
काठमाडौं । नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायनिक विषादीले किसानको स्वास्थ्यसँगै उपभोक्ताको भान्छासम्म गम्भीर संकट निम्त्याइरहेको एक अध्ययनले पुष्टि गरेको छ ।
रुपन्देही जिल्लाका व्यावसायिक धान उत्पादन गर्ने किसानमा गरिएको सर्वेक्षण र काठमाडौं उपत्यकाका बजारबाट संकलन गरिएका चामलका नमुनाहरूको प्रयोगशाला परीक्षणले नेपालको कृषि क्षेत्रमा विषादी व्यवस्थापनको भयावह अवस्था सार्वजनिक गरेको हो ।
नेपालमा धान खेतीमा प्रयोग हुने विषादी र त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने जोखिमबारे गरिएको वैज्ञानिक अध्ययनले डरलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
यो अध्ययनले नेपालको कृषि र जनस्वास्थ्यमा ‘विषादीको बम’ विष्फोट हुने अवस्थामा रहेको संकेत गरेको छ ।
भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ को सहकार्यमा काठमाडौंको ‘प्रोग्रेसिभ सस्टनेवल डिभलपर्स नेपाल’ ले नेपालमा धानमा विषादीको प्रयोग र किसानको सुरक्षा विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
नेपालको तरकारी र सागमा खानै नसकिने गरी अनियन्त्रित रुपमा विषादीको प्रयोग भइरहेको अवस्थामा पछिल्लो समयमा भान्छामा दैनिक रुपमा पाक्ने चामलमा समेत प्रतिवन्धित विषादीको मात्रा अत्यधिक परिमाणमा पाउन थालिएको प्रतिवेदन सार्वजनिक भएको हो ।
अध्ययनको सबैभन्दा डरलाग्दो पक्ष भनेको नेपाल सरकारले प्रतिबन्ध लगाएको ‘क्लोर्पाइरिफोस’ नामक विषादीको प्रयोग अझै पनि भइरहनु हो । यो विषादी मानव स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।
प्रतिवेदनका अनुसार भक्तपुरबाट संकलन गरिएका २० प्रतिशत चामलका नमुनामा यो प्रतिबन्धित विषादीको अवशेष भेटिएको छ । सरकारले प्रतिबन्ध लगाए पनि बजारमा यसको उपलब्धता र किसानले गरिरहेको प्रयोगले सरकारी नियमन प्रणालीमाथि नै ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।
यसका साथै अध्ययनले ‘अल्मुनियम फस्फाइड’ र ‘जिंक फस्फाइड’ जस्ता मुसा मार्ने विषादीहरू पनि किसानले प्रयोग गरिरहेको देखाएको छ, जसको भण्डारण र प्रयोग अत्यन्तै असुरक्षित तरिकाले भइरहेको छ ।
सन् २०२५ जुन ६ मा प्रकाशित ‘थ्योरी अफ प्लान्ड बिहेभियर’ (टीपीबी) मा आधारित उक्त अध्ययनले नेपाली बजारमा पाइने ८३ प्रतिशत चामलका नमुनामा विषादीको अवशेष अत्यधिक मात्रामा पाइएको देखाएको छ ।
यस्तै ८० प्रतिशत नमुनामा दुई वा दुईभन्दा बढी प्रकारका विषादीका अवशेष पाइएको अनुसन्धानमा संलग्न उत्कल सापकोटाले बताएका छन् ।
प्रतिवेदन ‘स्प्रिन्जर नेचर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मासमेत प्रकाशित गरिएको छ ।
यो अध्ययनले कृषि क्षेत्रमा विषादीको अनियन्त्रित प्रयोगलाई कडाईका साथ नियमन गर्न ढिला भइसकेको संकेतसमेत गरेको छ ।
काठमाडौंको चामलमा सबैभन्दा बढी विषादी, बासमती चामलमा अत्यधिक
अनुसन्धानका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लाबाट चामलका नमुनाहरू संकलन गरिएको थियो ।
