
हिजोआज तपाईंले व्यवसायी शेखर गोल्छालाई फोन गर्नुभयो वा भेट्नुभयो भने उनी पहिलो प्रश्न गर्छन्, ‘परान हेर्नुभयो ?’ क्लिकमान्डु टिमले भेट्दा पनि शेखरले यही प्रश्न गरे ।
र, हामीले प्रतिप्रश्न गर्यौं, ‘आजसम्म तपाईंले कहिल्यै पनि पल्सर बाइक बा चेक स्कुटर चढ्नुभयो ? सामसुङ फोन बोक्नुभयो ? हिमस्टार र सामसुङका इलेक्ट्रिक सामान प्रयोग गर्नुभयो कि छैन ? भनेर सोध्नुभएको याद छैन । जसले तपाईंलाई अर्बौं नाफा दिन्छ । तर परान हेर्यौ भनेर चाहिँ किन सोध्नु भएको ? ?’
‘अहँ मैले बाइक, मोबाइल र इलेक्ट्रिक सामान प्रयोग गर्नुभयो भनेर कसैलाई एकपटक पनि सोधेको छैन,’ हँसिलो मुद्रामा शेखरले भने, ‘मैले भेटेजति र फोनमा कुरा गर्नेजति सबैलाई परान हेर्नुभयो ? भनेर सोधेको छु । यतिसम्म कि रेस्टुराँमा वेटरलाईसम्म सोधेको छु । यसको मज्जा छुट्टै छ । फिल्मको बारेमा सबैले राम्रो छ भन्ने प्रतिक्रिया दिँदा अदभूद् खुसी मिलेको छ।’
वार्षिक ५० अर्ब रुपैयाँको कारोबार गर्ने गोल्छा ग्रुपका अध्यक्ष शेखरलाई अरु बिजनेसमा के कसो भयो भन्दा पनि परान फिल्मले कति कमायो ? भन्नेमा ध्यान छ । दैनिक १४-१५ करोड रुपैयाँको व्यापार गर्ने गोल्छा अहिले अरु व्यापारका रिपोर्टिङहरु खासै हेर्दैनन् । हेर्छन् त केबल लाखमा कारोबार गरिरहेको परानको ।
कात्तिक १४ गते परान रिलिज भएपछि फिल्मका कतिवटा शो छन् ? कति टिकट बुकिङ भए ? कतिजनाले हेरे ? ग्रस कलेक्सन कति भयो ? कसले कस्तो प्रतिक्रिया दियो ? सामाजिक सञ्जालमा कसले कस्तो कमेन्ट गर्यो ? भन्ने हेर्नु गोल्छाको उनको दैनिकी भएको छ । उनलाई यसै खुसी दिइरहेको छ ।
देशकै चर्चित र ठूला मध्येका एक व्यवसायी शेखर अरुबेला अर्थतन्त्र, लगानीको वातावरण, सम्भावित क्षेत्र र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न रुचाउँथे । हामीसँगको अढाइ घण्टाको बसाइमा उनले २ घण्टा परानका बारेमा सुनाए । परान निर्माणका क्रममा भएका इन्साइडर किस्साहरु सुनाए तर ‘अफ दि रेकर्ड’ अर्थात् प्रकाशन गर्न नमिल्ने शर्तमा । हामीलाई उनले सुनाएका किस्साहरुले रमाइलो अनुभूति भइरहेको थियो ।
देशमै पहिलो उद्योग स्थापना गरेका रामलाल गोल्छाका नाति शेखरले अटोमोटिभ, इलेक्ट्रोनिक्स, फिनटेक, शिक्षा, बिमा, बायोसाइन्स, वैकल्पिक ऊर्जा क्षेत्रका दर्जनौं कम्पनीमा लगानी गरेका छन् ।
शेखरको बिजनेस पोर्टफोलियोमा कान्छो क्षेत्र हो, चलचित्र अर्थात् मनोरञ्जन । परान चलचित्रका दुई निर्मातामध्येका एक शेखर (अर्का निर्माता रञ्जित आचार्य हुन्)लाई अचेल भेट्नेहरुले नेपाल उद्योग वाणिज्य महासंघका नविर्तमान अध्यक्ष वा गोल्छा ग्रुपका अध्यक्षसँगै प्रोड्युसरसा’ब भन्छन् ।

नयाँ परिचयले शेखरलाई कत्तिको खुसी दिएको होला ? यो प्रश्न हाम्रो अन्तरमनमा थियो । सोहीअनुसार प्रश्न गर्यौं पनि ।
