
काठमाडौं । स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्सको सेयर किन्न सुधन गुरूङले प्रतिकित्ता १५० रूपैयाँ तिरेको पाइएको छ । प्रतिकित्ता १०० रूपैयाँमा पाइने सेयरका लागि सुधनले १५० रूपैयाँ तिरेका हुन् ।
सुधनले स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना हुनु अघि नै कम्पनीको सेयर किनेका हुन् । नेपाल बिमा प्राधिकरणले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्ट निकट व्यवसायीको एकाधीकार हुने गरी ७ माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको थियो ।
सूर्यप्रसाद सिलवाल नेतृत्वको तत्कालीन बिमा समितिले माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिने भएपछि विभिन्न व्यक्तित्वबाट लगानी जुटाइएको थियो । सो क्रममा हामी नेपाल नामक गैरसरहकारी संस्था चलाउने सुधनले पनि २ कम्पनीमा लगानी गरेको खुलेको हो । भट्ट र शंकर ग्रुप ‘हामी नेपाल’को ठूलोमध्येको डोनर (दाता) हुन्।
सुधनले सो सेयर किन्न विजय श्रेष्ठ नाम गरेका व्यक्तिसँग कर्जा लिएको पाइएको छ । हालै सार्वजनिक भएको एक तमसुकअनुसार काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने श्रेष्ठ बिरबल श्रेष्ठको नाति गुजेश्वरी श्रेष्ठका छोरा हुन् । उनी को हुन् भन्नेहालसम्म खुलिसकेको छैन ।
गुरूङले श्रेष्ठसँग लिएको ३७ लाख ५० हजार रूपैयाँ सेयर किन्न खर्च हुने तमसुकमा उल्लेख छ । उक्त ऋण लिनुको मुख्य उद्देश्य सुधनले स्टारको १२ हजार ५ सय कित्ता सेयर १८ लाख ७५ हजार र लिबर्टीको १२ हजार ५ सय कित्ता सेयर पनि १८ लाख ७५ हजारमै किन्नु रहेको उल्लेख छ ।
जसअनुसार यी दुवै कम्पनीको सेयरका लागि उनले प्रतिकित्ता १५० रूपैयाँ हालेको देखिन्छ । यो ५० रूपैयाँलाई ‘अफ द रेकर्ड’ प्रिमियम मूल्यका रूपमा चिनिन्छ । कागजात अनुसार यी कम्पनीहरूको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा सुधनले किनेका हुन्, जबकि कम्पनीको आधिकारिक श्रेस्ता (बुक) मा भने अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ मात्र कायम गरिएको छ ।
स्टारको सेयर लगतमा सुधनको २५ लाख रूपैयाँ बराबरको २५ हजार कित्ता सेयर रहेको देखिन्छ । त्यसका आधारमा बाँकी १२ हजार ५ सय कित्ता सेयर कुन स्रोतबाट किनेको हो भन्ने स्पष्ट छैन ।
दुवै कम्पनीको पब्लिक कम्पनी भएता पनि उनीहरूले सार्वजनिक निष्काशन गरिसकेका छैनन् । उनी स्टारको ५४ संस्थापक सेयरधनी हुन् । जानकारहरूका अनुसार कुनै पनि कम्पनीको संस्थापक सेयरधनी हुन विभिन्न प्रक्रिया पार गरेको हुनुपर्छ । यसैगरी नागरिकता, प्यान कार्ड, कर चुक्ता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र निवेदन, हक कायम गर्ने पत्र लगायत विवरण बुझाउनुपर्दछ भने चिनजान, साथीभाइ, निकटता वा कुनै लिंकका आधारमा मात्र कोही संस्थापक सेयरधनी हुन सक्दछ । तसर्थ, यस विषयका जानकारहरूले सुधन-दीपक सम्बन्ध पहिल्यै रहेको आधारमा सुधनले प्रिआईपीओमै यी कम्पनीको संस्थापक सेयर खरिद गर्न पाएको अनुमान गरेका छन् ।
प्रिआईपीओमा तिरेको प्रिमियम रकम बुकमा नदेखिने कारण यो रकम कमिसनका रूपमा काम गर्ने र गराउने देखि उच्च पदस्थ व्यक्तिसम्म पुग्ने गरेको जानकार बताउँछन् । धितोपत्र ऐनअनुसार प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न पाइन्छ तर कम्पनी खोल्नु अघि नै सेयरमा प्रिमियम रकम उठाउन भने पाइँदैन ।








प्रतिक्रिया