पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने
काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ।
चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका लागि भएको चलखेलका कारण राज्यलाई अनावश्यक दायित्व बढाइएको छ भने प्राविधिकरुपमै मिलेमतो गरेर आर्थिक अपचलन भएको पाइएको छ ।
यो विमानस्थल निर्माण गर्दा धावनमार्ग धसाएर बनाएकै कारण १० मिटर बढी डाँडा काटिएको छ भने जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चिएर बनाएको खानेपानीको ट्यांकी भत्काउनुपर्ने अवस्था नित्याइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको छ ।
यो पानी ट्यांकी ३१ मिटर अग्लो हुने गरी निर्माण भइरहेको थियो । तर, प्राधिकरणले विमानस्थल बनाउँदा गरेको गम्भीर लापरबाही तथा आर्थिक अपचलनको शिकार पानी ट्यांकी हुन पुगेको छ । २० मिटर निर्माण भइसकेको उक्त ट्यांकीलाई १५ मिटरमात्रै बनाउनुपर्ने र त्योभन्दा बढीको भाग भत्काउनुपर्ने भनेर खानेपानी संस्था, पर्यटन, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणसहितले पत्रका कारण निर्माण कार्य नै रोकिएको छ ।
पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले ट्यांकी भत्काउनुपर्ने भनेपछि आधा बनेको यो पानी ट्यांकीको सबै काम रोकिएको बताए । यो विषयमा खानेपानी मन्त्रालयले छानविन गरिरहेको छ ।
मन्त्रालयका अनुसार पोखरामा निर्माणाधीन खानेपानी ट्यांकी र विमानस्थलका कारण भत्काउनुपर्ने अवस्था सिजना भएको विषयमा एक छानबिन समिति गठन भएको छ ।
पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक डा. हरिदर्शन श्रेष्ठको संयोजकत्वमा नेपाल बार एशोसिएसनका सचिव निर्भयराज पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वकर्मचारी तथा हवाई विज्ञ महेशकुमार बस्नेत सदस्य रहेको एक छानविन समिति गठन भएको छ ।
छानबिन समितिको पहिलो बैठक बसिसकेको छ । उक्त छानविन समितिले उड्डयन प्राधिकरणले गरेको कमजोरीका कारण खानेपानी ट्यांकी के गर्ने ? भन्ने विषयमा प्रतिवेदन दिने छ । उक्त प्रतिवेदनले दिएको सुझावकै आधारमा थप कार्य अघिबढ्ने भएको छ ।
निर्माण कार्यमा त्रुटी नै त्रुटी, अनियमितताको आशंका
विमानस्थलको धावनमार्गको पूर्वतर्फ १.५ किलोमिटर टाढाको दूरीमा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन-वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको महालेखाकै प्रतिवेदनले औंल्याएको छ ।
रन-वे को उचाइ घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुङ्गामाटो निर्माण व्यवसायीले बाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेष (ढुङ्गामाटो सहितको ग्राभेल) उक्त रन-वे मा नै प्रयोग गरिएको छ । यसो गर्दा निर्माण व्यवसायीले ५ किलोमिटर टाढाबाट रोयल्टी तिरी ढुवानी गरेर ल्याउनुपर्ने सबवेशको उपलव्धता साइटमा नै भएकोले व्यवसायीले बाहिरबाट खरिद एवं ढुवानी गर्नुपर्ने थियो । बाहिरबाट ल्यान नपर्दा यसबाट भएको लाभमा प्राधिकरणसँग मिलेमतो भएको आशंका महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यो विमानस्थल निर्माण कार्यको लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम वापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेको थियो । तर, सो रकम घटाएर अमेरिकी डलर ३१ लाख ७० हजार बनाइएको थियो ।
निर्माण व्यवसायीले परामर्शदाताको व्यावस्था गर्न बीओक्युमा समावेश भएको अमेरिकी डलर २८ लाख डलरलाई घटाएर सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको थियो ।
यो विमानस्थलको सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भए पनि प्राधिकरणले त्यसैवाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजाइन रिभ्युको लागि परामर्श सेवाका लागि अको परामर्शदातासँग ३७ करोड ९५ लाख ९० हजार रुपैयाँमा सम्झौता भएको देखिन्छ ।