शेखरले खुसी हुँदै दैनिक व्यापारको तथ्य देखाउँदै भने, ‘हेर्नुस् त, हिजो १ करोडको व्यापार भएछ ।’ कुनै एउटा मल्टिप्लेक्सको शो देखाउँदै थपे, ‘आज परानमात्र चलेको छ । भोलि पनि परानमात्र चल्ने भनेर टिकट खुलाएको छ ।’
उनकै भाषामा भन्नुपर्दा पनि उद्योग, व्यापार, सेवामुलक क्षेत्रमा गरेको लगानीबाट पाएको प्रतिफलमध्ये सबैभन्दा बढी खुसी दिने खुसीको स्केलमा सबैभन्दा माथि छ । ‘अरु व्यवसायमा हिसाबकिताब र अंकको कुरा हुन्छ, व्यापार र नाफा बढ्दा खुसी त मिल्छ नै,’ उनले भने, ‘फिल्ममा भावनाको कुरा हुँदो रहेछ, त्यसैले नेक्स्ट लेभलको खुसी मिलिरहेको छ ।’
त्यसैले त गोल्छा कहिलेकाहीँ राती १-२ बजेसम्म कमेन्ट पढिरहन्छन् । ‘अब त श्रीमतिजीले पनि बढी भयो शेखर भन्न थालेकी छन्,’ गोल्छाले भने ।
गोल्छालाई अत्यधिक खुसी पनि किन मिलेको हो भने चलचित्रमा गरेको ९४ प्रतिशत लगानी डुब्ने गरेको छ तर परान चौथो सातामा चल्दै गर्दा करिब १४ करोड रुपैयाँको व्यापार गरिसकेको छ । ४/५ करोड रुपैयाँको लगानीमा बनेको भए पनि नाफामा गइसकेको छ । हालसम्म ४ लाखभन्दा बढीले परान हेरिसकेका छन् ।
‘म चलचित्रमा कमाउन आएको होइन, नयाँ ट्रेन्ड सेट गर्न आएको हूँ,’ गोल्छाले सुनाए, ‘नितान्त फरक शैलीको परानलाई दर्शकहरुले मन पराइदिँदा खुसीको सीमा मापन गर्न सकिरहेको छैन ।’
परानबारे गोल्छाको भनाइः
परान मेरो पहिलो फिल्म हो । म र रञ्जित आचार्यजीले ८/९ वर्षअघि नै ‘बायोस्कोप सिनेमा’ नामक कम्पनी स्थापना थियौं । हामी टिपिकल नेपाली फिल्म बनाउन चाहन्थ्यौं । तर राम्रो स्क्रिप्ट पाइरहेका थिएनौं । रञ्जितजी र म पहिलो फिल्म अलिकति गतिलो बनाऔं भन्नेमा थियौं । हामी परम्परागत शैली, अश्लिलता, झगडा वा नाचगान देखाउने पक्षमा थिएनौं । कसैले एउटा ठूलो क्यानभास डान्स, फाइट र एक्सन नै हेर्न चाहन्छ भने उसले बलिउड वा साउथ इन्डियन फिल्म हेरिहाल्छ, नेपाली फिल्म हेर्ने हो भने उसको अपेक्षा फरक हुन्छ । नेपाली फिल्म हेर्न चाहनेले नेपालीपन खोज्छ तर वास्तविकतामा फरक स्वाद दिँदा नेपाली फिल्महरुको सक्सेस रेसियो (सफलताको अनुपात) निकै कम भन्ने हामीलाई लाग्थ्यो ।
परानको स्क्रिप्टमा हामीले जोखिम लिएकै हौं । राम्रो स्क्रिप्ट र राम्रो निर्देशक पाए पैसा हालेर फिल्म बनाऔं भन्ने खोजिमा थियौं । दीपकराज आचार्यजी (परानका निर्देशक)सँग भेटट भएपछि उहाँले यो कथा सुनाउनुभयो, त्यसपछि हामीले ‘ल यो ठीक छ, यो जोखिमपूर्ण उद्यम हो तर यो कथा अहिले चलिरहेका कथाभन्दा धेरै भिन्न छ र वास्तविकतासँग नजिक छ’ भन्ने निष्कर्षमा पुग्यौं । परानको कथा दीपकजीले नै लेख्नु भएको हो र उहाँकै निर्देशनमा यो फिल्म बनेको हो ।
