पोखरा विमानस्थल डुब्ने गरि धावनमार्ग धसाइयो, कमिसनका लागि ४० मिटर डाँडा काटियो



काठमाडौं । सरकारले चिनियाँ ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ-नयाँ भ्रष्टाचारका काण्डहरु एकपछि अर्को उद्घाटित भइरहेका छन् ।

सरकारले करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको यो विमानस्थल बनाउँदा अर्को अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । तर यसरी रनवे धसाएकै कारण विमानस्थल क्षेत्र होचो भएको र त्यसले रनवे डुबानमा पर्ने गरी जोखिमा पारिएको छ ।

यो विमानस्थल बनाउँदा एकातर्फ रनवे धसाएर विमानस्थल डुबानमा पर्ने जोखिम रहेको छ भने अर्कोतर्फ ४० मिटरको डाँडा काटिएको छ। जसका कारण जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चर बनाउँदै गरेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने अवस्था बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७४/७५ मा सुरु गरी २०७७/७८ मा सम्पन्न गर्दा राज्यलाई ऋण मात्रै २२ अर्ब रुपैयाँमा लागेको छ । विमानस्थल बनाउन चिनियाँ ऋणको उक्त २२ अर्ब मात्रै खर्च गरिने भनिए पनि लागत बढाएर विमानस्थलको संरचना निर्माण भएको छ । यो विमानस्थल सम्पन्न भएर सञ्चालन योग्य बनाउँदासम्म २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको सरकारी निकायको प्रतिवेदनमै उल्लेख छ ।

यो विमानस्थल निर्माणको काम २०७९/८० मा सम्पन्न भएर २०८० पुस १६ मा उद्घाटनसमेत भइसकेको छ । तर, विडम्बना यो विमानस्थल सम्पन्न भएर उद्घाटन भएको डेढ वर्षसम्म पनि उडान हुन सकेको छैन ।

यो विमानस्थलमा उडान हुन नसक्नुमा राज्यसंयन्त्रको कमजारी छरपष्ट भइरहेको छ ।

पोखरा विमानस्थल निर्माण सम्पन्न भएपश्चात् विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब ४ किलोमिटर टाढा मणिपाल, सेती नदी, काहुँखोलादेखि करिब ५०० हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक तथा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर हुँदै बगेर आउने पानी एकत्रित हुँदै विमानस्थल क्षेत्रमा पस्ने हुँदा विमानस्थल सञ्चालनमा समस्या आइरहने महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा उल्लेख छ । उक्त विमानस्थलमा पानी पस्ने र डुबान हुने समस्या आउनुले निर्माणमा नै कमजोरी भएको महालेखाले औंल्याएको छ ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदी महालेखा परीक्षकले अघिल्लो वर्षको लागि कमजोरी औंल्याएको तर्क गर्छिन् । यो पहिला देखिएको समस्या भएको र त्यसलाई प्राविधिकहरुले समाधान गरिसकेको उनको भनाइ छ ।

‘विमानस्थलमा पानी पस्ने समस्या समाधान गरेर पानी नपस्ने बनाइएको छ,’ उनले भनिन्, ‘५०० हेक्टर जमिनबाट ठूलो पानी पर्दा वगेर आउने भेललाई नियन्त्रण गर्न नसक्दा विमानस्थल डुबानमा पर्छ भन्ने महालेखाको प्रतिवेदनले मात्रै औंल्याएको विषय हो ।’

अहिले ठूलो पानी नपरेकोले पनि त्यस्तो समस्या भोग्न नपरेको सुवेदीको भनाइ छ । उनले महालेखाले बढाइचढाइ लेखेको टिप्पणी गरिन्।

‘लेख्नेले अलि बढाइचढाइ गरेर लेखेको मात्रै हो, त्यहाँ लेखेजस्तो ठूलो समस्या विमानस्थलले भोग्नु परेको छैन,’ उनले भनिन्, ‘यहाँभन्दा अगाडि पनि कुनै ठूलो भलबाढी पसेको र पस्ने अवस्था आएको थिएन ।’

प्राविधकले समस्या समाधान गरेर विमानस्थल डुवानमा नपर्ने गरी पानीको निकास दिइएकाे बताउँदै भलबाढी पस्ने अवस्था आइहालेकाे अवस्थमा भने विमानस्थल नै बन्द गर्नुको विकल्प नहुने पनि उनको भनाइ छ ।

डाँडा काट्ने काम‍भने गत वर्ष नै सकिइसकको छ । डाँडा काटेर नै विमानस्थल सुरु भएको पोखरा विमानस्थल कार्यालयको भनाइ छ ।

पोखरा विमानस्थल निर्माण गर्दा रनवेको पूर्वतर्फ १.५ किलोमिटरमा रहेको डाँडाले अवतरणमा अवरोध गर्ने देखिएकोले ४० मिटर काट्नुपरेको उल्लेख छ । यो डाँडा काट्न विमानस्थल आयोजनाले एक निर्माण व्यवसायीलाई गत आर्थिक वर्ष २०७९/८० मा मात्रै २८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

‘कमिसनका लागि मात्र बनाइयो विमानस्थल’

पोखरा विमानस्थल राज्यको आवश्यकताभन्दा पनि राजनीतिक दबाब र कमिसनका लागि मात्रै बनाइएको प्रमाणित हुँदै गएको एक पूर्वप्रशासक बताउँछन् ।

