निक्षेप लिन बैंकको आनाकानीले बिमा कम्पनी समस्यामा, १०% लगानी बाहिर लैजान अनुमति माग

1.6k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी सीमित गर्दै आएका बिमा कम्पनी अहिले तनाबमा फसेका छन् ।

बैंकको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा बिमा कम्पनीले निक्षेपमार्फत् प्राप्त गर्ने प्रतिफल संकुचित बनेको छ भने अर्कोतर्फ, न्यून ब्याजदरमा समेत निक्षेप राख्न कठिनाइ झेल्नुपरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेका कारणले बिमा कम्पनीको ठूलो रकम स्वीकार गर्न बैंकहरु हिचकिचाउने गर्छन् । ब्याजदर घट्दा गत आर्थिक वर्षमै नाफामै धक्का बेहोरेका बिमा कम्पनीहरू अहिले पनि ब्याजदर उकालो नलागेपछि झनै तनावमा परेका हुन् । नेपालका अधिकांश बिमा कम्पनीहरूले आफ्ना लगानीको ठुलो हिस्सा बैंकको मुद्दती निक्षेपमा केन्द्रीत हुँदै आएका थिए ।

तर, पछिल्लो समयमा यस्तो लगानी नाफा कायम राख्न पर्याप्त नहुँदा कम्पनीहरू नयाँ विकल्प खोज्न बाध्य भएका छन् । यसले बिमा क्षेत्रमा लगानी विविधिकरणको अपरिहार्यता थप तीव्र बनाएको छ । एक जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार अहिले ब्याजदर घट्नु मात्र समस्या होइन, बैंकहरूले निक्षेप लिन पनि अनिच्छा देखाउन थालेका छन् ।

‘अहिले बैंकको ब्याजदर न्यून त छँदैछ, त्यसमाथि बैंकहरूले बिमा कम्पनीको रकम मुद्दती निक्षेपमा लिन मानिरहेका छैनन्,’ उनले क्लिकमान्डुसँग भने, ‘अन्य क्षेत्रमा लगानी गर्ने अवसर पनि खासै छैन । त्यसैले हामीले वैकल्पिक उपायको रूपमा १० प्रतिशतसम्म रकम बाहिरी मुलुकमा लगानी गर्न दिने व्यवस्था गर्न आग्रह गरेका छौं ।’

उनका अनुसार घरजग्गा, सेयर बजार र अन्य केही सीमित क्षेत्रमा पनि लगानीको अवस्था नरहेकाले बिमा कम्पनीले सीमित अंश विदेशमा लगानी गर्न पाउने व्यवस्था व्यावहारिक हुने धारणा बताए । ‘मान्न त नमान्लान्, तर, पनि यो प्रस्ताव हामीले राखेका छौं,’ ती सीईओले भने, बिमा कम्पनीहरुले सरकारका बचतपत्र तथा ऋणपत्र, घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, सूचीकृत कम्पनीले जारी गर्ने बन्ड, डिबेन्चर ऋणपत्रमा लगानी गर्न पाउँने व्यवस्था नेपाल बिमा प्राधिकरणले गरेको छ ।

यस्तै, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत् उद्योग, सौर्य उर्जा, केवलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्थास्थ्य क्षेत्रमा लगानी गर्ने बाटो बिमा कम्पनीका साथै, नागरिक लगानी कोष म्युचअल फन्ड, इन्भेस्टमेन्ट कम्पनीको सेयर, संस्थापक सेयर जस्ता क्षेत्रमा पनि बिमा कम्पनीले लगानी गर्न पाउने नीतिगत व्यवस्था छ ।

यद्यपि, बिमा कम्पनीले भने आफ्नो अधिकांश हिस्सा निक्षेपमा नै केन्द्रीत गर्दै आएका थिए । तर, बैंकहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकमा राख्दै आएको बैंकरुको पैसा ८ खर्ब रूपैयाँ माथि पुगिसकेको छ । मंगलबार सम्मको तथ्यांक हेर्दा नेपाल राष्ट्र बैंकमा बैंकहरुले रखेको रकम ८ खर्ब ९ अर्ब रूपैयाँ पुगेको छ ।

बैंकहरूले निक्षेप संकलन उपकरणमार्फत् १ खर्ब ७० अर्ब रूपैयाँ र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब ३९ अर्ब रूपैयाँ राखेका राष्ट्र बैंकमा राखेका छन् । बैंकहरुले केन्द्रीय बैंकमा निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदरमा पैसा राखेका छन् । ३९ बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा पनि तीन दिनको लागि तीन प्रतिशत ब्याजदरमा रकम राखेका छन् ।

अहिले बैंकिङ प्रणालीमा १० खर्ब ९६ अर्ब हाराहारी रकम (तरलता) रहेको छ । गत असोज २९ गतेसम्म बैंकहरूको निक्षेप ७४ खर्ब ८२ अर्ब र कर्जा लगानी ५६ खर्ब ३७ अर्ब रूपैयाँ रहेको थियो । यसरी, लामो समयदेखि बैंकिङ प्रणालीबाट अपेक्षित दरमा कर्जा जान नसके पछि बिमा कम्पनीहरुको लगानी राख्न बैंकहरु हिचकिचाइरहेका हुन् ।