विमानस्थल निर्माण गर्दाको खर्च इपीसीमा २२ करोड ९८ लाख ५२ हजार रुपैयाँ बराबरको खर्चको व्यवस्था भए पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमानभन्दा ६५.१५ प्रतिशतले बढी भएको छ । जसले गर्दा यो आयोजना निर्माणमा मितव्ययीता कायम नभएको देखिन्छ । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम वापत १९ करोड ५२ लाख रुपैयाँको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सम्ममा राखेको औचित्यपूर्ण नदेखिएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।
पोखरा विमानस्थलबाट हवाई सेवा सञ्चालनमा समस्या भइरहेको छ । विमानस्थलको पश्चिमतर्फ प्यारलल र अन्य दुईवटा लिंक टेक्सी वे को व्यवस्था गरेकोले रन वे ३० मा पुग्न रन-वे बाट नै जानुपर्ने हुँदा रन-वे अकुपेन्सी टाइम बढी हुने र उडान सञ्चालनमा सहजता आएको छैन ।
हेलिकप्टर पार्किङ्गस्थलका लागि कुनै ठाउँको व्यवस्था नभएको, कार्गो बुकिङ तथा टिकट काट्ने कोठाको व्यवस्था नभएको, रन वे आन्तरिक उडानको लागि छुट्याइएको र्याम्प एरियामा जम्मा ३ देखि ४ वटा बस मात्र अट्न सक्ने गरि मात्रै बनाइएको छ । यसले प्रत्येक वायुसेवा कम्पनीले छुट्टाछुट्टै बस राखि र्याम्प सेवा संचालन गर्न सम्भव हुँदैन । जहाजका ग्राउण्ड इक्विपमेन्टहरु सीपीपु टो टग, ट्रयाक्टर आदि इक्विपमेन्ट राख्ने व्यवस्था नभएको, रात्रिकालीन बेस स्टेशनमा बस्ने जहाज तथा अल्पकालीन लाइन मेन्टेनेन्स खडा गर्न वायुसेवा कम्पनीहरुलाई स्थान उपलब्ध नहुनु पनि समसया भएको उल्लेख छ ।
विमानस्थलको टर्मिनल भवनको प्रवेशद्वारमा क्यानोपाईको उचित व्यवस्था भएको छैन । मनसुनको समयमा यात्रुहरुलाई पार्किङ एरियाबाट टर्मिनल भवनसम्म आउँदा पानीले भिज्ने समस्या रहेको तथा टर्मिनल भवनको पछाडि भागमा रहेको एराइभल लगेज कन्भेयर बेल्टको लगेज इनबोर्ड गर्ने इक्विपमेन्ट राखेको भागमा पनि रुफ कभरेज पर्याप्त छैन ।
पानीको बाछिटा पर्ने हुनाले सो उपकरण चाँडै बिग्रन सक्ने जोखिम यो विमानस्थलमा छ । हाल विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुयानको पार्किङ गर्न ३ वटा र आन्तरिक उडान भर्ने साना ठूला जहाज गरी ८ वटा पार्किङमात्र रहेको छ ।
अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडानको लागि निर्माण गरिएको पार्किङ वे कस पोजिसनमा रहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई पेसेन्जर बोर्डिङ ब्रिजको व्यवस्था भए ती संरचना आन्तरिक टर्मिनल भवन नजिकै रहेको छ ।
आन्तरिक उडानका लागि यात्रु चढाउन सोही संरचना नजिकै रहेको एप्रोनको प्रयोग भइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय उडान गर्दा हालको एप्रोन आन्तरिक उडान गर्ने यात्रु चढाउन प्रयोग गर्न नमिल्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनतिर भएको आन्तरिक पार्किङ वे प्रयोग गर्नुपर्ने हुनाले र्याप बसेले इन्टरनेशनल पार्किड वे भई कस गर्नुपर्ने अवस्था भएकोले सुरक्षाको दृष्टिकोणलाई डिजाइनमा ध्यान नदिएको पनि उल्लेख छ ।
आम्दानीको स्रोत शून्य, विमानस्थलको ऋणले थिचिँदै प्राधिकरण
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक वर्ष नाघिसकेको छ । गत वर्ष सन् २०२२ को जनावरी १ (१७ पुस)मा प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य उद्घाटन गरेको यो विमानस्थलमा अहिलेसम्म एउटा पनि वायुसेवाले व्यवसायीक उडान गरेका छैन । अहिलेसम्म कुनै वायुेवाले चासो नदेखाएको र तत्कालै कुनै आइहाल्ने आवस्था पनि नदेखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले बताइन् ।
सुवेदीले क्लिकमान्डुसँग भनिन्, ‘विमानस्थलको संरचना सबै तयारी अवस्थामा छ, कर्मचारी सेवा दिन तत्पर छन्, भन्सार, अध्यागमन, सुरक्षा संयन्त्रसबै तैनाथ छन् तर उडान भने छैन ।’
