सडक दुर्घटनाले हुन्छ वर्षेनी करिब २ खर्बको क्षति

सवारी चालकको कारण साढे ८८ प्रतिशत सडक दुर्घटना: यातायात सुधार सुझाव कार्यदल



काठमाडौं । सडक दुर्घटनाका कारण वर्षेनी करिब २ खर्बको क्षति हुने गरेको छ । सडक दुर्घटनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा ठूलो क्षति गर्दै आएको ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनकाअनुसार निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशतको हाराहारीमा क्षति व्यहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्ष मान्दा उक्त वर्षमा सडक दुर्घटनाको कारण १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति नेपालले व्यहोर्नु परेको थियो ।

दुर्घटनाको कारण उत्पन्न चोटपटकले सबै तहमा आर्थिक असहजता उत्पन्न गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । यसबाट मुख्यगरी व्यक्तिगत उपचार खर्च, रोजगारी र उत्पादकत्वमा ह्रास ल्याउनुका साथै परिवार र आफन्तमा असर र सार्वजनिक सम्पत्तिको क्षति पनि गराउँदै आएको प्रतिवेदनले औंल्याएको छ ।

नयाँ निर्माण भएका कच्ची तथा पक्की सडकहरुमा जथाभावी अस्थायी बाटो इजाजत प्रदान गरिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको ठहर गर्दै प्रतिवेदनले निष्कर्षसहित आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गर्न भौतिक योजना तथा यातायात मन्त्रालयले २०७९ माघ ११ गते पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय यातायात सुधार सुझाव कार्यदल गठन गरेको थियो ।

कार्यदलले समग्र यातायात क्षेत्रलाई सवारी नियमन (दर्ता, नामसारी तथा नवीकरण), सवारी चालक अनुमति पत्र व्यवस्थापन, सार्वजनिक यातायात, बिमा, शहरी सार्वजनिक यातायात, दुर्घटना न्यूनीकरण र प्रदुषण नियन्त्रण लगायत ६ विषयगत क्षेत्रमा विभाजन गरि विषयविज्ञसँग छलफल तथा अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो ।

करिब १ वर्ष लगाएर अध्ययन गरेको कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएर सोमबार यातायात व्यवस्था विभागलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई यो प्रतिवेदन हस्तान्तर गर्दैछ ।

कार्यदलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य (सरोज) प्रसाद सिटौलाले सरकारले लामो समय लगाएर अध्ययन गराएर तयार पारेको प्रतिवेदनको स्वामित्व लिएर सुधारका लागि दिइएको सुझावलाई अक्षरश कार्यान्वनमा ल्याउनुपर्ने बताए ।

‘यो कार्यदलले पहिलोपटक समग्र यातायात क्षेत्र र सवारी नियमनको विषयमा बैज्ञानिक रुपमा अध्ययन गरी प्रतिवेदन बुझाएको छ,’ सिटौलाले भने, ‘प्रतिवेदनको स्वामित्व लिँदै सरकारले यसका सुझावलाई अक्षरश पालना गरे धेरै हदसम्म दुर्घटनाका घटनालाई कम गर्न सक्छौं । पहिलेजस्तै प्रतिवेदनलाई दराजमा थन्काइए फेरि कहिले पनि सुधार हुन्न ।’

कार्यदलले नयाँ निर्माण भएका कच्ची तथा पक्की सडकहरुमा जथाभावी अस्थायी बाटो इजाजत प्रदान गरिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको निष्कर्ष पनि निकालेको छ ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा.पदमबहादुर शाही, यातायातविज्ञ डा. मधुसुधन आचार्य, सूचना तथा सञ्चार प्रविधिविज्ञ विजय गौतम, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि सदस्य रहने र यातायात व्यवस्था विभागको महानिर्देशक सदस्य सचिव रहने गरी सरकारले कार्यदल गठन गरेको थियो ।

कार्यदलले स्थानीय सरकार सञ्चालन ऐन, सवारी तथा यातायात व्यवस्था ऐन, सवारी तथा यातायात व्यवस्था नियमावली, तेश्रो पक्ष बिमा सम्बन्धी नियमावली, सवारी तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, वातावरण संरक्षण ऐन र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनको आधार लिएर अध्ययन गरेको थियो ।

पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र हो । नेपालमा प्रत्येक वर्ष करीव ३ हजार सर्वसाधारणको सवारी दुर्घटनामा परी ज्यान जाने गरको प्रतिवेदनले औल्याएको छ ।

