सामसङ फोन र घरायसी सामग्री बेच्ने शेखर गोल्छाको कम्पनीको व्यापारमा नयाँ रेकर्ड

441
Shares

काठमाडौं । सामसङ ब्रान्डको मोबाइलफोन तथा घरसायसी सामग्री बेच्ने हिम इलेक्ट्रोनिक्स प्रालिले एकै वर्ष पौने ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ७६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ६ अर्ब ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवमा सन् २०२४ को तुलनामा २५.७० प्रतिशतले व्यापार बढेको उल्लेख छ । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी भएको हो । सन् २०२२ मा ८ अर्ब १६ करोडको कारोबार गरेको कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ७६ करोड ४० लाखको कारोबार गरेको हो ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विद्युतीय घरासयी सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा सामसङ ब्रान्डको मोबाइलफोन आयात गर्ने दुई वटा आयातकर्ता तथा वितरक छन् । त्यसमध्ये यो एक कम्पनी हो ।

कम्पनीले सामसङ ब्रान्डको मोबाइलफोन, घरायसी सामग्री र विद्युतीय सामग्री आयात गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ।

कम्पनीले सामसङ ब्रान्डको घरायसी सामग्रीसँगै अन्य ब्रान्ड बजाज, इन्डोएसिया र ओस्राम र टाइमेक्स घडी पनि बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी आयातकर्ता मात्र नभई नेपालमै एसेम्बलिङ युनिट निर्माण गरी हिमस्टार ब्रान्डको कन्जुमर इलेक्ट्रोनिक्स, घरायसी सामग्री र सोलार प्यानेल र इनभर्टर उत्पादन गर्दै आएको छ ।

गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित हिम इलेक्ट्रोनिक्समा शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व छ । बाँकी स्वामित्व उनका परिवारको सदस्यको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ५९ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २००१ बाट सामसङ कन्जुमर इलेक्ट्रोनिक्स र सन् २०१९ देखि नेपालको पूर्वी नेपालमा सामसङको व्यापार गर्दै आएको छ ।

कम्पनीले स्वदेशी ब्रान्ड हिस्टार बान्डको उत्पादित सामग्रीको व्यापार गर्दै आएको छ । जसमा आन्तरिक उत्पादनको हिस्सा १४ प्रतिशत रहेको रेटिङमा उल्लेख छ । कम्पनीको देशभर साना तथा ठूला गरी ५ सय वितरक केन्द्र छन् ।