
काठमाडौं । उच्च राजनीतिक तहबाट गभर्नर बन्ने आश्वासन पाएपछि गत बैशाख ५ गते नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. गुणाकर भट्टले राजीनामा दिएका थिए । कामु गभर्नरको जिम्मेवारीमा थिइन् डा. नीलम ढुंगाना तिम्सिना । चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बरिष्ठताका आधारमा तिम्सिनाले कामुको जिम्मा पाएकी थिइन् ।
गभर्नर बन्ने दौडमा रहेकी सिनियर डेपुटी गभर्नर तिम्सिनाले भट्टको राजीनामा गरिनन् । रित पुर्याएर दिएको राजीनामालाई पनि तिम्सिनाले प्रतिस्पर्धी ठानेर पदको दुरुपयोग गर्दै राजीनामा स्वीकृत गरिनन् । भट्टले राष्ट्र बैंकको कर्मचारी विनियमावली अनुसार एक महिनाको तलब राष्ट्र बैंकको खातामा जम्मा गरेको भौचरसहित राजीनामा दिएका थिए ।
बैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गुणाकरलाई गभर्नर बनाउने सहमति भएको थियो । देउवाले निवासमै बोलाएर गभर्नर नियुक्त गर्न लागेको भन्दै राम्रो काम गर्न शुभकामनासमेत दिएका थिए । देउवाले शुभकामना दिए पछि भट्टले पदबाट राजीनामा दिएका थिए ।
२०६१ सालमा महान्यायधीवक्ताको राय देखाएर गुणाकरको राजीनामा स्वीकृत नगरी नीलमले राम्रै गेम खेलिन् । डेपुटी गभर्नर हुँदाहुँदै बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नहुने महान्यायाधिवक्ताको राय थियो । त्यसैले नीलमले गुणाकर रोक्न राजीनामा स्वीकृत नगरेकी हुन् ।
अर्थमन्त्री र प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेर सहजीकरण गर्न आग्रह गर्दा पनि नीलमले अस्वीकार गरिरहिन् ।
नीलमले बखेडा झिकेपछि कांग्रेसले विश्व पौडेललाई गभर्नरको उम्मेद्वारका रुपमा अघि सार्यो । फागुन २१ गते गठन भएको गभर्नर सिफारिस समितिका सदस्य थिए डा पौडेल । कांग्रेसले गभर्नर बनाउने आश्वासन पाएपछि पौडेलले राजीनामा दिए । त्यसअघिसम्म पौडेल गुणाकरलाई नै गभर्नर बनाउन हिँडेका थिए ।
सुरुमा अम्पायर रहेका पौडेल पछि आफैं खेल मैदानमा छिरे र गोल हाने । गभर्नरको पदबहाली गर्दै गर्दा तपाईंमाथि अम्पाएर नै मैदानमा उत्रिएको आरोप छ, रेफ्रीको भूमिकामा रहेको व्यक्ति दक्ष खेलाडी नदेखेर मैदानमा आउनु भएको हो ? भन्ने रुपत्रकारले सोधेको प्र्रश्नमा पौडेलले प्रतिप्रश्न गरे- ‘तपाईंलाई के लाग्छ ?’