‘प्रत्येक दिन नेपालमा औषत ८ जनाको मुत्यु दुर्घटनावाट भएको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘जुन प्रत्येक दिन एक हेलिकोप्टर दुर्घटना बराबर हुन्छ ।’

सडक दुर्घटनामा सबैभन्दा बढी कम उमेर समूह १५ देखि २९ वर्षसम्मका सर्वसाधारणको ज्यान जाने गरेको दुखद तथ्य पनि प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनामा संलग्न सवारी साधनमा मोटर साइकलको हिस्सा सवैभन्दा धेरै ५०.७२ प्रतिशत छ ।

‘यसले पनि नेपालमा दुर्घटनावाट मृत्यु हुनेमा युवा समुह वढी रहेको पुष्टि गर्दछ’, प्रतिवेदनमा भनिएको छ । नेपालमा बर्षेनी सडक दुर्घटनामा परि घाइते हुनेको संख्या ११ हजारभन्दा माथि छ । यो संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको प्रतिवेदनले औंल्याएको छ ।

‘सडक यातायात दुर्घटनालाई घटाउन सकिन्छ तर शून्यमा झार्न सकिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘विशेष गरी मनिस र मालवस्तु लिएर हिँड्ने सार्वजनिक सवारी साधनको दुर्घटना नियमनकारी निकायको हिसाबले राज्यको प्रत्यक्ष जिम्मेवारीमा पर्दछ ।’

नेपालमा सवारी दुर्घटनाको पछिल्लो ५ वर्षको तथ्यांकलाई नियाल्दा चालकको क्षमता, सवारीको अवस्था र ट्राफिकको नियमको पालना सबैभन्दा महत्त्वपूर्ण कारकको रुपमा देखापरेको कार्यदलले औंल्याएको छ ।

‘खासगरी सवारी चालक इजाजत प्रणालीमा देखिएको अनियमितता र स्तरीयताको अभावले सक्षम र दक्ष चालक उत्पादन हुन सकेको छैन,’ कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘दुर्घटनाको लागि सवारी चालकलाई जिम्मेवार बनाउन सकिएको छैन । जति ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना गरे पनि सवारी चलाउन पाउने अधिकार नखोसिने व्यवस्थाले चालकमा उत्तरदायित्व बोध गराउन सकिएको छैन ।’

पाँच वर्षमा नवीकरणको लागि गरिने स्वास्थ्य परीक्षण खाली परम्परामा मात्र सीमित रहेको ठहर गर्दै कार्यदलले मनोबैज्ञानिक र लागूऔषध जस्ता बस्तुको परीक्षण समावेश नभएको औंल्याएको छ ।

‘निरक्षर मानिसलेसमेत इजाजत पाउने वर्तमान अवस्थामा लेखिएका निर्देशन पढ्न नसक्ने चालकको जमात सिर्जना भएको छ, ठूला सवारी साधनको इजाजत लिन सवारी साधनमा सहायकको रुपमा काम गर्नैपर्ने अवस्थाले गर्दा रोजगारीको अवसर सिर्जना भएपनि शिक्षित जमात यो क्षेत्रमा प्रवेश गर्न नसक्दा दुर्घटनाको घटना बढ्दै गएको हो,’ प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलले दुर्घटना बढ्नुमा सवारीको नियमित परीक्षण नहुने प्रवृतिलाई पनि औंल्याएको छ । यस्तै बाटोको अवस्था अनुसार सवारी साधनको प्रयोग नहुँदा पनि दुर्घटना दिनानुदिन बढ्दै गएको हो । दुर्घटना हुनुमा वा भइसकेको अवस्थामा सवारी साधनको कमशल बडीले पनि क्षतिलाई बढाउने गरेको कार्यदलले उल्लेख गरेको छ ।

तयारी रुपमा बडी बनेर निक्कै कम आउने र नेपालमा बडी तयार गर्ने कारखानाको स्तरीकरण नहुँदा सवारी साधनको बडीको गुणस्तरीयतामा कार्यदलले प्रश्न चिह्न खडा गरेको छ ।

जति लामो दूरीको लागि पनि सवारी साधनको आकार प्रकार नहेरी बाटोको इजाजत दिइएका कारणले चालकमा थकान उत्पन्न भएर दुर्घटनाको सम्भावनालाई बढाएको छ । सडक परीक्षण बिना नै बाटोको इजाजत दिने र इजाजत बिना नै स्थानीयको दबाबमा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा यसले ठूलो दुर्घटना निम्तियाई रहेको कार्यदलले ठहर गरेको छ ।

