
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सार्वजनिक यातायात र सडक सुरक्षाको अवस्थालाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भिडियो सन्देशमार्फत विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् ।
दिनहुँजसो भइरहेका सडक दुर्घटना र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिको बिषयमा उनले यस्तो कार्ययोजना सार्वजनिक गरेका हुन् ।
थापाले भने, ‘नेपालमा प्रत्येक दिन औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ, यसले गर्दा हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत नोक्सानी भइरहेको छ। नागरिकको ज्यान यति सस्तो भएको छ कि धेरैजसो दुर्घटनाका समाचारले त अब हाम्रो ध्यान समेत खिच्न छाडेको छ।’
संरचनागत सुधार र नयाँ ऐनको प्रस्ताव
सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याहरू संरचनागत भएको उल्लेख गर्दै थापाले ३१–३२ वर्ष पुराना ऐन-कानुनहरूलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए।
उनले ‘पब्लिक ट्रान्सपोर्टेसन गभर्निङ एक्ट’ को खाका तयार पारिएको र त्यसै अन्तर्गत एक शक्तिशाली ‘यातायात प्राधिकरण’ बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
उक्त प्राधिकरणमा सरकारका प्रतिनिधि, यातायात व्यवसायी, श्रमिक र विज्ञहरूको सहभागिता रहनेछ।
वैज्ञानिक रुट निर्धारण र एकीकृत टिकट प्रणाली
प्रस्तावित योजनामा धनगढीदेखि काठमाडौंसम्मको यातायात प्रणालीलाई वैज्ञानिक ढंगले पुनर्गठन गर्ने, रुटहरू निर्धारण गर्ने र सार्वजनिक-निजी साझेदारी मोडलमा लगानी जुटाउने उल्लेख छ।
थापाले काठमाडौं जस्ता ठूला सहरहरूमा ‘मास ट्रान्जिट’ लाई प्राथमिकता दिँदै एकीकृत टिकट प्रणाली लागू गर्नुपर्ने बताए। जसले गर्दा एउटै टिकट वा कार्डबाट विभिन्न माध्यमका यातायातमा यात्रा गर्न सहज हुनेछ।
नागरिक-मैत्री सहरी डिजाइन
सहरहरू ‘कार-केन्द्रित’ नभई ‘नागरिक-केन्द्रित’ हुनुपर्ने थापाको तर्क छ। उनले सडकको डिजाइन गर्दा प्राथमिकताको क्रम यसरी निर्धारण गर्नुपर्ने बताए ।
१. पैदलयात्री (विशेष गरी फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका)
२. साइकल लेन
३. सार्वजनिक यातायात (मास ट्रान्जिट)
४. निजी सवारी साधन
सडक सुरक्षा र अन्तर-निकाय समन्वय
सडक सुरक्षालाई केवल एउटा निकायको जिम्मामा नछोडी स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय (ट्रमा सेन्टर स्थापनाका लागि) र शिक्षा क्षेत्रबीच समन्वय हुनुपर्ने उहाँको योजना छ। विद्यालय तहदेखि नै सडक सुरक्षाका विषयलाई ‘जीवनशैली’ का रूपमा सिकाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रविधि र श्रमिकको सम्मान
यातायात क्षेत्रमा प्रविधिको प्रयोगलाई विलासिता नभई आवश्यकताका रूपमा स्विकार्नुपर्ने र यस क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र ल्याई यो पेसालाई मर्यादित बनाउनुपर्ने थापाले उल्लेख गरे ।
‘जब यो पेसा मर्यादित र अनुशासित हुन्छ, तब सडक दुर्घटनामा पनि स्वतः कमी आउनेछ,’ थापाले भने।
आफ्नो ‘लिभेबल काठमाडौ’ अभियानको अनुभवलाई समेत समेट्दै उनले यात्रालाई सास्ती नभई एउटा आनन्द र नागरिक अधिकारको विषय बनाउने प्रतिबद्धता व्यक्त गरे ।








प्रतिक्रिया