नेपालमा फिल्मी व्यवसायमा सफलताको दर कदमै कम छ । झन्डै ९४ प्रतिशत फिल्मले आफ्नो लगानी पनि उठाउन नसकिरहेको अवस्थामा म यो उद्योगमा प्रवेश गरेको हूँ ।
म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएकै बेलादेखि एउटा कुरा गर्ने भन्ने गर्थें, ‘हाम्रो अर्थतन्त्र रेमिटेन्सले चल्ने हो । रेमिटेन्स नआउने हो भने हाम्रो अर्थतन्त्र चल्नै सक्दैन, किनभने हाम्रो व्यापार घाटा यति ठूलो छ ।’ म अर्को कुरा पनि भन्थें कि ‘अहिले बाहिर गइरहेका व्यक्तिहरूलाई देशमै रोक्न नसक्नु, देशमै रोजगारी दिन नसक्नु र देशमै भविष्य देखाउन नसक्नु निजी क्षेत्र र सरकार दुबैको असफलता हो ।’ यसलाई कसरी समाधान गर्न सकिन्छ र यो असफलतालाई सफलतामा कसरी बदल्न सकिन्छ भन्नेबारे छलफलबाटै अगाडि बढ्नुपर्छ भनेर मैले भनेको थिएँ । महासंघको अध्यक्ष भएको बेलामा मैले ‘भिजन २०३०’ लिएर आएको थिएँ, जसमा देशमै कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरा मुख्य रूपमा थियो ।
अर्थात् दीपकजीले मैले बोल्दै आएको कुरा अर्थ दिने फिल्मको कथा ल्याउनु भयो । आफ्नै कुरा प्रतिध्वनित गरेकाले कथाले मन छोयो । अहिले युवाहरू देशमा भविष्य छैन भनेर विदेशमा भविष्य खोजिरहेका छन् । उनीहरूलाई भविष्य खोज्नबाट रोक्नु पनि ठीक होइन, तर अर्कोतिर उनीहरूका परिवार र गाउँघरमा एक प्रकारको अप्रत्यक्ष क्षति भइरहेको छ । यसप्रति संवेदनशील हुनुपर्छ । फिल्मको कथा यस्तै छ । तर परानमार्फत हामीले कुनै ज्ञान दिन खोजेको छैनौं । मात्रै यो पनि एउटा यथार्थ हो भनेर देखाउन खोजेको हौं ।

हिन्दी फिल्मजस्तै बनाउन खोज्ने पुरानो सूत्र विरुद्ध परानमार्फत् नयाँ सूत्र लिएर आएका छौं । यो फिल्म नचलेको भए सायद मैले यसरी बोल्दिनथें होला । तर चलिसकेकोले म भन्न सक्छु कि यो सूत्र चल्छ । आउने समयमा नेपाली चलचित्रमा मौलिकता र वास्तविकतामा आधारित फिल्महरू आउने ढोका खुलेको छ । किनभने, कल्पनामा आधारित फिल्म हेर्ने हो भने त बलिउड, हलिउड छँदै छ नि । नेपाली फिल्म नेपाली मौलिकतामा आधारित हुनुपर्छ, यथार्थमा आधारित हुनुपर्छ ।
हिन्दी फिल्मका कारण हाम्रो मौलिकता कमजोर भइरहेको छ, संस्कृती बदलिएको छ । विवाहका कार्यक्रम २० वर्ष अघिको जस्तो छैन । त्यो सबै हिन्दी फिल्मको प्रभाव हो । हामीले मौलिकता वा धरातललाई नै बिर्सियौं भने सर्वस्व गुम्छ भनेर परानमार्फत् हामीले नेपाली को हौं, हाम्रो मूल्य मान्यता के छ, हामी हाम्रा अभिभावकप्रति कति संवेदनशील छौं, हाम्रो गाउँघरमा जीवन कस्तो हुन्छ भन्ने चित्रण गरेका छौं ।
नेपाली फिल्ममा पनि हिन्दी फिल्ममा झैं हिरो, हिरोइन र भिलेन हुनैपर्छ, प्रेम र रोमान्स अनि गीत हुनैपर्छ भन्ने मान्यता छ । हिरोले १०० जनालाई कुट्नुपर्छ । यस्ता अलौकिक सफलताका सूत्रहरू अब कति पटक दोहोर्याउने ?
