
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलताका साथ पूरा भएको घोषणा गर्दै पदबाट बिदा लिएकी छन् । २०८२ भदौको ‘जेनजी’ जनआन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै बिदा लिएको घोषणा गरिन् ।
उनले फागुन २१ गते सम्पन्न ऐतिहासिक निर्वाचनले मुलुकमा परिवर्तनको स्पष्ट जनादेश दिएको बताइन् । आफ्नो ६ महिने कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले लोकप्रिय र चुनावी एजेन्डामा मात्र नअलमलिई बेथितिविरुद्ध कठोर कदम चालेको बताइन् । ठेक्का लिएर काम नगर्ने र बिजुली बालेर महसुल नतिर्ने जस्ता बेथितिविरुद्ध सरकारले ऐतिहासिक रूपमा कठोर कदम चालेको छ पनि उनको दाबी छ ।
प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचन परिणामले ‘वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउँदैन’ भन्ने भाष्यलाई गलत सावित गरिदिएको उल्लेख गरिन् । नागरिकहरूले परिवर्तन र सुशासनको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै उनले अब बन्ने युवा नेतृत्वको सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरिन् । आन्दोलनकारीसँग २०८२ मंसिर २४ मा भएको ऐतिहासिक सम्झौता र घाइतेहरूको उपचार तथा पुनःस्थापनाका बाँकी कामहरू नयाँ सरकारले प्राथमिकतामा राख्नेमा उनले आशा व्यक्त गरिन् ।
आफ्नो नेतृत्वको सरकारले निकै सानो टोलीका साथ मितव्ययी ढंगले काम गरेको दाबी गर्दै कार्कीले भनिन्, ‘हामीले गलत नियत राखेर कुनै काम गरेनौँ। पारदर्शिता र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गर्यौं ।’
नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाई दिँदै उनले नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको बताइन् । सम्बोधनको अन्त्यमा उनले भनेकी छन्, ‘आज म पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु ।’
भोलि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले देशको ४७ औ प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन् ।
यस्तो छ, प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार ।
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ । म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्यो । ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्यो । ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्यो ।
सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु । र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न ।
तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु । हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु ।
भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ ।
अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु ।
हामी सबैलाई स्मरण होला- २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति । ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो । त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो ।
सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्यौँ ।
आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो । र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो ।
यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो । म उहाँहरुको उच्च प्रशंसा गर्दछु ।
नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ । यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु ।
चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु ।
राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ । यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ ।
आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान ससम्मान सम्झिन चाहन्छु ।
निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ ।
सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु । यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु ।
यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ ।
मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु ।
मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ ।
विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ ।
निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ । आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्याउन सकिनेछ ।
यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ । संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ । र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ ।
यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ । यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु । यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु ।
छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन । तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ ।
जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्यौँ । परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन् । ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ ।
जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरुसँग २०८२ मंसिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ । उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेका कारण आगामी सरकारले प्राथमिकतासाथ अघि बढाउने विश्वास लिएकी छु ।
आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ । र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरुको सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ ।
जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छूट, सहुलियत तथा सुविधाहरू प्रदान गरी आर्थिक गतिविधि सहजरूपमा सञ्चालन गर्न र उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन । हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्यांकन गर्ने जिम्मा यहाँहरुलाई नै छाड्न चाहन्छु । यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ ।यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्यौँ भन्ने पनि दाबी छैन । तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ ।
यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूकै कारण सम्भव भएको हो । यस निम्ति तपाईंहरू सबैप्रति नतमस्तक छु । यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला ।
अन्त्यमा, मुलुकका सबै संस्था र सबै पक्षले आआफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन । यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु ।
अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु । र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु- जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ । धन्यवाद । नमस्कार ।








प्रतिक्रिया