भृकुटी स्टक ब्रोकरले कोसँग कति लिन र कसलाई कति दिन बाँकी ?

497
Shares

काठमाडौं । धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मा विभिन्न व्यवसायीले करोडौं रूपैयाँ लिनदिन बाँकी रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनले सेयर बजारमा भएको अर्बौं रुपैयाँको उधारो कारोबार र अपारदर्शी लेनदेनको तथ्य उजागर गरेको हो ।

व्यवसायी दिपक भट्ट र उनीसँग आबद्ध विभिन्न व्यक्ति तथा कम्पनीहरूको अझै पनि ठूलो परिमाणको लेनदेन राफसाफ हुन बाँकी रहेको देखिएको छ । कतिपय अवस्थामा रकम भुक्तानी नै नगरी धितोपत्र खरिद र राफसाफ गर्ने गरिएको पाइएको छ ।

प्रतिवेदनका अनुसार भृकुटी स्टक ब्रोकरले ५ जना व्यक्ति तथा संस्थाबाट अर्बौं रुपैयाँ उठाउन बाँकी छ भने ७ वटा संस्था र व्यक्तिलाई ठूलो रकम भुक्तानी गर्नुपर्ने देखिन्छ ।

ब्रोकरले रकम उठाउन बाँकी रहेका लगानीकर्ताहरूमध्ये सबैभन्दा धेरै व्यवसायी दिपक भट्टको नाममा छ । भट्टले ब्रोकरलाई २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा तिर्न बाँकी देखिएको छ ।

त्यसैगरी, राज बहादुर शाहबाट ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा, सुभी अग्रवालबाट ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा र ऋषि राज मोरबाट २३ करोड १ लाख ३१ हजार ९०२ रुपैयाँ ७० पैसा ब्रोकरले उठाउन बाँकी छ ।

यता हिमालय इन्भेष्टमेन्ट बैंकर लिमिटेडको नाममा पनि २२ लाख २६ हजार ३५२ रुपैयाँ १७ पैसा बक्यौता देखिएको छ ।

अर्कोतर्फ, ब्रोकरले विभिन्न ठूला संस्था र प्रतिष्ठित व्यवसायीहरूलाई ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको तथ्य पनि बाहिरिएको छ । रोचक पक्ष के छ भने ब्रोकरले दिपक भट्टबाट लिनुपर्ने जति नै रकम अर्थात् २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई बुझाउन बाँकी देखाएको छ ।

त्यस्तै, ब्रोकरले भुक्तानी दिन बाँकी रहेका अन्य व्यवसायीहरूमा रोहित गुप्ता र शेखर गोल्छा रहेका छन् । ब्रोकरले गुप्ता र गोल्छा दुवैलाई जनही ५२ करोड ५० लाख रुपैयाँका दरले कुल १ अर्ब ५ करोड रुपैयाँ तिर्न बाँकी छ ।

संस्थागततर्फ हिमालयन क्यापसर्भ लिमिटेडलाई ३७ करोड, एचएलआई लार्ज क्याप फण्डलाई २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ ८६ पैसा, हिमालयन सेक्युरिटिज बैंकरलाई २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ ८ पैसा र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा भुक्तानी दिन बाँकी रहेको विवरणमा उल्लेख छ ।

नेपालको धितोपत्र कानुन अनुसार यसरी उधारोमा सेयर किन्नु (रकम भुक्तानी नगरी कारोबार गर्नु) गम्भीर वित्तीय अपराध मानिन्छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले यस्तो कार्यलाई ‘बजार म्यानिपुलेसन’ र ‘झुठो कारोबार’ को श्रेणीमा राखेको छ । ऐनको दफा ९४, ९५ र ९६ मा रकम नै नदिई सेयर किन्नु वा एउटै समूहभित्र स्वामित्व परिवर्तन नहुने गरी कारोबार गर्नु ‘झुठो कारोबार’ हो । यस्तो कार्यले बजारमा कृत्रिम माग सिर्जना गर्छ ।

दफा १०१ अनुसार यस्तो कसूर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । यदि यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको छ भने त्यस्तो हानि नोक्सानी बापतको रकम (बिगो) भराउने र क्षतिपूर्ति समेत दिनुपर्ने कानुनी व्यवस्था छ । यसैगरी धितोपत्र बोर्डले यस्ता लगानीकर्ताको खाता रोक्का गर्ने र भविष्यमा सेयर कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाउन सक्छ ।

धितोपत्र बोर्डको प्रतिवेदनले व्यवसायी दिपक भट्ट र भृकुटी स्टक ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०१ (२) बमोजिमको फौजदारी कसूरमा कडा कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । यो प्रकरणमा अर्बौ‌को लेनदेन, नक्कली कारोबार र वित्तीय प्रणालीमै जोखिम देखिएकाले थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाउन सिफारिस गरिएको छ ।

बिना पैसा अर्बौंको सेयर खरिद-बिक्री हुनुमा ‘कालो धन’ को प्रयोग भएको हुन सक्ने आशंका गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत भट्ट र उनीसँग आबद्ध व्यक्तिहरूको सम्पत्ति जाँच गर्न सुझाइएको छ ।

यता भृकुटी स्टक ब्रोकरले जानाजानी ग्राहकको रकम दुरुपयोग गरेको र उधारो कारोबार गराएकाले उक्त ब्रोकरलाई निलम्बन वा इजाजत खारेजीसम्मको कारबाही गर्न संकेत गरिएको छ । प्रतिवेदनको तालिका ४ मा उल्लेख भएका अन्य ठूला व्यवसायीहरूसँगको लेनदेन पनि शंकास्पद देखिएकाले उनीहरूको भूमिकाबारे थप विस्तृत अनुसन्धान गर्न भनिएको छ ।

यता एउटै ‘आईपी एड्रेस’ बाट धेरैको नाममा कारोबार हुनुले बजारमा ‘कर्नरिङ’ भएको पुष्टि हुने भन्दै यस्तो प्रविधिलाई रोक्न सफ्टवेयरमा कडाइ गर्न सिफारिस गरिएको छ ।

Skip This