबेन्चर हिमालयन रि-बाट प्रतिकित्ता १०८० मा खरिद गरी प्रतिकित्ता ११०० देखि ११८७ सम्ममा गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रोलाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सलाई बिक्री गरेको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘दीपक भट्टले नबिल डिबेन्चर २०८५ को १ लाख कित्ता ऋणपत्र १०८० रुपैयाँको दरमा १० करोड ८० लाख रुपैयाँमा खरिद गरेकोमा विभिन्न मूल्यमा ११ करोड ८१ लाख २१ हजारमा बिक्री गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उनले उक्त ऋणपत्र निजसँग सम्बन्धित कम्पनीहरूसँग नै खरिद बिक्री गरेको तथा खरिद बिक्री गर्दा एउटै ‘आईपी एड्रेस’ प्रयोग भएको देखिन्छ ।’

भट्टले एसबीएल डिबेन्चर पनि हिमालयन रि-इन्स्योरेन्सबाट खरिद गरी मूल्य बढाएर एचएलआई लार्ज क्याप फण्ड, गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रोलाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई बिक्री गरेको देखिएको छ ।

‘दीपक भट्टले एसबीएल डिबेन्चर २०८९ को १ लाख ३८ हजार ४५१ कित्ता ऋणपत्र विभिन्न दरमा १६ करोड ८० लाख ३३ हजार ४५५ मा खरिद गरी विभिन्न मूल्यमा १९ करोड ३८ लाख ६० हजार ३१७ रुपैयाँमा बिक्री गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै उनले विभिन्न मितिमा एसबीएल डिबेन्चर २०८९ को २ लाख ८१४ कित्ता ऋणपत्र विभिन्न दरमा २४ करोड ९० लाख ३६ हजार १५१ रुपैयाँमा खरिद गरी विभिन्न मूल्यमा २८ करोड ८८ लाख ४५ हजार ४१६ रुपैयाँमा बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । भट्टले ऋणपत्र आफैँसँग सम्बन्धित कम्पनीहरूसँग नै खरिद बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

भट्टले एनआईएमबी डिबेन्चर २०९० को १ लाख कित्ता हिमालयन रि-इन्स्योरेन्सबाट खरिद गरी एचएलआई लार्ज क्याप फण्डलाई बिक्री गरेका हुन् । कुल १ लाख ४ हजार ४०३ कित्ता ऋणपत्र १२ करोड ९५ लाख ६४ हजार १२३ रुपैयाँमा खरिद गरी १४ करोड ८७ लाख ५५ हजार ७०४ रुपैयाँमा बिक्री गरेका हुन् । आफैँ संलग्न कम्पनीबाट खरिद गरी मूल्य बढाएर आफैँ संलग्न कम्पनीले सञ्चालन गरेको म्युचुअल फण्डलाई बिक्री गरेको देखिन्छ ।

यस्तै नेपाल एसबीआई डिबेन्चर २०८३ को ४४ हजार कित्ता ४ करोड ९० लाख ६० हजार रुपैयाँमा खरिद गरी एचएलआई लार्ज क्याप फण्डलाई ५ करोड ३९ लाख ३८ हजार ६५० रुपैयाँमा बिक्री गरेका छन् । यसमा पनि उनले आफैँ संलग्न कम्पनीबाट खरिद गरी आफैँ संलग्न कम्पनीको सामूहिक लगानी कोषलाई बिक्री गरेको देखिन्छ । भट्टका यी सबै कारोबारमा एउटै आईपी ठेगाना प्रयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालको नाममा भृकुटी स्टक ब्रोकरबाट नै विभिन्न मितिमा नेपाल पुनर्बिमा कम्पनीको १७ लाख ६६ हजार ७४८ कित्ता सेयर २ अर्ब १० करोड ५२ लाख ३३ हजार ४१३ रुपैयाँमा खरिद भएको देखिएको छ । जसमध्ये १६ लाख ९९ हजार ९८४ कित्ता सेयर २ अर्ब ११ करोड २४ लाख ५० हजार ६८९ रुपैयाँमा बिक्री भएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको २ लाख २६ हजार १२९ कित्ता सेयर विभिन्न मितिमा २९ करोड २८ लाख १९ हजार ६८६ रुपैयाँमा खरिद गरी ३० करोड ८५ लाख ७८ हजार ४८३ रुपैयाँमा बिक्री भएको देखिएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर विभिन्न मितिमा २ लाख ७८ हजार १६५ कित्ता सेयर ४७ करोड ३० लाख ८४ हजार ८७० रुपैयाँमा खरिद गरेको देखिन्छ । जसमध्ये २ लाख ७० हजार ५७७ कित्ता सेयर ५३ करोड १३ लाख ९१ हजार ५८८ रुपैयाँमा बिक्री गरेको देखिएको हो । सुभी अग्रवालले नेपाल पुनर्बिमा कम्पनीको सेयर हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन इन्भेष्टमेन्ट बैंकर, हिमालयन लाइफ इन्स्योरेन्स र ऋषिराज मोरसँग खरिदबिक्री गरेको देखिन्छ । त्यस्तै क्रेस्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्ससँग सेयर खरिदबिक्री गरेको देखिएको हो ।

