
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले दुईवटा विभिन्न जाँचबुझ आयोगका प्रतिवेदन र सरकारको ‘सुशासन मार्गचित्र’ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले बुधबार ‘भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । उक्त प्रतिवेदनलाई सर्वसाधारणको जानकारी र अध्ययनका लागि संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गरिनेछ ।
यसअघि हिजो (मंगलबार) मात्रै प्रधानमन्त्रीले ‘नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७’ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् । लामो समयदेखि सार्वजनिक हुन नसकेको यो प्रतिवेदनलाई पनि संघीय संसद सचिवालयको पुस्तकालयमा सुरक्षित राखिने निर्णय भएको छ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छन् । मुलुकमा सुशासन कायम गर्न कोसेढुंगा सावित हुने ठानिएको यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले दिएको जानकारी अनुसार, सरकारी कामकारबाहीलाई पारदर्शी बनाउने र नागरिकको सूचनाको हकलाई सम्मान गर्ने उद्देश्यले यी महत्त्वपूर्ण दस्तावेजहरू बाहिर ल्याउने निर्णय गरिएको हो ।








प्रतिक्रिया