‘सडकको अवस्था र क्षमता विचार नगरी जथाभावी सवारी साधनलाई बाटो इजाजत दिने वा बिना बाटो इजाजत सञ्चालन गर्दा सडक भत्कने, बिग्रने मात्र नभएर सवारी दुर्घटनाको मात्रालाई पनि बढाएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘नेपालको दुर्घटनास्थलमा घाइतेले दक्ष जनशक्तिबाट उद्दार र उपचार पाउन नसकेका कारण पनि दुर्घटनास्थलमै ज्यान गुमाउनेको संख्या अत्यधिक छ । दुर्घटनास्थलमा दक्ष सेवा सुविधासहितको एम्वुलेन्स उपलब्ध नहुँदा घाइतेहरु बाटोमै मर्ने जोखिमलाई बढाएको छ । यसरी दुर्घटनापछिको व्यवस्थापन प्रभावकारी नहुँदा सुनौलो घण्टामै धेरैले ज्यान गुमाउनु परेको छ ।’

बढ्दो सडक दुर्घटनाका पाँच कारण

सडक दुर्घटनाको प्रमुख ५ वटा कारण छन् । मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम सडक दुर्घटनाको प्रमुख कारण हुन् ।

सडक नजिकै बस्ती निषेध गर्ने नीति निर्माण र कार्यान्वयन नहुँदा सडक पूर्वाधार वरिपरी बाक्लो बस्तीका कारण पनि दुर्घटना निक्कै बढेको छ ।

प्रतिवेदनअनुसार कूल सडक सवारी दुर्घटनामध्ये ८८.३५ प्रतिशत सबारी चालकको कारणले दुर्घटना हुने गरेको छ । यस्तै २.५९ प्रतिशत सवारी साधनको कारणले दुर्घटना निम्तिन्छ । यात्रुको कारणले ४.२० प्रतिशत, सडक अवस्थाका कारण ४.१२ प्रतिशत र मौसमको कारणले ०.७४ प्रतिशत दुर्घटनाका घटना निम्तिने प्रतिवेदनले उल्लेख गरेको छ ।

मानवीय कारणमा चालकको ज्ञान सीप र क्षमता, शारीरिक र मानसिक अवस्था, पैदल यात्रुको सजगता जस्ता विषय पर्छन् । यान्त्रिकमा सवारी साधनको अवस्था (आकार, प्रकार, यन्त्र, ब्रेक, हर्न, बडी आदि) र भारवहन क्षमता, सवारीको गति महत्त्वपूर्ण हुन्छन् ।

यस्तै सडकको अवस्थामा सडकको भौतिक अवस्था, सडक संकेत र बारहरू, सडकको अन्य प्रयोग, चौपायाको उपस्थिति र मानिससँग सडकको अन्तरक्रियाका कारणले पनि दुर्घटना बढ्ने र घट्ने गरेको छ ।

खास गरी दृश्यावलोकनको अवस्था उज्यालो, अध्यारो, पानी परेको वा नपरेको, कुहिरो लागेको, नलागेको, बाढी पहिरो आदि पनि दुर्घटनाका कारणमा पर्छन् ।

साथै, अन्य सवारी साधनको उपस्थिति, गति, जाम, ट्राफिक अनुशासनको पालना, निगरानी वा ट्राफिक प्रहरीको उपस्थितिले पनि दुर्घटनालाई प्रभावित गर्ने गरेको प्रतिवेदनले औल्याएको छ ।

दुर्घटनापछिको राहत, उद्धार तथा घाइतेको उपचार र मृतकको क्षतिपूर्तिले पनि दुर्घटनाको असरलाई बढाउने घटाउने गरेको प्रतिवेदनको ठम्याइ छ ।

दुर्घटनामा मानवीय कारण

सवारी दुर्घटनामा सवारी चालकको अवस्था एउटा प्रमुख र महत्त्वपूर्ण कारण हुन्छ । सवारी चालकको शारीरिक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र सवारी चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सरोकार राखेको हुन्छ ।

थकित, कमजोर, शारीरिक कमी कमजोरीका साथै मानसिक तनावमा भएको, छिट्टै आवेशमा आउने, मादक पदार्थ वा लागूऔषधको प्रयोगले सवारी चालकमा मानवीय कमजोरीको सम्भावनालाई बढाउँछ । यसले गर्दा दुर्घटना निम्तिन्छ ।

चालकको सडक अनुशासन सवारी दुर्घटनासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताउदै प्रतिवेदनले सडकमा सवारी चालकको अनुशासनहीनताले पनि दुर्घटना निम्त्याएको उल्लेख गरेको छ । दक्ष र सिपालु चालकबाट सवारी दुर्घटनाको सम्भावना कम हुन्छ भने कम दक्ष र कमसल सीप भएको चालकबाट सवारी दुर्घटनाको सम्भावना पनि अत्यधिक भएको औल्याइएको छ ।

