सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु, १६ जना अंगभंग

दुर्घटनापछि मात्रै तात्छ सरकार, प्रतिवेदन बनाउँदै थन्क्याउँदै



काठमाडौं । पछिल्लो समयमा नेपालमा १४ दिनको अवधीमा दुईवटा हवाई दुर्घटना भएको छ । पहिलो साउन १० गते सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १९ जना मारिएका थिए । सौर्य एयरलाइन्सको दुर्घटनाको ठिक १४ दिनपछि डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

हवाई दुर्घटना हुँदा राज्यको तर्फबाट जति चासोका साथ हेरिन्छ, त्यसको तुलनामा ठूला सवारी दुर्घटनालाई नहेरिएको पाइएको छ । हवाई दुर्घटना हुँदा राज्य उद्धार, खोजी, उपचार, छानविन र पुनः घटना दोहोरिन नदिन कदमहरु राज्यको तर्फबाट चालिन्छ, त्यसरी ठूला सवारी दुर्घटनाको हकमा राज्यबाट चासो व्यक्त नहुँदा यस्ता दुर्घटना बर्षेनी बढ्दै गएको छ ।

पछिल्लो ६ बर्षको अवधीमै नेपालमा १ लाख २० हजार ६ सय २६ वटा घटना भएका छन् । ६ वर्षमा सडक दुर्घटनाका कारण १५ हजार १ सय ६८ जनाले मृत्युवरण गर्न बाध्य भएका छन् भने ३४ हजार ६ सय २८ जना अंगभंगसहित गम्भिर प्रकृतिको घाइते भएका छन् । यस्तै सडक दुर्घटनाका कारण १ लाख १६ हजार ७ सय ५९ जना सामान्य घाइते भएका थिए ।

सरकारले सिमलताल बस दुर्घटनाको बिषयमा अध्ययन गर्न गठन गरेको समितिले दिएको प्रतिवेदनका अनुसार नेपालमा सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु र १६ जनाको अंगभंग हुने गरेको छ ।

पछिल्लो दशकमा सडकको विकास र विस्तारसँगै दुर्घटनाको घटनामा पनि बृद्धि भएको पाइएको छ । सडकको विकास सँगसँगै वातावरणीय पक्ष र सडक सुरक्षालाई ध्यान नदिइएका कारण दुर्घटना अत्यधिक बढेको सरकारी अध्ययन कार्यदलले स्वीकार गरेको छ ।

सरकारले सिमलताल बस दुर्घटनाको बिषयमा अध्ययन गर्न गत असार ३१ गते गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय सिमलताल दुर्घटना अध्ययन कार्यदल गठन गरेको थियो ।

कार्यदलले दुर्घटनाको घटनालाई सुक्ष्मरुपमा अध्ययन गरी बुझाएको प्रतिवेदनले सडक विकाससंगै वातावरणीय पक्ष र सडक सुरक्षालाई पटक्कै ध्यान नदिएका कारण दुर्घटनाको बढ्दै गएको बिषयलाई गहन रुपमा उठाएको छ ।

‘नेपालमा सडक निर्माणलाई जति प्राथमिकता दिइएको छ, त्यसको तुलनामा समग्र वातावरणीय पक्ष र सडक सुरक्षालाई ध्यानमा राखेको पाइदैंन,’ कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिब छवि रिजालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘खासगरी पहाडी तथा भिरालो जमिनमा पनि जथाभावी भारी उपकरणको प्रयोग गरी सडक खनिनु, सडक खन्दा वातावरणीय पक्षमा पर्ने प्रभावलाई पटक्कै ख्याल नगर्नु, सडक निर्माणका क्रममा कट एण्ड फिल सिद्धान्तलाई प्रयोगमा नल्याइनु र नियमनकारी निकायबाट प्रभावकारी नियमन हुन नसक्दा सडक सुरक्षाको बिषय ठूलो चुनौती बनेको छ ।’

