गुणाकर रोक्न शक्तिको दुरुपयोग गर्दा गभर्नरमा चिप्लिइन् नीलम

19.3k
Shares

काठमाडौं । कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको नाम गभर्नर सिफारिस समितिले सिफारिस नै गरेन ।

भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले डा विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो ।

गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु गभर्नर नीलमले शक्तिको दुरुपयोग गर्दा विश्व पौडेलको भाग्य चम्कियो । नीलम हेरेको हेर्यै भइन् ।

बैशाख २ मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले १८औं गभर्नरमा राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।

सोही राजनीतिक सहमतिपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा अगाडि बढाउने सहमति भएको भन्दै शुभकामना नै दिएको भट्टले उच्च राजनीतिक नेतृत्वले नै गभर्नर बनाउने लागिएको बताएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

राष्ट्र बैंक ऐनको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्न नमिल्ने कुनै कानुनी व्यवस्था नभए पनि गभर्नर नियुक्तमा महान्यायधिवक्ताले २०६१ मा दिएको एउटा रायको आधार देखाउँदै कार्यकारी निर्देशकबाट राजीनामा दिनुपर्ने चर्चा चलाइयो । सोही कारण भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

गुणाकरलाई रोकेर नीलमले भएजतिको बल लगाए पनि त्यो पार लगाउन सकिनन् । उल्टै उनको ओज घट्यो ।