कुमारी बैंकले सुरु गर्यो मास्टरकार्ड सेवा, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

0
Shares

काठमाडौं । कुमारी बैंकले आफ्नो मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बैंकले डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गर्दै ग्राहकहरूका लागि डेबिट मास्टरकार्ड जारी गर्न थालेको बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए । उनले बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिए ।

यसैगरी कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टरकार्डको महत्त्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिँदै यस डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् ।

बैंकले जारी गरेको डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्ड मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने बैंकले जनाएको छ । बैंकले गत वर्षदेखिनै आफ्ना एटीएमहरुमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने बताएको छ ।

कुमारी बैंकले विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ । बैंकले विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरु मार्फत सेवा दिइरहेको छ ।