मैले पहिल्यै भनेको थिएँ कि परानको व्यावसायिक सफलता होस् वा नहोस्, फरक पर्दैन तर, आफूलाई सही लागेको कुरा यो फिल्ममा प्रतिबिम्बित भएकाले म परानको एउटा हिस्सा हुनुमा गर्व गर्छु ।
सुरुमा यो फिल्म चलेको पनि थिएन । नचल्दा पनि म विचलित भएको थिइनँ । ठीकै छ, आफ्नो विश्वासमा प्रयास गर्यौं, चलेन भने पनि केही छैन भन्ने सोच थियो ।
म कर्पोरेट क्षेत्रबाट चलचित्रमा आएको मान्छे । फिल्ममा कर्पोरेट प्रवेश गर्दा के फरक हुँदो रहेछ भन्ने सुनाउन चाहन्छु । यो फिल्म बनाउँदा ३-४ वटा कुरा नौलो भएको छ । पहिलो, बैंकिङ क्षेत्रले लगानी गरेको छ । बैंकले बैंकबाट ऋण लिएर लगानी गरें । बैंकबाट मलाई जवाफ थियो, ‘आजसम्म कुनै पनि नेपाली फिल्मलाई हामीले ऋण दिएका छैनौं ।’
दोस्रो, हाम्रा जति पनि कलाकार र प्राविधिक हुनुहुन्छ, सबैलाई हामीले करकट्टी गरेर भुक्तानी गरेका छौं । कति जनाको त प्यान कार्ड नै थिएन । प्यान नम्बर बनाउन लगाएर पारिश्रमिक दिएका छौं ।
तेस्रो, जुन दिन हामीले फिल्म घोषणा गर्यौं, त्यही दिन प्रदर्शन मिति पनि घोषणा गर्यौं र हामी टाइमलाइनमा गयौं ।
चौथो, काम सकिनेवित्तीकै सबैलाई पारिश्रमिक दिएका छौं । यो आफैंमा एउटा नयाँ अभ्यास हो । मैले सुने अनुसार कहीँकतै फिल्म नचले कलाकार तथा प्राविधिकलाई पारिश्रमिक नदिने प्रचलन सम्म थियो । तर, हामीले सबैलाई फिल्म प्रदर्शन हुनु अघि नै भुक्तानी गर्यौं ।
सफल वा असफल हुने जिम्मेवारी निर्माता मात्रले लिनुपर्छ, अन्य कसैले होइन, भन्ने विचारका साथ हामीले काम गर्यौं ।
पाँचौं, आम्दानी खर्च सबै पारदर्शी राखेका छौं, सम्झौताहरु सार्वजनिक गर्छौं । लेखापरीक्षण गर्छौं । अडिट रिपोर्ट पनि निकाल्छौं।

नेपालमा सामान्यतया एउटा सफल उदाहरण आएपछि सबैले लगानी गर्ने व्यावसायिक क्षेत्रको परिपाटी छ । अझ धेरै व्यावसायिक समूह वा व्यक्तिले फिल्म बनाउने हो भने नेपालको चलचित्र क्षेत्रलाई निकै ठूलो बनाउन सकिन्छ । व्यावसायिक क्षेत्रको अनुभवमा प्रणाली बनाउने हो भने गुणस्तरमा पनि सुधार हुने निश्चित छ ।
‘बायोस्कोप सिनेमा’मार्फत् हरेक वर्ष दुईदेखि तीन फिल्म निर्माण गर्ने हाम्रो योजना छ । हामी दीर्घकालीन दृष्टिकोणका साथ प्रवेश गरेका हौं । त्यसैले मैले एक मात्र फिल्मको घाटा (लस) वा नाफालाई (प्रफिट) आधार मानेर मूल्यांकन गरेको छैन । मैले र रञ्जितजीले हरेक वर्ष तीनवटा फिल्म निर्माण गर्नेछौं । ती फिल्महरू स्तरीय हुनेछन् ।