अध्ययनअनुसार ८३ प्रतिशत नमुनाहरू विषादीबाट प्रदूषित पाइएका छन् भने ८० प्रतिशत नमुनामा दुई वा बढी प्रकारका विषादीका अवशेषहरू भेटिएका छन् ।
ललितपुर र भक्तपुरको तुलनामा काठमाडौं जिल्लाबाट संकलन गरिएका नमुनाहरूमा विषादीको मात्रा र संख्या दुवै उच्च पाइएको छ । विशेष गरी ‘बासमती’ चामलमा विषादीको अवशेष अझै बढी मात्रामा भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका अनुसार चामलमा मुख्य रूपमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीहरू बढी मात्रामा पाइएका छन् ।
‘युरोपेली युनियनले तोकेको अधिकतम अवशेष सीमाभन्दा बढि परिमाणमा ११ प्रकारका विषादीमध्ये थायामेथोक्साम , ट्राइसाइक्लाजोल र टेबुकोनाजोलको मात्रा पाइएको छ, मानव स्वास्थ्यको लागि यो निक्कै हानिकारक हो,’ सापकोटाले भने ।
प्रतिवेदनअनुसार चामलमा विभिन्न ११ प्रकारको विषादीको अवशेषसमेत फेला परेको छ । अध्ययनको क्रममा चामलको नमूनामा किटनाशक, ढुसीनाशक, मुसा मार्नेलगायतका औषधीका साथै प्रतिवन्धित विषादीको परिमाणसमेत फेला परेको प्रतिवेदनले उल्लेख गरेको छ ।
उपत्यकाको तीन जिल्लामा खपत भइरहेका चामलमा विषादीको घनत्व प्रतिकिलो ५.०९ माइक्रोग्रामदेखि ३१२.५४ माइक्रोग्रामसम्म पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिबन्धित विषादीको अत्यधिक प्रयोग
कपिलवस्तुको मायादेवी गाउँपालिकाका १२० जना व्यावसायिक किसान र ५० जना विषादी विक्रेता तथा थोक बिक्रेताहरूमाझ गरिएको सर्वेक्षणले नेपालमा अझै पनि सरकारद्वारा प्रतिबन्धित र उच्च विषाक्त विषादीहरूको प्रयोग भइरहेको देखाएको छ ।
‘आलुमिनम फस्फाइड’ र ‘क्लोरपाय्रिफोस’ जस्ता घातक विषादीहरू किसान र व्यापारीहरूले सामान्य रूपमा प्रयोग गरिरहेको पाइएको छ ।
संकलन गरिएको चामलको नमूना अत्याधुनिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसले चामलमा उपस्थित रहेका ५१ प्रकारको विषादीको सुक्ष्म विश्लेषण गरिएको थियो ।
प्रतिवेदनअनुसार ललितपुरको ९० प्रतिशत, भक्तपुरको ८० प्रतिशत र काठमाडौंको ८० प्रतिशत चामलको नमूनामा ट्राइसाइक्लाजोल भन्ने विषादीको मात्रा अवशेष सीमाभन्दा बढी पाइएको छ ।
यस्तै भक्तपुरको ७० प्रतिशत र काठमाडौं र ललितपुरको ६० प्रतिशत नमूनामा थियामेथोक्साम नामको मात्रा अत्यधिक परिमाणमा भेटिएको छ ।
त्यसैगरी काठमाडौंको २० प्रतिशत नमूनामा सीमाभन्दा बढी मात्रामा प्रोपिगोनाजोला नामको विषादीको मात्रा पाइएको छ ।
यो तथ्यांकले हामीले दैनिक रुपमा शरीरलाई पोषण दिने भनेर खाने चामल कति असुरक्षित छ भन्ने देखाउँछ । विशेष गरी बासमती चामलमा गैर–बासमतीको तुलनामा विषादीको मात्रा अझ बढी पाइएको रिपोर्टमा उल्लेख छ ।
विषादीको मारमा किसान
अध्ययनले किसानहरूले विषादी प्रयोग गर्दा अपनाउने सुरक्षा सतर्कता खासै अपनाएको देखिएन । अध्ययनको क्रममा किसानहरुले विषादी छर्कने क्रममा अपनाउनुपर्ने सुरक्षाका साधनहरु मास्क, पञ्जा, बुटलगायतको प्रयोग नगरेको पाइएको छ ।