दुर्घटनामा सवारी साधनको कारण

सवारी साधनको यान्त्रिक अवस्था साधनको सञ्चालनमा महत्वपूर्ण पक्ष मानिन्छ । सवारी साधनको ब्रेक, हर्न, इन्जिन, बडी, बत्ती र बनौटको अवस्थाले पनि सवारी दुर्घटनालाई बढाउने वा घटाउने भुमिका सहयोग गरेको हुन्छ । ब्रेकले काम गरेन भने सवारीमा चालकको नियन्त्रण रहँदैन । त्यसैले ब्रेकले काम नगरेको अवस्थामा सवारी दुर्घटनाको सम्भावना असाध्यै बढ्छ ।

सवारी साधनको इन्जिन ठीक अवस्थामा नहँुदा सवारीको सन्तुलन बिग्रेर पनि दुर्घटना निम्तिन्छ । सवारीको गतिविधिको संकेत दिने र रातिको समयमा सवारी सञ्चालनमा सहयोग गर्ने बत्तीको अवस्था ठीक नहुँदा पनि दुर्घटनाको सम्भावना बढ्छ । यस्तो अवस्थामा सवारी साधनबाट अरू सडक प्रयोगकर्तालाई क्षति पुग्ने सम्भावना पनि त्यतिकै हुन्छ ।

सवारी साधनको बडी निर्माणमा प्रयोग गरिने सामानहरु गुणस्तरीय र बाक्लो नहुँदा पनि सवारी साधनको दुर्घटनामा क्षतिको मात्रा बढ्ने सम्भावना भएको प्रतिवेदनले औल्याएको छ ।

‘बडी बनाउँदा प्रयोग भएका सामग्री उपयुक्त किसिमका छन् र बडी पनि बलियो छ भने सवारी साधनभित्रका यात्रुलाई कम क्षति पुरयाउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा अधिकांश सार्वजनिक सवारी साधनको बडी बनाउने काम छुट्टै र घरेलु रूपमा गरिन्छ । यसले गर्दा सवारी साधनको फ्रेमअनुसारको प्राविधिक चेक जाँच गरी सन्तुलन मिलाएर बडीको निर्माण हुने सम्भावना निक्कै कम छ ।’

बडी र फ्रेमबीच सन्तुलन नमिलेको अवस्थामा चालकको नियन्त्रण असन्तुलन बन्दा सवारी दुर्घटनाको सम्भावना अत्यधिक बढ्छ ।

दुर्घटनामा सडकको अवस्था

सडकको अवस्था र सडक निर्माणमा प्रयोग भएको प्रविधिले दुर्घटना बढाउने वा घटाउने हुन्छ । सडकको भौतिक अवस्था, चढाई र ओरालो वा भिरालो अवस्था, मोडहरूको अवस्था, मोडमा लामो दूरीसम्म प्रस्ट रुपमा सडक नदेखिनुजस्ता कारणले पनि दुर्घटना निम्तने गरेको छ ।

सवारी दुर्घटना कम गर्न अवलम्बन गरिएका उपाय, ट्राफिक संकेतको प्रयोगकमा कारण दुर्घटनालाई न्युनीकरण गर्न सकिन्छ । नियमित मर्मत सम्भार नभएका, साँघुरा, लामा लामा मोड, तिखा उकालो र ओरालो भएका, भर्खर भर्खर ट्रयाक खोलेर स्थीर नभएका सडक र दुर्घटना हुने सम्भावित ठाउँहरूमा सुरक्षाका उपाय अवलम्बन नगरिएका कारण सवारी दुर्घटना अत्याधिक हुने गरेको प्रतिवेदनको ठहर छ ।

यस्तै उपयुक्त स्थानमा उपयुक्त किसिमबाट सवारी संकेतहरूको प्रयोग सवारी दुर्घटनासँग सम्बन्धित हुन्छ । सडक निर्माणको लागि प्रयुक्त प्रविधिले स्थानीय भावना, जनसंख्याको बसोबास र रहनसहनसँग तादाम्यता राखेन भने पनि सडक असुरक्षा बढ्न जाने कार्यदलले उल्लेख गरेको छ ।

