प्रधानमन्त्रीको कार्यकक्ष वास्तुअनुसार मिलाइयो, मुख्यसचिव र सचिवको अनुमतिबिना प्रवेश रोक

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले वास्तुशास्त्रअनुसार प्रधानमन्त्री कार्यालयको कार्यकक्ष र मन्त्रिपरिषद् बैठकको आसन मिलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार र बिहीबार बालेनको टोलीले वास्तुविज्ञसहित पुगेर नयाँ सेटअप तयार पारेको हो ।

काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी प्रमुख एवं सह–सचिव प्रदीप परियार र बालेनका सहयोगी कुमार बेनको उपस्थितिमा वास्तुविज्ञले कार्यालयको निरीक्षण गरेका थिए । वास्तुविज्ञको निर्देशनअनुसार मन्त्रिपरिषद् बैठक हलको सेटिङ परिवर्तन गरिएको छ । यसअघि पूर्वतर्फ रहेको प्रधानमन्त्रीको आसनलाई अब उत्तरतर्फ फर्काइएको छ।

प्रधानमन्त्रीको निजी कार्यकक्षमा कुर्सीको दिशा उत्तरतर्फ नै यथावत राखिए पनि टेबुलमा रहेको सिसा (ग्लास) हटाइएको छ । यस्तै, प्रधानमन्त्रीको कुर्सीको ठीक पछाडि रहने राष्ट्रिय निशान चिन्हलाई अब दाहिनेतर्फ सारिएको छ। कुटनीतिज्ञहरूसँग भेटघाट गर्ने स्थानको आसनमा पनि परिवर्तन गरिएको छ । कार्यालयमा नयाँ सोफाहरू ल्याइएको छ भने झण्डा पनि फेरिएको छ ।

प्रशासनिक सुधारका लागि बालेनले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने र विभिन्न विभागहरूमा विज्ञहरू राखेर मन्त्रालयहरूको अनुगमन गर्ने योजना बनाएका छन् ।

बालेन शाहले शुक्रबार मध्यान्ह १२:३४ बजे राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । रास्वपाका अनुसार शपथ ग्रहणमा वैदिक र बौद्ध दुवै विधि प्रयोग गरिनेछ । जसमा १०८ बटुकबाट स्वस्ति शान्ति वाचन, ७ वटा शंखको नाद र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ हुनेछ । शपथपछि शुक्रबार दिउँसो २:१५ बजे बालेनले सिंहदरबार पुगेर कार्यभार सम्हाल्नेछन् ।

नयाँ प्रधानमन्त्रीको कार्यभारसँगै प्रधानमन्त्री कार्यालयको सुरक्षा व्यवस्थामा परिवर्तन गरिएको छ । अब प्रधानमन्त्री कार्यालयको कम्पाउण्डभित्र प्रवेश गर्न सचिवालयको अनुमति अनिवार्य गरिएको छ । विगतमा भएका प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै गेटबाटै प्रवेशमा कडाइ गरिएको कर्मचारीहरूले बताएका छन् ।

भदौ २४ गते सिंहदरबारको साविकको कार्यालयमा आगजनी भएपछि हाल गृह मन्त्रालयको नयाँ भवनमा अस्थायी रूपमा प्रधानमन्त्री कार्यालय सञ्चालन भइरहेको छ ।