
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेल कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने मुडमा छन् । आफूलाई सहयोग गर्नका लागि बाँकी रहेको समय काम गर्न आग्रह गर्दै गभर्नर पौडेलले भट्टलाई काममै फर्काउने आग्रह गर्ने भएका हुन् ।
नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन् । प्रतिस्पर्धी रोक्ने नियतले नीलमले भट्टको राजीनामा पूर्णगभर्नर आएपछि मात्रै निर्णय हुने बताउँदै आएकी थिइन् ।
नीलमले स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको नाम गभर्नर सिफारिस समितिले सिफारिस नै गरेन । भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले डा विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो । गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु गभर्नर नीलमले शक्तिको दुरुपयोग गर्दा विश्व पौडेलको भाग्य चम्कियो ।
नवनियुक्त गभर्नर पौडेल स्वयं गुणाकरलाई गभर्नर बनाउन लागि परेका थिए । तर नीलमले बखेडा झिकेपछि गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएर पौडेल स्वयं गभर्नरको प्रतिस्पर्धामा उत्रिए ।
नयाँ गभर्नरले तपाईंको राजीनामा स्वीकृत गर्नुभएन भने के हुन्छ ? भन्ने क्लिकमान्डुको प्रश्नमा गुणाकर भट्टले भने, ‘मेरो राजीनामा स्वीकृत भएन भने मैले कि बिदा लएिर बस्नुपर्छ, कि त नियमित काममा फर्किनुपर्छ ।’
राजीनामा स्वीकृत भएर बाहिरै भए पनि आफूले सिस्टमका लागि पनि सहयोग गर्नैपर्ने उनले प्रतिक्रिया दिए ।
‘राजीनामा स्वीकृत भएन भने हाजिर भएर काममा फर्कनुपर्छ किनभने, कर्मचारीसँग राजीनामा स्वीकृत नभएपछि काममा फर्किनुको विकल्प छैन,’ भट्टले भने ।
स्रोतका अनुसार पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर काममा फर्काउन हदैसम्मको प्रयास गर्नेछन् । डा प्रकाशशरण महत अर्थमन्त्री भएको बेला पौडेल र भट्ट दुबै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए ।
‘विश्वजी राष्ट्र बैंकबाट गुणाकरजीलाई गुमाउन चाहनुहुन्न, उहाँले फर्काउनुहुन्छ र विश्वजीको आग्रहलाई गुणाकरजीले स्वीकार गर्नुहुन्छ भन्ने लाग्छ,’ स्रोतले भन्यो ।
दुबैजना देउवा निकट हुन् । राष्ट्र बैंकभित्रकै कांग्रेस निकट कार्यकारी निर्देशकदेखि तल्लो तहका कर्मचारीले पनि नयाँ गभर्नर पौडेलले आग्रह गरेर गुणाकर भट्टलाई काममा फर्काउनु पर्ने लबिइङ थालेका छन् ।
‘गुणाकरजी हुँदा गभर्नर पौडेललाई काम गर्न धेरै सजिलो हुन्छ, त्यसैले उहाँले गुणाकरजीलाई रोक्नुपर्छ,’ एक कार्यकारी निर्देशकले क्लिकमान्डुसँग भने ।
भट्ट आगामी साउन अन्तिममा अनिवार्य अवकास हुँदैछन् । गभर्नर नबन्ने पक्का भएपछि अमेरिका भ्रमणमा गएका भट्ट अहिले पनि अमेरिकामै छन् । अमेरिकाबाट फर्किने बित्तिकै हाजिर भएर भट्ट नियमित काममा फर्किने स्रोतहरुको दाबी छ ।
केहीदिन अघि क्लिकमान्डुसँगको कुराकानीमा पौडेलले आफू गभर्नर भए भट्टको राजीनामा स्वीकार नगरी काममा फर्काउने बताएका थिए ।
प्रतिक्रिया