
काठमाडौं । पछिल्लो केही वर्ष यता बैंकको ब्याजदर न्यून अवस्थामा रहँदा बिमा कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारमा पनि लगानीको पाटो खुला गरिनुपर्ने विषय उठाउँदै आएका छन् । पूर्वाधार बन्डहरु पनि नभएको अवस्थामा बिमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न पाउँदा लगानीको प्रतिफल बढ्ने तथा अनुभव पनि प्राप्त हुने भएकाले सो बाटो खुला गरिनुपर्ने विषय बिमकहरुले नियामक निकायसँग उठाउँदै आएका हुन् ।
करिब ८० प्रतिशत हाराहारी लगानी बैंक तथा वित्तीय संस्थामा गरेका बिमा कम्पनी हाल आम्दानीका हिसाबमा संकुचित बन्दै गइरहेका छन् । बैंकको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा बिमा कम्पनीले निक्षेपमार्फत् प्राप्त गर्ने प्रतिफल संकुचित बनेको छ भने अर्कोतर्फ, न्यून ब्याजदरमा समेत निक्षेप राख्न कठिनाइ झेल्नुपरेको छ ।
अर्थात्, अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेकाले बिमा कम्पनीको ठूलो रकम स्वीकार गर्न बैंकहरु हिचकिचाउने गर्दछन् । जसकारण बिमा कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारमा पनि केही प्रतिशत हिस्सा लगानी गर्न पाउनुपर्ने विषय उठाएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली देशभित्र लङटर्मका लागि लगानी गर्ने पूर्वाधार परियोजनाहरू पर्याप्त नहुँदा बिमा कम्पनीलाई केही प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न पाउने व्यवस्था गर्दा उचित हुने बताउँछन् ।
‘अन्तर्राष्ट्रिय बजारमा लगानी गर्ने इच्छा नभएको होइन । तर, अहिलेको नीतिले त्यसलाई अनुमति दिँदैन । केही प्रतिशत भए पनि खुला गरिदिनका लागि मौद्रिक नीतिमा पनि सुझाव दिँदै आएका छौं,’ पराजुली भन्छन्, ‘देशभित्र लङ टर्म लगानी गर्ने पूर्वाधार परियोजनाहरू पर्याप्त छैनन् । डेभलपमेन्ट बोन्ड पनि जारी भएको छैन । यस्तो अवस्थामा फन्डको ‘ओभरफ्लो’ होइन ‘युटिलाइजेसन कम भएर’ समस्या आएको छ ।’
उनले यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा बिमा कम्पनीले लगानी गर्न पाउने बाटो खोलिदिनुपर्ने देखिएको बताए । ‘अहिले राज्यलाई फन्ड प्रयोग गर्न नसकेर बाहिर खोल्नुपर्छ भन्ने अवस्था आएको छ,’ पराजुली भन्छन्, ‘सीमित रुपमा केही प्रतशत लगानी बाहिर गर्न पाउनेगरी बाटो खुला गर्ने हो भने लगानीका लागि अनुभव र वैकल्पिक औजार पनि हुन्छ ।’ उनले, अन्तर्राष्ट्रिय बजारमा लगानी गर्दा बाहिर काम गर्ने अनुभव मिल्ने र बिमा कम्पनीलाई वैकल्पिक लगानीको क्षेत्र पनि पहिचान हुने बताए ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा १४ निर्जीवन बिमा कम्पनीको नाफा करिब २९ प्रतिशतले खुम्चिएको थियो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ नाफा कमाएका निर्जीवन बिमकको नाफा गत आर्थिक वर्षमा २८.९२ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ३ लाख रुपैयाँमा मात्रै सीमित भएको तथ्यांक छ ।
यस्तै, अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ नाफा गरेका १४ जीवन बिमा कम्पनीको नाफा पनि गत आर्थिक वर्षमा १६.२४ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँमा मात्रै सीमित भयो । ब्याजदर न्यून हुँदा त्यसको असर आम्दानीमा देखिएदेखि नै बिमा कम्पनीले लगानी विविधिकरणको विषयलाई थप उठाइरहेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे कुल लगानीको १० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न पाउने व्यवस्था गरिदिएमा पनि सहज हुने बताउँछन् ।
‘अहिले बैंकको ब्याजदर न्यून छ भने बैंकहरूले बिमा कम्पनीको रकम मुद्दती निक्षेपमा लिन मानिरहेका छैनन्,’ उनले क्लिकमान्डुसँग भने, ‘अन्य क्षेत्रमा लगानी गर्ने अवसर पनि खासै छैन । त्यसैले हामीले वैकल्पिक उपायको रूपमा १० प्रतिशतसम्म रकम बाहिरी मुलुकमा लगानी गर्न दिने व्यवस्था गर्न आग्रह गरेका छौं ।’
गत आवमा मात्रै होइन, बिमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बिमा कम्पनीको नाफामा सामान्य वृद्धि भए पनि निर्जीवन बिमा कम्पनीहरु भने नोक्सानीमा धकेलिएको तथ्यांक छ । पहिलो त्रैमासमा १४ जीवन बिमा कम्पनीले कुल १ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो ।
चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन बिमा कम्पनीमा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीको नाफा ऋणात्मक छ । समिक्षा अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशतले नाफा वृद्धि गर्दै ६ करोड ३१ लाख रुपैयाँ कमाएको छ ।