सडक विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षसम्म संघीय सरकारमार्फत ३४ हजार ४ सय ६ किलोमिटर सडक सञ्जाल विस्तार भएको थियो । जसमध्ये १८ हजार ८ सय ८ किलोमिटर कालोपत्रे, ७ हजार २ सय ६८ किलोमिटर ग्राभेल सडक र ८ हजार ३ सय ३० किलोमिटर माटो सडक निर्माण भएको थियो ।

विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार पनि सडक सुरक्षाका कारण दैनिक औषत् ८ जना सडक दुर्घटनामा मृत्युवरण गर्न बाध्य भएको र यो समस्यालाई समाधान गर्न ठूलो चुनौती भएको औल्याइएको छ ।

सडक दुर्घटनाको समस्यालाई समाधान गर्न सडक सुरक्षा ऐन नै बनाउनु पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माले बताए ।

सिमलताल बस दुर्घटना मूलतः सडक विभाग, सुरक्षा निकाय, भरतपुर महानगरपालिका, एकीकृत सूचना प्रणाली र चालकको चरम लापारवाहीका कारण भएको उक्त कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ । जिम्मेवार निकायहरुले आ–आफ्नो भूमिकासँग खेलाँची गरेका कारण उक्त दुर्घटना निम्तिएको कार्यदलको ठहर छ ।

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले गत माघको पहिलो साता बुझाएको प्रतिवेदनअनुसार मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम जस्ता सडक सवारी दुर्घटनामा प्रमुख ५ कारण रहेका छन् ।

पौडेल कार्यदलको प्रतिवेदनअनुसार कूल सडक सवारी दुर्घटनामध्ये ८८.३५ प्रतिशत सवारी चालकको कारणले दुर्घटना हुने गरेको छ भने यस्तै २.५९ प्रतिशत सवारी साधनको कारणले दुर्घटनामा परेका छन् ।

यात्रुको कारणले ४.२० प्रतिशत, सडक अवस्थाका कारण ४.१२ प्रतिशत र मौसमको कारणले ०.७४ प्रतिशत दुर्घटनाका घटना निम्तिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

मानवीय कारणमा चालकको ज्ञान, सीप र क्षमता, शारीरिक र मानसिक अवस्था, पैदल यात्रुको सजगताजस्ता विषय पर्दछन् भने यान्त्रिक कारणमा सवारी साधनको अवस्था (आकार, प्रकार, यन्त्र, बे्रक, हर्न, बडी आदि) र भारवहन क्षमता, सवारीको गति महत्वपूर्ण हुन्छन् ।

यस्तै, सडकको अवस्थाअन्तगर्त सडकको भौतिक अवस्था, सडक संकेत र बारहरू, सडकको अन्य प्रयोग, चौपायाको उपस्थिति र मानिससँग सडकको अन्तरक्रियाका कारणले पनि दुर्घटना बढ्ने र घट्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

खास गरी दृश्यावलोकनको अवस्था उज्यालो, अध्यारोे, पानी परेको वा नपरेको, कुहिरो लागेको, नलागेको, बाढी पहिरो आदि पनि दुर्घटनाका कारणमा पर्छन् ।

त्यस्तै, अन्य सवारी साधनको उपस्थिति, गति, जाम, ट्राफिक अनुशासनको पालना, निगरानी वा ट्राफिक प्रहरीको उपस्थितिले पनि दुर्घटनालाई प्रभावित गर्ने गरेको प्रतिवेदनले औल्याएको छ ।

दुर्घटनापछिको राहत, उद्धार तथा घाइतेको उपचार र मृतकको क्षतिपूर्तिले पनि दुर्घटनाको असरलाई बढाउने वा घटाउने गरेको प्रतिवेदनको ठम्याई छ ।