यहि, कारण अहिले लगानी विविधिकरणको विकल्प खोज्नुपर्ने बाध्यता सिर्जना भएको एक निर्जीवन बिमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत (डी–सीईओ)ले बताइन् । ‘बैंकको ब्याजदर घटेको छ, तर लगानीका अन्य क्षेत्रहरूमा बिमा कम्पनीका लागि खास विकल्प छैन,’ उनले भने, ‘त्यसैले अब वैकल्पिक लगानी खोज्नैपर्ने अवस्था आएको छ।’

उनका अनुसार अहिले निर्जीवन बिमा कम्पनीहरू त झन् दोहोरो दबाबमा छन् । एकातर्फ ब्याजदर घट्दा लगानीमा प्रतिफल घटेको छ भने अर्कातर्फ जेनजी प्रदर्शन, बाढी, पहिरो र प्राकृतिक विपद्का कारण निर्जीवन बिमा कम्पनीमा ठूलो दाबी भुक्तानी गर्नुपर्ने अवस्था छ। ‘हाल हामी लगानीभन्दा बढी दाबी भुक्तानीमा केन्द्रित हुन बाध्य भएका छौं,’ उनले भने, ‘तथापि, लगानीको क्षेत्र भने बढाउनुपर्ने स्थिति आइसकेको छ ।’

उनले अहिले निर्जीवन बिमा कम्पनी समस्यामा परेको बताउँदै लगानीमा भन्दा पनि दाबी भुक्तानीमा नै कम्पनीले जोड दिइरहेको उल्लेख गरे । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जीवन बिमा कम्पनीले विभिन्न क्षेत्रमा कुल ७ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, यस अवधिमा जीवन बिमा कम्पनीहरुले भने ६७ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको तथ्यांक प्राधिकरणसँग छ । यस अवधिमा लघु जीवन बिमा कम्पनीले २ अर्ब ३० करोड रुपैयाँ र लघु निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये, अधिकांश लगानी भने बैंक तथा वित्तीय संस्थाको निक्षेपमै रहेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गरेको लगानी मुद्दती निक्षेपमै बढी केन्द्रीत भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ सम्म जीवन बिमा कम्पनीहरुले २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ कुल लगानी गरेका थिए, जुन बेला कुल लगानीको ८२.५३ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब ९४ करोड लगानी मुद्दती निक्षेपमा भएको थियो ।

त्यसबाट अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा जीवन बिमा कम्पनीको कुल लगानी बढेर ६ खर्ब ४३ अर्ब २७ करोड पुगेको छ । तर, लगानीको क्षेत्रमा भने खासै परिवर्तन आएको देखिँदैन । आर्थिक वर्ष २०८०/८१ मा जीवन बिमा कम्पनीहरुले कुल लगानीको ८१.०५ प्रतिशत अर्थात् ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगेर थन्क्याएका तथ्यांक छ जुन क्रमले गत वर्ष पनि निरन्तरता पाएको थियो ।

जीवन बिमाको हकमा मात्रै नभएर निर्जीवन बिमा कम्पनीतर्फको स्थिति पनि उस्तै देखिन्छ । निर्जीवन बिमा कम्पनीहरुको अधिकांश लगानी पनि मुद्दती निक्षेपमै सीमित हुने गरेको छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ सम्ममा ४२ अर्ब ९७ करोड रुपैयाँ कुल लगानी गरेका थिए ।

जसको ८१.२४ प्रतिशत अर्थात् ३४ अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी भएको थियो । त्यसबाट आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा निर्जीवन बिमा कम्पनीको कुल लगानी ६६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । उक्त कुल लगानीको ७९.२५ प्रतिशत अर्थात् ५२ अर्ब ७२ करोड रुपैयाँ निक्षेपमा लगानी भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्दा पनि बिमा कम्पनीको लगानी यसरी नै निक्षेपमै बढी गएको देखिन्छ । ब्याजदर न्यून भई प्रतिफल कम हुँदा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा १४ निर्जीवन बिमा कम्पनीको नाफा करिब २९ प्रतिशतले खुम्चिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ नाफा कमाएका निर्जीवन बिमकको नाफा गत आर्थिक वर्षमा २८.९२ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ३ लाख रुपैयाँमा मात्रै सीमित भएको तथ्यांक छ ।

यस्तै, अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ नाफा गरेका १४ जीवन बिमा कम्पनीको नाफा पनि गत आर्थिक वर्षमा १६.२४ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँमा मात्रै सीमित भयो । गत आर्थिक वर्षको असोजमा परेको भारी वर्षापछि बाढी र पहिरोका कारण भएको क्षतिको दाबी भुक्तानीमा निर्जीवन बिमा कम्पनीले ठुलो रकम खर्च गर्दा त्यसको असर निर्जीवन बिमा कम्पनीको नाफामा केही हदसम्म देखिन पुग्यो ।

यद्यपि, मुख्यगरी बैंकको ब्याजदर न्यून हुँदाको असर समग्र जीवन तथा निर्जीवन बिमा कम्पनीको नाफा देखिन पुग्यो । यहि, कारण बिमा कम्पनीमा लगानी विविधिकरणमा जानुपर्ने दबाब सिर्जना भएको हो । लामो समयदेखि ब्याजदर न्यून हुँदा र तत्कालै बढ्ने छाँटकाँट नदेखिँदा बिमा कम्पनीमा लगानीको क्षेत्र परिवर्तन आवश्यक देखिसकेको छ ।