कतिपय किसानले विषादी प्रयोग गरेपछि त्यसको बट्टा खेतबारीमै र पानीको स्रोत नजिकै फाल्ने गरेको पनि अध्ययनको क्रममा फेला परेको छ ।
सुरक्षित रुपमा विषादीको प्रयोग नगरेका कारण ४० प्रतिशत किसान छालाजन्य रोगबाट प्रभावित भएका छन् । त्यस्तै २० प्रतशित किसानले अत्यधिक कमजोरी भएको महसुस गरेका छन् । १५ प्रतिशत किसानले नियमित रुपमा टाउको दुख्ने समस्या आएको औंल्याएका छन् ।
यसबाहेक आँखा पोल्ने, बान्ता हुने, झाडापखाला लाग्ने, दृष्टिमा धमिलोपनजस्ता समस्याहरु पनि देखापरेका छन् ।
अध्ययनमा सहभागी गराइएको १२० किसानमध्ये ७२.५ प्रतिशत पुरुष र २७.५ प्रतिशत महिला थिए । यसमध्ये ६०.८४ प्रतिशत किसान असिक्षित रहेको पाइएको छ ।
अधिकांश किसान विषादी विक्रेताको सल्लाहको भरमा खेतिपाती गर्दै आएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यस्तै छिमेकी किसानले प्रयोग गरेको र बिक्रेताको दबाब र निर्देशनअनुसार विषादी प्रयोग गर्ने गरेको पनि उल्लेख गरिएको छ ।
स्वास्थ्य जोखिम न्यून तर सतर्कता आवश्यक
अध्ययनले अनियन्त्रित, आफुखुशी, प्रतिबन्धित र सीमाभन्दा बढी परिमाणमा प्रयोग भइरहेको विषादीहरुका कारण मानव शरीरमा हर्मोन, स्नायु र प्रजनन प्रणालीमा असर पुर्याउने उल्लेख गरेको छ ।
अत्यधिक विषादीयुक्त खाद्यान्न, तरकारी, साग वा फलफूलको नियमित रुपमा सेवन गर्दा वा त्यस्ता विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा आम उपभोक्ताको शरीरमा दीर्घकालीन रुपमा क्यान्सर, मृगौला फेल, हर्ट अट्याक (हृदयघात), रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर कलेजो बिग्रने, ब्रेन ट्युमर हुने, गर्भ तुहिने जस्ता समस्या आउन सक्ने चेतावनी समेत दिइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।
तरकारी र सागमा हुन्छ ८५ प्रतिशतसम्म बिषादीको प्रयोग
सरकारको तथ्याँकअनुसार नेपालमा वार्षिक साढे ६ सयदेखि १२ सय मेट्रिक टनको हाराहारीमा खास बिष अर्थात बिषादीको आयात हुने गरेको छ ।
त्यसरी भित्रिने विषादीहरू करिब १७० प्रकारका हुन्छन् । तीमध्ये दुई तिहाइभन्दा बढी अर्थात झण्डै ८५ प्रतिशतसम्म त हरियो तरकारीमा उत्पादन गर्ने क्रममा किसानहरुले प्रयोग गर्दै आउने खालका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी अर्थात करिब ७० प्रतिशत विषादी काभ्रे, बारा, सर्लाही, धादिङ, कपिलवस्तु, मकवानपुरका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन् ।
बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।
सरकारलाई सुझाव
भविष्यमा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि अध्ययनले सरकारलाई दुईवटा मुख्य सुझाव दिएको छ ।
पहिलो हो, प्रतिबन्धित विषादीको अवैध प्रयोग रोक्न कानुनी संयन्त्रलाई थप मजबुत र कडाइका साथ लागू गर्ने र दोश्रो, बजारमा उपलब्ध चामलमा विषादीको अवशेष नियमित रूपमा अनुगमन गर्ने ।









प्रतिक्रिया