‘बायोस्कोप सिनेमा’ले निर्माण गर्ने फिल्महरूमा केही कुरा युनिक हुनेछन्:
१. सफलता र असफलताको निश्चित सूत्रमा नजाने ।
२. हिन्दी फिल्मको नक्कल (सिको) नगर्ने ।
३. आफ्नै मौलिकतामा आधारित फिल्म निर्माण गर्ने ।
४. परिवारसँगै बसेर हेर्न सकिने फिल्म बनाउने ।
५. कुनै पनि प्रकारले मानव शरीरलाई अब्जेक्टिफाइ नगर्ने ।
६. परिवारसँग बसेर हेर्दा अप्ठ्यारो लाग्ने भाषा प्रयोग नगर्ने ।
हाम्रो उद्देश्य स्तरीय फिल्म निर्माण गर्नु हो । यद्यपि, यो सूत्र सधैं सफल हुन्छ भन्ने दाबी गर्न सकिन्न । तर, स्वच्छ तरिकाले मनोरञ्जन दिन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।
हामी ‘परान २’ पनि बनाउँदैनौं । किनभने परानको कथा सकियो । यसकै सफलतामा आधारित भई अर्को फिल्म बनाउनु भनेको, पूरा भइसकेको कथालाई अनावश्यक रूपमा निरन्तरता दिनु हो ।
सामान्यतः सफल सूत्रलाई धेरैले नक्कल गर्छन् । कुनै निश्चित फिल्मले उद्योगको प्याराडाइम सिफ्ट गर्छ । त्यसपछि त्यही प्रकारको फिल्म बनाउँदा सफल हुन सकिन्छ कि भन्ने सोच उत्पन्न हुन्छ । र यो सोच सकारात्मक हो । परानले पाराडाइम सिफ्ट गर्न सके चिपनेस र भल्गारिटीको बाटो अन्त्य हुन्छ ।
परान सस्तोमा निर्माण भएको होइन । फिल्मको बजेट ४ देखि ५ करोड रुपैयाँको छ । परानको नायक विषयवस्तु (सब्जेक्ट) नै हो । तर, नीर सर (नीर शाह)ले जुन भूमिका (रोल) निर्वाह गर्नुभएको छ, उहाँ आफैंले ‘मैले यस्तो भूमिकाको लागि जीवनभर पर्खें’ भन्नु भएको छ । अर्थात् परानमा केही न केही स्पेसल पक्ष अवश्य छ । नीर सर नेपाली फिल्म उद्योगका भीष्म पितामह जस्तै हुनुहुन्छ । उहाँको मुखबाट त्यस्तो अभिव्यक्तिले साँच्चै नै हामीले केही राम्रो काम गरेका छौं भन्ने फिलिङ गराएको छ ।
मलाई आफूलाई चुनौती दिन अत्यन्तै रमाइलो लाग्छ । म यस्ता उद्योगहरूमा प्रवेश गरेको छु, जसबारे पहिल्यै कसैले सोचेको पनि थिएन । र अहिले यो फिल्म । यस्तै, आगामी समयका लागि पनि दुई-तीनवटा यस्ता योजना तयार छन्, जुन मेरो सहज क्षेत्र (कम्फर्ट जोन) भन्दा बाहिरका हुन् ।
मैले पछाडि फर्केर हेर्दा, मैले सञ्चालन गरेका धेरै व्यवसायहरू नेपालमा पहिलो (फस्र्ट इन नेपाल) रहेछन् । म सर्वाधिक कर तिर्ने व्यक्तिमध्ये एक पनि बनें । म उद्योग वाणिज्य महासंघको अध्यक्ष बनें । मैले धेरै पर्वत आरोहण गरें-किलिमन्जारोसम्म चढें। यस्ता धेरै कार्यहरू गरेको छु, जुन हरु व्यवसायीहरूले नरेको हुन सक्छन् । र फिल्म निर्माणको कुरा पनि, अहिले जब कसैले मलाई फिल्म निर्माता (फिल्म प्रोड्युसर ) भन्छ, मलाई निकै रमाइलो लाग्छ ।

