
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ५५ व्यक्ति र एक चिनियाँ कम्पनी गरि ५६ लाई प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले आरोप पत्रमा थप तीनवटा विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने जनाएको छ ।
‘फरक फरक प्रकृतिका र फरक फरक समय अवधिका वारदात फरक फरक निर्णयकर्ता भएकोले ती विविध विषयका मुद्दा एउटै आरोपदावीमा समावेश गरी ल्याएको आरोप दावी प्रचलित कानूनको भावना अनुकूल रहेको नदेखिँदा अबदेखि भविष्यमा प्रचलित कानुनी व्यवस्था अनुरुप वारदातको प्रकृति, वारदातको मिति, विषयवस्तु र संलग्न व्यक्तिहरु भिन्न भिन्न भएमा भिन्नाभिन्नै आरोपदावी ल्याउन आयोगको ध्यानाकर्षण गराइएको छ’ भनी विशेष अदालत काठमाडौबाट मुद्दा नं. ०७४-सीआर-०१६७ मा फैसला भएको हुँदा प्रस्तुत मुद्दाका फरक फरक प्रकृतिका र फरक फरक समय अवधिका वारदात फरक फरक निर्णयकर्ता भएको निम्नानुसारका विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने गरी आयोगबाट निर्णय भएको,’ अख्तियारले दायर गरेको मुद्दाको चार्जशीटमा उल्लेख गरिएको छ ।
अख्तियारले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने जनाएको छ ।
त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन सबै सुविधा/पूर्वाधारहरू निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको हुने व्यवस्था रहेकोमा छिनेडाँडा/रिट्टेपानी डाँडा कटानको लागि सम्झौता विपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिई भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।
त्यस्तै नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच भएको सम्झौताको आइटम नम्बर १.२ मा समावेश २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।







प्रतिक्रिया