यस्तै सुभी अग्रवालले खरिद गरेको एनएलजी इन्स्योरेन्सको सेयर हिमालयन क्यापसर्भबाट खरिद गरी हिमालयन इन्भेष्टमेन्ट बैंकर र हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गरेको देखिएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर हिमालयन लाइफ इन्स्योरेन्सबाट खरिद गरी ऋषिराज मोर र एचएलआई लार्ज क्याप फण्डलाई बिक्री गरेको देखिएको हो ।

सुभी अग्रवालले करिब ३ अर्बको सेयर खरिद गर्न भृकुटी स्टक ब्रोकरमा एक रुपैयाँ पनि जम्मा गरेको नपाइएको हो । ‘सुभी अग्रवालको भृकुटी स्टकमा रहेको कारोबार खाताको विश्लेषण गर्दा उनले धितोपत्र खरिद बापत कुनै पनि रकम जम्मा गरेको पाइएन,’ धितोपत्र बोर्डको प्रतिवेदनमा भनिएको छ, ‘सुभी अग्रवाललाई अग्रिम रकम नराखे पनि कारोबार गर्न सीमा प्रदान गरिएको र धितोपत्र खरिद बापतको रकम जम्मा नगरे पनि खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ ।’

सुभी अग्रवालले भृकुटी स्टकलाई तिर्न बाँकी रकम २०८१ असार १६ गते अधिकतम १ अर्ब ३६ करोड ९ लाख ३२ हजार ३४९ रुपैयाँसम्म पुगेको थियो । माघ २३ गतेयता ६२ करोड ८९ लाख ५६ हजार ३७२ रुपैयाँ रकम तिर्न बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

ऋषिराज मोरले नेपाल पुनर्बिमा कम्पनीको ६ लाख २० हजार ८२० कित्ता सेयर ८१ करोड ५५ लाख ७७ हजार ५८६ रुपैयाँमा खरिद गरी १० हजार ६१२ कित्ता सेयर १ करोड ४० लाख ३८ हजार रुपैयाँमा बिक्री गरेको देखिएको हो ।

यस्तै एनएलजी इन्स्योरेन्सको ३ हजार ९८३ कित्ता सेयर ४१ लाख ८१ हजार १५० रुपैयाँमा बिक्री गरेको देखिएको हो । त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ११ लाख ५३ हजार ४४७ कित्ता सेयर २ अर्ब ५२ करोड १३ लाख ४० हजार ४२४ रुपैयाँमा खरिद गरी ११ लाख २१ हजार ९३६ कित्ता सेयर २ अर्ब ६९ करोड ३५ लाख ६५ हजार ८१३ रुपैयाँमा बिक्री गरेको हो ।

ऋषिराज मोरले सम्बद्ध व्यक्ति र कम्पनीहरूको कारोबारमा नेपाल पुनर्बिमा कम्पनीको सेयर हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सबाट खरिद गरी हिमालयन क्यापसर्भलाई बिक्री गरेको देखिएको हो ।

यस्तै एनएलजी इन्स्योरेन्सको सेयर हिमालयन क्यापसर्भलाई बिक्री गरेका हुन् । गार्डियन माइक्रो लाइफको सेयर सुभी अग्रवालबाट खरिद गरी हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गरेका हुन् ।

राजबहादुर शाहले भने नेपाल पुनर्बिमा कम्पनीको मात्रै सेयर खरिद गरेको देखिन्छ । ‘राजबहादुर शाहले भृकुटी स्टकबाट नेपाल रि-इन्स्योरेन्सको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँमा खरिद गरी उक्त रकममध्ये केवल ५२ करोड ५० लाख रुपैयाँ मात्रै भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई भुक्तानी गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । उनले ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको हो ।

‘राजबहादुर शाहले धितोपत्र खरिद बापत तिर्नुपर्ने रकम जम्मा नगरेको, निजले अग्रिम रकम नराखे पनि कारोबार गर्न सीमा प्रदान गरेको र धितोपत्र खरिद बापतको रकम भुक्तानी नभए पनि उनको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

दीपक भट्ट र भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ (झुटो कारोबार), दफा ९५ (मूल्य उतारचढाव गराएको) र दफा ९८ (जालसाजीयुक्त कारोबार) सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । उनीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) अनुसार अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिस गरिएको हो । यस्तै दफा १०१ अनुसारको सजाय (५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै) र दफा १०८ अनुसार सार्वजनिक ओहोदा वा संस्थाको सञ्चालक/प्रबन्धक हुन नपाउने गरी अयोग्यताको कारबाही गर्न सिफारिस गरिएको छ ।

हिमालयन रि-इन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्भ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता, शेखर गोल्छा, सुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स, ऋषिराज मोर र राजबहादुर शाहलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९८ बमोजिमको कसुरमा सहयोगी रहेको भन्दै दफा १०३ को उपदफा (३) अनुसार अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिस गरिएको छ ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३० र ३१ (ग्राहकको रकमको दुरुपयोग) र धितोपत्र सम्बन्धी ऐनको दफा ९६ बमोजिमको कसुरमा कारबाहीको सिफारिस गरिएको छ । ब्रोकरको अनुमतिपत्र खारेजी वा अन्य विभागीय कारबाहीका लागि बोर्डमा सिफारिस गरिएको हो ।

Skip This