एउटा फरक के छ भने, अन्य व्यवसायमा मैले कसैलाई ‘मेरो उत्पादन (प्रोडक्ट) किन्नुभयो’ भनेर सोध्न सक्दिनँ । तर, यो फिल्म निर्माण गर्दा भने, मैले भेटेका सबैलाई, रेस्टुरेन्टका कर्मचारीदेखि अध्यागमन (इमिग्रेसन) का अधिकारीसम्म सबैलाई सोध्छु, ‘ए दाइ, तपाईंले पराना फिल्म हेर्नुभयो ?’ र उहाँहरूले पोजेटिभ रेस्पोन्स दिँदा म अत्यन्त खुशी भएको छु ।
अन्तर्राष्ट्रिय वितरणका लागि दुबई जाँदा धेरैलाई ‘नेपालमा अहिले फिल्ममा चलेको (ट्रेन्डिङ) के छ ?’ भन्ने प्रश्न सोधें । उहाँहरूले ‘परान’ को नाम उल्लेख गर्दा मलाई अत्यन्त खुशी लाग्यो । त्यसपछि मैले भनें, ‘त्यो मैले बनाएको हुँ ।’
मैले र रञ्जितजीले यो कम्पनीको सह-स्थापना (को-फाउन्ड) गरेका हौं । तर, यो फिल्मको सकारात्मक प्रतिक्रियाले दिने सन्तोष भने व्यापार-व्यवसायभन्दा पनि बढी छ । एउटा स्तरीय फिल्म, परम्परागत ढर्राबाट बाहिरिएर, फरक बाटो अपनाएर निर्माण गर्दा सफल हुँदा प्राप्त हुने सन्तुष्टि अर्कै प्रकारको हुन्छ । धेरैले ‘यो डुब्ने स्क्रिप्ट हो, चल्दैन, सफल हुँदैन’ भनेर भनिरहँदा पनि हामीले निर्माण गर्यौं, र अहिलेसम्म हेर्दा सफल नै भएको छ ।
स्तरीय फिल्म निर्माण गर्ने हो भने संसारभर बस्नुहुने नेपालीले हेर्नुहुन्छ । सबैलाई देशप्रतिको माया हुन्छ र विदेशमा हुनेहरु खर्च गर्न पनि सक्नुहुन्छ । नेपालको जनसंख्या ३ करोड छ । प्रतिव्यक्ति आयसँगै खर्चयोग्य आय पनि बढिरहेको छ । त्यही आधारमा मनोरञ्जनमा खर्च बढ्छ र बजार विस्तार हुने निश्चित हुन्छ । जब खर्चयोग्य आय वृद्धि हुन्छ, मनोरञ्जन उद्योग झन् ठूलो बन्छ । भारतको उदाहरण हेर्दा पनि यही यथार्थ देखिन्छ ।
स्तरीय फिल्म निर्माण नै नगर्ने हो भने इन्डियन फिल्महरू हावी हुन्छन् नै । तर अहिले हेर्नुभयो भने, देशभरका ५० प्रतिशत हलमा ‘परान’ प्रदर्शन भइरहेको छ । हिन्दी फिल्महरूको शो कम छ । त्यसैले, एउटा राम्रो स्तरीय फिल्म निर्माण गर्ने हो भने रोक्न सकिने रहेछ ।
म सबै व्यावसायिक क्षेत्रलाई यसलाई एउटा अवसर (अपच्र्युनिटी) का रूपमा हेर्न आग्रह गर्न चाहन्छु । सबैले फिल्म उद्योग र मनोरञ्जन क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्छ, यसमा अत्यन्त राम्रो सम्भावना (स्कोप) विद्यमान छ ।