‘विमानस्थल बने पनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने विमानस्थल बनाउँदा कमिसनका लागि के कस्ता काम भएका थिए भन्ने अहिले खुल्दै गएको छ,’ उनले भने, ‘विमानस्थल बनाउनुपूर्व यसको तयारी, विमानस्थलको दीर्घकालीन आवश्यकता, विमानस्थल निर्माणपछि अन्तर्राष्ट्रिय पर्यटकीय हब बनाउन सकिने वा यहाँबाट हुने उडान अवतरणलाई व्यवस्थित गर्ने कुनै योजना बनाउन नसकेको देखियो ।’

भैरहवामा गौतमबुद्ध विमानस्थल ८/९ अर्बमा बन्ने तर पोखरामा चाँही २२ अर्ब खर्चनुपर्ने अवस्था किन बन्यो भन्ने गम्भीर प्रश्न उब्जिएको प्राधिकरणकै एक उच्च अधिकारी बताउँछन् ।

‘पोखरा विमानस्थल इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रक्सन ( इपीसी) मोडल भनेर महँगोमा बनाइयो तर उडान अवतरणको कुनै योजना बनाइएको थिएन,’ उनले भने, ‘ सोही क्षमतमा भैरहवामा बनेको विमानस्थल ८/९ अर्बमै बन्ने पोखरामा चाहिँ किन २२ अर्ब खर्चनुपर्ने ?’

इपीसी मोडल आफैंमा उत्कृष्ट भए पनि नेपालमा यसलाई भित्र्याएर पोखरामा भएको हर्कतले कमिसनका लागि नै थियो भन्ने प्रमाणित भएको उनको भनाइ छ ।

‘इपीसी मोडललाई नेपालमा भित्र्याएर के गरियो ?,’ उनले भने, ‘पोखरा विमानस्थल बनाउँदा भएका हर्कतले त्यो कमिसनका लागि नै थियो भन्ने प्रमाणित भएन र ?’

पोखराभन्दा आधा सस्तोमा बनेको भैरहवा विमानस्थलमै अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । पोखरामा भएको खर्च अधिक र तत्काल उडान हुन नसक्ने, आर्थिकरुपले सम्भव नहुँदा–नहुँदै पनि बनाउन जोड गरिनुको परिणाम भोग्न सुरु भएको हवाइ उड्डयन क्षेत्रका एक जानकार बताउँछन् ।

विमानस्थल बने पनि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा आम्दानीको स्रोत अन्तर्राष्ट्रियतर्फ ठप्प छ । आन्तरिकतर्फको आम्दानीले २२ अर्ब रुपैयाँ ऋण तिर्न सक्ने कल्पना नै गर्न नसकिने प्राधिकरणका अधिकारीहरु बताउँछन् । आम्दानीको स्रोतबिना नहुँदा विमानस्थलेको ऋणको किस्ताले प्राधिकरण नै समस्यामा पर्न सक्ने देखिएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको एक वर्षसम्म कुनै वायुसेवालाई ल्याउन नसक्नु र नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवाबाट समेत एउटा पनि परीक्षण उडानसम्म हुन नसक्नु प्राधिकरण नेतृत्व र राज्यसंयन्त्रको अक्षमताको पुष्टी हुने उनी बताउँछन् ।

‘यत्रो खर्च गरेर बनाइएको विमानस्थल सञ्चालन भएको एक वर्षसम्म कुनै वायुसेवालाई उडानका लागि ल्याउन नसक्नुमा प्राधिकरणको उच्च नेतृत्व र राज्य संयन्त्रको अक्षमता हो,’ उनले भने, ‘कमिसनका लागि अध्ययन र तयारीबिना संरचना बनाउनेमाथि छानबिन आवश्यक छ ।’

यो विमानस्थलबाट पछिल्लो एक वर्षमा आन्तरिक उडानतर्फ ८ लाख ८८ हजार यात्रु उडेका छन् । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान हालसम्म जम्मा ७ वटा मात्रै भएको छ । यस्तो उडानबाट जम्मा २९६ यात्रुमात्रै आवतजावत गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो विमानस्थलमा चीनबाट ६ वटा र एउटा उडान भुटानको ड्रुक एयर गरेको छ ।

कुटनीतिक पहल गर्न नसकेको र विमानस्थल बनाउँदा २२ अर्ब रुपैयाँ भौतिक पूर्वाधारमा मात्रै खन्याएर त्यसैमा आएको कमिसनमा रमाएका कारण विमानस्थल राज्यबाटै वेवास्थामा परेको हवाई क्षेत्रका जानकारहरुको दाबी छ ।

नेपाल सरकारका पूर्वसचिव विमल वाग्ले सुरुमा विमानस्थल बनाउँदै क्रस बेनिफिट एनालाइसिस गर्न नसकेका कारण विमानस्थल बने पनि अलपत्र हुन पुगेको बताउँछन् । ‘विमानस्थलको लाभ हानीको र लागतको विश्लेषण उचित ढंगल नगरी हतार गरेर विमानस्थल बनाउँदाको परिणाम अहिले भोग्नुपरिरहेको छ’ पूर्वसचिव वाग्लेले भने ।


क्लिकमान्डु