त्यसपछि उनले जवाफ दिए– ‘यसमा म केही भन्न चाहन्न । धेरै मान्छे क्षमतावान छन् । मलाई जसले छान्यो उनीहरूलाई गएर सोध्नूहोस् ।’
राष्ट्र बैंकको स्वायत्तता कसरी जोगाउनुहुन्छ ? भन्ने प्रश्नमा ऐनले दिएको अधिकार गर्छु भन्ने जवाफ दिए ।
‘ऐनले दिएको अधिकार हामीले प्रयोग गर्ने हो, झगडा गर्ने कुरा होइन,’ पौडेलले भने- सबै कर्मचारी एकमत नै हुनुहुन्छ, डिमार्केसन कहाँ छ भनेर क्लियर हुनुपर्छ ।’
सबैसँग छलफल गरेर नीति निर्माण गर्ने उनले दोहोर्याए । ‘एक दिन अगाडि नीति ल्याएर त्यसमा जबरजस्ती गराउने काम गर्दिनँ,’ उनले भने ।
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा कामु गभर्नरले स्वीकृत गर्नुभएको थिएन, अब के हुन्छ ? भन्ने प्रश्नमा पौडेलले भने- ‘मेरो हातमा केही पनि आएको छैन । म त भर्खर आएको छु । यो आन्तरिक कुरा हो । पुरानो स्थिति नआउला भन्ने लाग्छ ।’
पौडेल कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने मुडमा भएको उनको जवाफले प्रष्ट पार्छ । आफूलाई सहयोग गर्नका लागि बाँकी रहेको समय काम गर्न आग्रह गर्दै गभर्नर पौडेलले भट्टलाई काममै फर्काउने तयारीमा छन् ।
राष्ट्र बैंकका कर्मचारीहरु पनि भट्ट फर्केर आउन् भन्ने चाहन्छन् । र, यसका लागि भट्ट पनि तयार नै देखिन्छन् । राजीनामा स्वीकृत भएर बाहिरै भए पनि आफूले सिस्टमका लागि पनि सहयोग गर्नैपर्ने उनले प्रतिक्रिया दिए ।
‘राजीनामा स्वीकृत भएन भने हाजिर भएर काममा फर्कनुपर्छ किनभने, कर्मचारीसँग राजीनामा स्वीकृत नभएपछि काममा फर्किनुको विकल्प छैन,’ भट्टले भने- ‘जहाँ रहेर पनि सिस्टमलाई सहयोग गरिरहन्छु । विश्वजी त झन् मेरै साथीभाई हुनुभयो ।’
डा प्रकाशशरण महत अर्थमन्त्री भएको बेला पौडेल र भट्ट दुबै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए । दुबैजना देउवा निकट हुन् ।
राष्ट्र बैंकभित्रकै कांग्रेस निकट कार्यकारी निर्देशकदेखि तल्लो तहका कर्मचारीले पनि नयाँ गभर्नर पौडेलले आग्रह गरेर गुणाकर भट्टलाई काममा फर्काउनु पर्ने लबिइङ थालेका छन् ।
‘विश्वजी राष्ट्र बैंकबाट गुणाकरजीलाई गुमाउन चाहनुहुन्न, उहाँले फर्काउनुहुन्छ र विश्वजीको आग्रहलाई गुणाकरजीले स्वीकार गर्नुपर्छ’ एक कार्यकारी निर्देशकले भने– गुणाकरजी हुँदा गभर्नर पौडेललाई काम गर्न धेरै सजिलो हुन्छ, त्यसैले उहाँले गुणाकरजीलाई रोक्नुपर्छ ।’
भट्ट आगामी केही महिनाभित्रै अनिवार्य अवकास हुँदैछन् । गभर्नर नबन्ने पक्का भएपछि अमेरिका भ्रमणमा गएका भट्ट अहिले पनि अमेरिकामै छन् । अमेरिकाबाट फर्किने बित्तिकै राष्ट्र बैंकमा हाजिर भएर भट्ट नियमित काममा फर्किने स्रोतहरुको दाबी छ।
‘भट्टजी राष्ट्र बैंकको विज्ञ सल्लाहकार वा योजना आयोगमा काजमा जानसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।
गभर्नर पौडेलले भट्टको राजीनामा स्वीकार नगरी काममा फर्काउने आफू निकटहरुसँग बताएका छन् ।
नीलमले स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको नाम गभर्नर सिफारिस समितिले सिफारिस नै गरेन। भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो । गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु गभर्नर नीलमले शक्तिको दुरुपयोग गर्दा विश्व पौडेलको भाग्य चम्कियो।







प्रतिक्रिया