सडक दुर्घटनामा एउटा मात्रै तत्वलाई कारक तत्व मान्न नसकिने भन्दै रिजाल कार्यदलले सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, चालकको असावधानी, क्षमताभन्दा बढी भारवहन, मापदण्डविपरित बनेका सडक संरचना, सवारी नियमसम्बन्धी ज्ञानको अभाव, अपर्याप्त ट्राफिक प्रहरी व्यवस्थापन, भिरालो र पहाडी भूवनोट, वातावरणीय पक्षलाई अवहेलना, सडक सुरक्षासम्बन्धी पूर्वाधार निर्माण नहुनु र त्यससम्बन्धी सूचनाको कमी, प्राकृतिक विपद्लगायतका कारण दुर्घटना अत्यधिक निम्तिएको औल्याएको छ ।

सुख्खायामको तुलनामा बर्षायाममा सडक दुर्घटना अत्यधिक बढेको औल्याउँदै प्रतिवेदनले खोलानालामा आउने बाढीले सडक संरचनामा क्षति पुर्याउने, सडक भासिने, सडक कटान गर्ने, गुडिरहेको सवारीमाथि एक्कासी माथिबाट पहिरो खस्ने, सडकमा चुहिने डिजेल र मोबिलका कारण सवारी साधन चिप्लनेजस्ता कारणले दुर्घटना बढेको पनि उल्लेख छ ।

पहाडी भेगको सडक खण्डमा निर्माण गरिने क्रस ड्रेनेज संरचनाहरु डेब्रिज वहावलाई आधार मानेर पुलको डिजाइन गरेको अभ्यासलाई कार्यान्वयनमा नल्याइँदा पनि दुर्घटना बढेको प्रतिवेदनले औल्याएको छ ।

‘नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सडक फराकिलो पार्ने क्रममा भित्ता कटिङ्ग गर्दा वातावरणीय पक्षमा गम्भिरताका साथ ध्यान नदिइँदा योङ्ग माउन्टेन भएको पहाडी भागमा पहिरो जाने उच्च जोखिम हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

खोजी र उद्दार गर्नेसम्बन्धी नेपालमा अत्याधुनिक सुविधाको उपकरणको अभावमा दुर्घटनापश्चात् तत्कालै खोजेर उद्दार गर्न नसकिँदा ठूलो संख्यामा सर्वसाधारण हताहत हुँदै आएको प्रतिवेदनले औल्याएको छ ।

यसकैका कारण, सिमलताल दुर्घटना अघि त्रिशुलीमा भएको दुर्घटनामा १० बर्ष अघि पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधव घिमिरे दुर्घटना परेको सवारी साधन हालसम्म फेला परेको छैन । त्रिशुलीमै खसेर डुबेका ग्यास बुलेटलगायत अन्य ८ सवारी साधन पनि हालसम्म फेला पार्न सकिएको छैन । पछिल्लो समयमा सिमलताल दुर्घटनामा परेका दुई वटा बससमेत अहिलेसम्म फेला परेका छैनन् ।

पौडेल नेतृत्वको कार्यदलले सडक दुर्घटनामा सबैभन्दा धेरै कम उमेर समूह १५ देखि २९ वर्षसम्मका सर्वसाधारणको ज्यान जाने गरेको उल्लेख गरेको छ । दुर्घटनामा संलग्न सवारी साधनमा मोटर साइकलको हिस्सा सबैभन्दा धेरै ५०.७२ प्रतिशत रहेको पनि प्रतिवेदनले जनाएको छ ।

विश्व बैंकको एक सर्वेक्षणअनुसार निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशतको हाराहारीमा क्षति व्यहोर्नु परेको छ । आर्थिक वर्ष २०७५÷७६ लाई आधार बर्ष मान्दा उक्त बर्षमा सडक दुर्घटनाको कारण १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति नेपालले व्यहोर्नु परेको पौडेल प्रतिवेदनमा उल्लेख छ ।

६ बर्षमा डेढलाख सवारी दुर्घटना

प्रहरी प्रधान कार्यालयअनुसार पछिल्लो ६ बर्षमा सडक दुर्घटना अत्यधिक बढेको छ । ६ बर्षको अवधीमा नेपालमा सडक सवारी सम्बन्धी १ लाख २० हजार ६ सय २६ वटा दुर्घटना भएका छन् ।