यसका अलावा गत आवको पहिलो त्रैमासमा १८ करोड ३ लाख घाटा बेहोरेको नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । बाँकी सबै कम्पनीको नाफामा भने गिरावट आएको दखिन्छ ।
एकातर्फ, बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर न्यून हुँदा प्रतिफल कम प्राप्त गरिरहेका निर्जीवन बिमा कम्पनीले जेनजी प्रदर्शन, बाढी पहिरो लगायतबाट भएको क्षतिको दाबी भुक्तानी ठूलो मात्रामा गर्नुपर्दा नाफामा त्यसको असर देखिएको हो । यसरी, मुख्यगरी बैंकको ब्याजदर न्यून हुँदाको असर समग्र जीवन तथा निर्जीवन बिमा कम्पनीको नाफा देखिन थालेपछि बिमकहरुले लगानीको विकल्पमा लबिङ गरिरहेका हुन् ।
युनाइटेड अजोड इन्स्योरेन्सका नायब–प्रमुख कार्यकारी अधिकृत (डी–सीईओ) रेना रिजाल बिमा क्षेत्रमा लगानी विविधिकरणको अपरिहार्यता बढ्दै गएको बताउँछिन् । ‘बैंकको ब्याजदर घटेपछि बिमा कम्पनीको प्रतिफल संकुचित बनेको छ भने त्यसका विकल्पमा लगानी गर्ने अन्य क्षेत्र पनि सीमित छन्,’ रिजालले भनिन्, ‘त्यसैले लगानीको वैकल्पीक बाटो भने खोज्ने बेला आएको छ ।’ उनले, निर्जीवन बिमा कम्पनीमा त झन् जेनजी प्रदर्शन, बाढीपहिरो जस्ता कारणले दाबी बढेकोले पनि थप बढी समस्या भएको बताइन् ।
बैंकको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा बिमा कम्पनीले निक्षेपमार्फत् प्राप्त गर्ने प्रतिफल संकुचित बनेको छ भने अर्कोतर्फ, न्यून ब्याजदरमा समेत निक्षेप राख्न कठिनाइ झेल्नुपरेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेका कारणले बिमा कम्पनीको ठूलो रकम स्वीकार गर्न बैंकहरु हिचकिचाउने गर्छन् ।
ब्याजदर घट्दा गत आर्थिक वर्षमै नाफामै धक्का बेहोरेका बिमा कम्पनीहरू अहिले पनि ब्याजदर उकालो नलागेपछि झनै तनावमा परेका हुन् । नेपालका अधिकांश बिमा कम्पनीहरूले आफ्ना लगानीको ठुलो हिस्सा बैंकको मुद्दती निक्षेपमा केन्द्रीत हुँदै आएका थिए।
चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म निर्जीवन बिमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बिमकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै ४७ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बिमा कम्पनीहरुले असोज मसान्तसम्म क वर्गका बैंकहरुमा ४१ अर्ब ५६ करोड रुपैयाँ, ख वर्गका बैंकमा ४ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।
यसैगरी निर्जीवन बिमकले सरकारी बचतपत्र तथा ऋणपत्रमा ८२ करोड २६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब १६ करोड २ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ७७ करोड ७ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् ।
नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १४ करोड २१ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा पनि निर्जीवन बिमकले १ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २९ करोड ५२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ८५ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बिमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।
जीवन बिमकले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी गरेकामा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् । विकास बैंकहरुको मुद्दति निक्षेपमा ४६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ भने फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी छ ।
जीवन बिमा कम्पनीहरुले घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन् ।
जीवन बिमकले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गर्दा नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ लगानी भएकोे छ ।
चालु आवको तीन महिनाको अवधिमा इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ, अन्य लगानी १२ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ लगानी रहेको प्राधिकरणको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा मात्रै बिमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ८४ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म बिमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब २३ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ लगानी गरेका थिए ।








प्रतिक्रिया