अन्तर्राष्ट्रिय विमानस्थल भएपनि आन्तरिक उडानमै सिमित भएर बस्नुपरेको छ । यो विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको विषयमा केन्द्रीय कार्यालयमा नै आवश्यक सूचना र जानकारी आउने भएकोले उतै सोधपुध गर्न पनि सुवेदीले आग्रह गरिन् ।
चीनले बनाइदिएको विमानस्थल भएको र यो विमानस्थल उद्घाटनकै क्रममा बीआरआई प्रोजेक्ट अन्तर्गतको आयोजना भनेर चिनियाँ अधिकारीले भनिदिएका कारण भारतले समेत उडान अनुमति दिएको छैन । यो विमानस्थल सञ्चालन पूर्व नै पोखराबाट वनारस उडान गर्ने भन्दै आवेदन दिएको बुध्द एयरले अझै अनुमति पाएको छैन । सरकारले आवश्यक पहल नगरेको र भारतले पनि महत्व नदिएका कारण यो विमानस्थलबाट भारतीय सहरमा उडान गर्न चाहेका वायुसेवाले समेत अनुमति पाएका छैनन् ।
‘चीनले बनाइदिएको र आरबीआई अन्तर्गतको योजना भनिदिएका कारण भारतलले उडान अनुमति दिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने ‘यो विमानस्थल इपीसी मोडल भनेर महँगोमा बनाइयो ।’
पोखराभन्दा आधा सस्तोमा बनेको भैरहवा विमानस्थल नै चल्न सकेको छैन । पोखरामा भएको खर्च अधिक र तत्काल उडान हुन नसक्ने भन्दै आर्थिकरुपले सम्भव नहुँदा-नहुँदै पनि जोड गरिनुको परिणाम भोग्न सुरु भएको दाबी पनि हवाइ उड्डयनका जानकारहरु बताउँछन् ।
विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा आम्दानीको स्रोत अन्तर्राष्ट्रियतर्फ ठप्प छ । आन्तरिकतर्फको आम्दानीले २२ अर्ब रुपैयाँ ऋण तिर्न सक्ने कल्पना नै गर्न नसकिने प्राधिकरणका अधिकारीहरु बताउँछन् । आम्दानीको स्रोतबिना यो विमानस्थलेको ऋणको किस्ताले प्राधिकरण नै समस्यामा पर्न सक्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको एक वर्षसम्म कुनै वायुसेवालाई ल्याउन नसक्नु र नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवाबाट समेत एउटा पनि परीक्षण उडानसम्म हुन नसक्नु राज्यसंयन्त्रको अक्षमता सहजै पुष्टि हुन्छ ।
यो विमानस्थलबाट एक वर्षमा आन्तरिक उडानबाट भने ८ लाख ८८ हजार यात्रु उडेका छन् । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान हालसम्म जम्मा ७ वटा मात्रै भएको छ । यस्तो उडानबाट जम्मा २९६ यात्रुमात्रै आवतजावत गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो विमानस्थलबाट चाइनाबाट ६ वटा र एउटा उडान भुटानको डुकले गरेको छ ।
कुटनीतिक पहल गर्न नसकेको र विमानस्थल बनाउँदा २२ अर्ब रुपैयाँ भौतिक पूर्वाधारमा मात्रै खन्याएर त्यसैमा आएको कमिसनमा रमाएका कारण विमानस्थल राज्यबाटै वेवास्थामा परेको हो ।
अन्तर्राष्ट्रिय उडानको टुंगो नभएकोले हाल विमानस्थलमा खटिएका ७५ जना कर्मचारी सबै आन्तरिक उडानको सेवामा नै चित्त बुझाएर बसेका छन् । विमानस्थल बनाएपछि सञ्चालनमै प्राथमिकता दिनुपर्ने भए पनि ऐन कानुनले दिएभन्दा माथि जान नसकिएको भन्दै नागरिक उड्डयन प्राधिकरण पन्छदै आएको छ ।
मिलेमतोमा २ अर्ब कर छुट
निर्माण कम्पनीसँगको मिलेमतोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माण गर्दा मोटो रकम नै कर छूट दिएको छ । सम्झौतामा व्यवस्था नै नभएको अवस्थामा आयोजनाले माष्टर लिष्टमा राखेर भन्सार शुल्क तथा महशुल र मूल्य अभिवृद्धि कर बापत (अन्तःशुल्क बाहेक) २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा निर्माण व्यवसायीसँग भएको सम्झौतामा नेपालभित्र र बाहिरको भए पनि लाग्ने कर शुल्क महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीको हुने हुँदाहुँदै उक्त कर छुट दिइएको महालेखा परीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको छ ।
व्यवसायीले बोलपत्रमा कबोल गर्दा यस सम्बन्धी व्यवस्था नभएको, सम्झौतामा समेत यस्तो महशुल छुट दिने व्यवस्था नभएकोमा आयोजनाले त्यसपछि माष्टर लिष्टमा राखी भन्सार तथा महशुल छुट दिएको उल्लेख गरेको छ ।