यी दुर्घटनाबाट १५ हजार १ सय ६८ जनाले मृत्युवरण गर्न बाध्य भएका थिए भने ३४ हजार ६ सय २८ जना अंगभंगसहित गम्भिर प्रकृतिको घाइते भएका थिए । यस्तै, १ लाख १६ हजार ७ सय ५९ जना सामान्य घाइते भएका थिए ।

गत आर्थिक बर्ष २०८०/८१ मा मात्रै २२ हजार ९ सय २७ वटा सवारीका दुर्घटना भएको थियो । जसमा २ हजार ३ सय ६९ जनाको मृत्यु भएको थियो भने ६ हजार १ सय ६० जना गम्भिर घाइते भएका थिए । त्यस्तै २५ हजार ९ सय ९६ जना सामान्य घाइते भएका थिए ।

यस्तै, आर्थिक बर्ष २०७९/८० मा २३ हजार ५ सय ९७ सवारी दुर्घटनामा २ हजार ३ सय ७६ जनाको मृत्यु भएको थियो भने ५ हजार ७ सय ३८ जना गम्भिर घाइते भएका थिए । त्यस्तै यी दुर्घटनामा २४ हजार ४ सय ८८ जना सामान्य घाइते भएका थिए ।

आर्थिक बर्ष २०७८/७९ मा २४ हजार ५ सय ३७ सवारी दुर्घटनामा २ हजार ८ सय ८३ जनाको मृत्यु भएको थियो भने ७ हजार २ सय ८२ जना गम्भिर घाइते भएका थिए । त्यस्तै, २५ हजार ७ सय २२ जना सामान्य घाइते भएका थिए ।

यसैगरि, आर्थिक बर्ष २०७७/७८ मा २० हजार ६ सय ४० सवारी दुर्घटनामा २ हजार ५ सयजनाको मृत्यु भएको थियो भने ६ हजार ४ सय ४८ जना गम्भिर घाइते भएका थिए । यस्तै, १८ हजार ६ सय सामान्य घाइते भएका थिए ।

आर्थिक बर्ष २०७६/७७ मा १५ हजार ५ सय ५९ सवारी दुर्घटनामा २ हजार २ सय ५१ जनाको मृत्यु, ४ हजार ६ सय २४ जना गम्भिर घाइते र ११ हजार ५ सय ९३ जना सामान्य घाइते भएका थिए ।

त्यस्तै आर्थिक बर्ष २०७५/७६ मा १३ हजार ३ सय ६६ दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु, ४ हजार ३ सय ७६ जना गम्भिर घाइते र १० हजार ३ सय ६० जना सामान्य घाइते भएका थिए ।

दराजमै थन्किन्छ दुर्घटना प्रतिवेदन

पछिल्लो समयमा सडक दुर्घटनासम्बन्धी धेरै अध्ययन भएपनि त्यस्ता अध्ययनले दुर्घटना रोक्न औल्याएका गहन बिषयलाई कार्यान्वयनमा नगरि दराजमै थन्काउने राज्यको प्रवृत्ति भेटिएको छ ।

पछिल्लो समयमा सडक दुघर्टनाको घटना अत्याधिक बढेको भन्दै पूर्व यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वसचिव धनवहादुर तामाङको संयोजकत्वमा एउटा अध्ययन समिति बनाएका थिए । यो समितिले हालसम्म आफ्नो प्रतिवेदन बुझाएको छैन ।

यो समिति गठन हुनु अघि पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले गत माघको पहिलो साता आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

यातायात क्षेत्र र दुर्घटनाको बिषयको बारेमा अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७९ माघ ११ गते पौडेलको संयोजकत्वमा ७ सदस्यीय यातायात सुधार कार्यदल गठन गरेको थियो । यो कार्यदलले सवारी साधनको दुर्घटनाको विषयमा दिएका दर्जनौं सुझावलाई राज्यले कार्यान्वयनमा ल्याउनुको साटो दराजमा थन्काएको छ ।


राजेश बर्मा