दुर्घटनामा सडक प्रयोगकर्ताको भूमिका

सडक पेटी सडकको अभिन्न अंग भएपनि कम विकसित मुलुकका अधिकांश सडकमा पेटी निर्माण गरिएको हुँदैन । कम विकसित मुलुकका मानिसमा जानेर वा नजानेर पनि सडक अनुशासनको पालना गर्ने प्रवृत्ति कम हुन्छ । एकातिर सडक अतिक्रमण गरी गतिविधि सञ्चालन गर्ने र अर्कोतिर सडक अनुशासनको पालनामा ध्यान नदिने प्रवृत्तिले गर्दा कम विकसित मुलुकको सडक सुरक्षा कमजोर भएको पाइन्छ ।

विकसित मुलुकमा सवारी दुर्घटनाको कारण धेरैजसो अवस्थामा सवारी साधनमा सवारलाई क्षति पुगेको देखिन्छ भने नेपाल जस्तो कम विकसित मुलुकमा गैरसवारी साधन प्रयोगकर्तालाई पनि प्रशस्त क्षति पुगेको देखिन्छ ।

दुर्घटनामा मौसमको प्रभाव
नेपाल निक्कै बढि भौगोलिक विषमता भएको मुलुक हो । भौगोलिक विषमताले मौसममा पनि विविधता ल्याउँछ । उज्यालोको मात्राले सवारीको गतिलाई सिधै नियन्त्रण गर्दछ ।

त्यस्तै कुहिरो, बादल, पानी, बाढी, पहिरो आदिले पनि सवारी दुर्घटनालाई नियन्त्रण गरिरहेको हुन्छ । विशेष गरी पहाडी क्षेत्रका कच्ची बाटोमा पानी, बाढी, पहिरोले गुड्ने सवारी साधनको गति र सन्तुलनलाई प्रत्यक्ष रुपमा असर पुर्याउने गर्छ । आकस्मिक पहिरोलगायतका प्रकोपले पनि दुर्घटना निम्त्याउन सक्दछ । प्रतिकूल मौसममा सवारी चलाउने कार्य सदैव असजिलो र जोखिमयुक्त हुन्छ ।

दुर्घटनापछिको व्यवस्थापन

उच्च आय भएको मुलुकको तुलनामा कम आय भएका मुलुकमा दुर्घटना स्थलबाट अस्पतालसम्म पु¥याउँदासम्म दोब्बर संख्यामा सर्वसाधारणको मृत्यु हुने गरेको प्रतिवेदनले औल्याएको छ । दुर्घटना हुँदा पहिलो सुनौलो घण्टामा (तुरुन्तै) २० प्रतिशत घाइते घटनास्थलमा ज्यान गुमाउन पुग्छन् । २० प्रतिशत कमसल उपचारको कारणले र ६० प्रतिशत स्थानान्तरणको बेला ज्यान गुमाउन पुग्ने पनि कार्यदलको ठहर छ ।

‘त्यसकारण आकस्मिक उपचार सेवा दुर्घटना भइसकेपछि गरिने मुख्य गतिविधि हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा अत्यावश्यक प्रभावकारी सेवा उपलब्ध गराउनका लागि घाइतेको तत्कालै उद्दार गरी संवेदनशिल रुपमा उपचार गर्नुपर्छ । आकस्मिक सेवालाई सक्रिय बनाउनेदेखि लिएर दुर्घटना स्थलमा गरिएको सेवा, स्थानान्तरण र अस्पतालको बेडमा राखेर पु¥याउने आकस्मिक सेवासम्मको निरन्तरता आवश्यक हुन्छ ।’

‘दुर्घटनापछि घाइतेलाई जोगाउन विशेष गरी आकस्मिक सेवालाई सक्रिय पार्न देशैभरको लागि उपयुक्त, सजिलो र पैसा नलाग्ने एउटै टेलिफोन नम्बर आवश्यक छ,’ प्रतिवेदनले भनेको छ, ‘त्यसैगरी अस्पताल पु¥याउनुअघि घटनास्थलमा प्रभावकारी सेवा पु¥याउनको लागि एम्बुलेन्स, दक्ष कर्मचारी र दुर्घटनाको उपचारमा दक्षता भएको जनशक्ति सम्पन्न अस्पतालसम्म पु¥याउने व्यवस्था महत्वपूर्ण हुन्छ ।’

यो समितिको अध्ययन प्रतिवेदन नबुझ्दै सडक दुघर्टना अत्यधिक बढेको भन्दै वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वसचिव धनवहादुर तामाङको संयोजकत्वमा अर्को समिति पनि बनाएका छन् । अध्ययनका लागि नयाँ समितिलाई मन्त्रालयले १ महिनाको अवधि तोकेको छ ।


राजेश बर्मा