पोखरा एयरपोर्ट बनाउँदा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्का मिलेमतोमा

1.9k
Shares

काठमाडौं । पोखरा एयरपोर्ट बनाउँदा नाममा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्कामा मिलेमतो भएको महालेखा परीक्षकको कार्यालले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले औल्याएको छ ।

डाँडा काट्दा निर्माण कार्यको लागि बोलपत्र पेस गर्ने १० बोलपत्रदाता मध्ये ९ को करचुक्ता प्रमाणपत्र र बिड बण्ड भेलिडिटी नदेखिएको उल्लेख गरी एक बोलपत्रदातासँग २०७९ कार्तिक २५ मा लागत अनुमानको हाराहारी (०.०९ प्रतिशत न्यूनमा) मा ठेक्का सम्झौता गरेको उल्लेख छ ।

उक्त ठेक्कामा ४ लाख २० हजार ४२८ घनमिटर माटो काट्ने र बिसर्जन गर्ने कार्यको लागि निर्माण व्यवसायीले रु. २९ करोड ६९ लाख कबोल गरेकोमा रु. २९ करोड ५४ लाख ( ९९.४९ प्रतिशत ) भुक्तानी भएको छ ।

पोखरा महानगरपालिका, २६ नं. वडा कार्यालयको २०७५ पुस १८ को पत्रानुसार रिठ्ठेपानी डाँडाका बासिन्दाहरू आफैँले उक्त डाँडाको माटो काट्न अनुमति मागेको उल्लेख छ । पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले कटान गर्नुपर्ने कुल परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको स्पष्ट अभिलेख छैन। सो बेगर उक्त माटो काट्नका लागि आयोजनाले ठेक्का सम्झौता गरी खर्च लेखेको छ।

चीन सरकारको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको लागि तयार गरिएको फ्लाइट प्रोसिड्योर डिजाइनमा रनवेको अबस्ट्याकल हटाउन पूर्वतर्फ १.५ किलोमिटरमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त कार्यको लागि रु.३२ करोड ६८ लाखको लागत अनुमान तयार गरी एक संयुक्त उपक्रमसँग रु. ३२ करोड ३० लाखको सम्झौता गरेको पाइयो । गतवर्षसम्म रु. २८ करोड ७९ लाख समेत अन्तिम बिलसम्म रु. ३२ करोड २७ लाख भुक्तानी भएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

यही विमानस्थलसँगै डाँडा कटानमा अनियमितता भएको प्रतिवेदन लेखा समितिले समेत तयार पारेको छ । लेखा समिति अन्तर्गतको एक उपसमितले तयार पारेको प्रतिवेदनमा पोखरा विमानस्थल निमार्ण गर्दा अनियमितता करिब १० अर्ब भएको दाबी गरेको छ । लेखा समितिले पाेखरा विमानस्थलकै निर्माणका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।