मैले गर्ने व्यवसायको समग्र सन्दर्भमा फिल्म निर्माण एकदमै सानो क्षेत्र हो । यसबाट आउने सम्भावित नाफा पनि मेरो लागि सानो नै हो । तर यसको सफलता भने मेरो लागि विशेष महत्त्व राख्छ, किनभने यो मेरो भावनासँग प्रत्यक्ष रूपमा जोडिएको काम हो । यस कारणले गर्दा म अहिले नाफा बढी भयो भनेर अत्यधिक खुसी हुने वा घाटा भयो भनेर दुखी हुने चरणबाट बाहिर आइसकेको छु जस्तो लाग्छ । यहाँ त म केही नयाँ र अर्थपूर्ण काम गरिरहेको छु भन्ने भित्री खुसीले नै विशेष सन्तोष दिन्छ ।
मैले जति धेरै मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छु, त्यही मेरो सन्तुष्टी सूचकांकमा सबैभन्दा माथि रहने कुरा हो । चाहे त्यो रोजगारीका अवसर सिर्जना गरेर होस् वा अन्य कुनै प्रकारको काममार्फत ।
आगामी दिनमा गोल्छा समूहले सामाजिक सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा ठूलो-ठूलो परियोजना सञ्चालन गर्दैछ, किनभने अधिकतम मानिससँग जोडिनु अत्यावश्यक छ । र यही आधारमा यो फिल्म लाखौं मानिससँग जोडिने एउटा महत्त्वपूर्ण माध्यम बनेको छ । त्यसैले यस फिल्मको सफलताका कारण मेरो लागि सन्तुष्टि र खुसीको स्तर एकदमै उच्च भएको छ ।
मैले धेरैलाई चिनेको छैन । फिल्ममा अभिनय गर्ने कलाकारहरूलाई भेट्दा पनि कसैले चिनाइदिनुपर्छ । म कुनै पनि सुटिङमा गएको छैन । मैले पहिले नै भनेझैं, यो फिल्म मेरो विश्वास र म बोल्दै आएको कुरासँग मेल खाएकै कारण मैले लगानी गरेको हुँ । तर फिल्म निर्माण भनेको अत्यन्तै प्राविधिक विषय हो, जहाँ मैले न हस्तक्षेप गरेको छु, न त्यो मेरो विशेष रुचिको विषय हो । तर सन्देश र कथा भने मेरो रुचिको विषय हो । त्यसैले मैले धेरै कलाकारहरूलाई चिनेको छैन । उहाँहरू व्यावसायिक हुनुहुन्छ, म पनि व्यावसायिक हुँ । मैले उहाँहरूलाई काममार्फत चिनेको हुँ, अन्य कुनै तरिकाले होइन ।
मैले सबैलाई भनेको छु, परान तपाईंलाई शिक्षा दिन बनाइएको फिल्म होइन । रुवाउनका लागि पनि बनाइएको होइन । यसमा न कसैको बाध्यता देखाइएको छ, न चरम अभाव । न कसैलाई भिलेन देखाइएको छ, न कसैलाई हिरो । परानसँग हरेक नेपालीले आफूलाई जोड्न सकेको छ । यही कारण परान विशेष बनेको छ, मेरो विचारमा हरेक नेपालीले हेर्नैपर्ने फिल्म हो परान ।
भिडियोः रवि धिताल








प्रतिक्रिया