एनएसएलमा रेफ्रीको निष्पक्षतामाथि प्रश्न, आयोजकले गर्‍यो गुनासो बेवास्ता


काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिगका रेफ्रीमाथि गम्भीर आरोप लागेको छ । खेल सञ्चालक समेत रहेका रेफ्रीको क्षमता र निष्पक्षतामाथि प्रश्न उठेको हो ।

रेफ्रीले कुनै टोलीको पक्षमा गोप्य रुपमा पेनाल्टीको संकेत गरेको देखिएपछि सो व्यक्ति रेफ्रीको रुपमा आगामी खेलमा सहभागी नहुन क्लबहरुले अनुरोध गरेका थिए । तर, आयोजकले क्लको कुरा नसुनी सो रेफ्रीलाई खेलमा सहभागी गराएपछि तनाव बढेको हो ।

हालैको एक खेलमा चौथो रेफ्रीले झापा एफसीका पक्षमा गोप्य रूपमा पेनाल्टीको संकेत गरेको स्पष्ट देखिएपछि चितवन एफसीले सो व्यक्ति रेफ्रीको रूपमा आगामी खेलमा नआउन् भनेर एनएसएल आयोजकलाई औपचारिक अनुरोध गरेको थियो । तर आयोजकले ती रेफ्रीलाई केही खेलमा पुनः मुख्य रेफ्री र चौथो रेफ्रीको रूपमा नियुक्त गरेको हो। ।

नेपालको रेफ्री प्रणालीप्रति अघिल्ला विवादहरू र वर्तमान अवस्था हेर्दा फुटबलमा लगानी गर्नेहरुका लागि निराशाजनक मात्र होइन, अति असह्य पनि बन्न थालेको छ ।

चितवन एफसीका अध्यक्ष सचिन ढकाल भन्छन्, ‘यो घटनाले मात्र होइन, विगतका विभिन्न खेलहरूमा पनि बारम्बार विवादास्पद निर्णयहरू आइरहेका छन् । जुन निर्णयहरू प्रायः एकतर्फी, अस्पष्ट र फुटबलको मर्मविपरीत देखिन्छन् । यस्ता निर्णयहरूले करोडौं रुपैयाँको लगानी, खेलाडीहरूको मेहनत र समर्थकहरूको भावना माथि प्रश्नचिन्ह खडा गरेको छ ।’

ढकालले रेफ्रीहरूको स्तर तत्काल सुधार गर्न वा विदेशी रेफ्रीहरूको व्यवस्था गर्न माग गरेका छन् । त्यसपछि मात्र एनएसएलमा निष्पक्षता कायम हुने उनको तर्क छ ।

ढकालले खेलाडीहरू मैदानमा लडिरहे तापनि वा आफूहरुले करोडौं लगानी गरिरहे पनि अन्यायको सामना गरेको र खेल खेलाउने रेफ्री जवाफदेही नभएको बताए ।

यसअघि पोखरा थन्डर्सले पनि विदेशी रेफ्री आवश्यक रहेको आवाज उठाएको छ ।

अप्रिल ६ तारिखको चितवन र झापाको खेलमा फोर्थ अफिसियलले झापाको पक्षमा पेनाल्टीको संकेत गरेका थिए ।

Match between Jhapa FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Sunday 06.April.2025.

सो खेलमा ९० मिनेटपछि ७ मिनेट अतिरिक्त समय थपिएको थियो । खेल चितवनले १-० को लिड गरिरहेको थियो। ९२ औं मिनेटमा आरोन थापा चितवनको पेनाल्टी बक्सभित्र लडे । रेफ्री कबिन बेञ्जनकारले सुरूमा कुनै निर्णय लिएनन्, त्यसपछि उनले सहायक रेफ्रीलाई हेरे । सहायक रेफ्रीले इसारा गरेपछि कबिनले झापालाई पेनाल्टी अवार्ड गरे । निरज चौधरीले फल गरेको निर्णय अन फिल्ड रेफ्रीले तय गर्न नसकेका कारण रेफ्रीको क्षमतामाथि प्रश्न उठेको हो ।

झापा स्थायी घर भएका व्यक्ति रेफ्री वा फोर्थ अफिसियल हुँदा कन्फ्लिक्ट अफ इन्टरेस्ट हुने टिमहरूको ठहर छ । रेफ्री श्याम दनुवार झापाका हुन् । चितवनले उनै दनुवारको पक्षपाती निर्णयले आफूले जितेको खेल बराबरीमा रोकिनुपरेको दाबी गरेको छ ।

झापासँगको खेलपछि चितवनका प्रशिक्षक नवीन न्यौपानेले रेफ्रीको भुमिकामाथि प्रश्न गरेका थिए ।

दनुवारले ३ खेल मुख्य रेफ्रीको रूपमा खेलाएका छन् । चितवनको असन्तुष्टिका बाबजुद दनुवारलाई नै चितवन र काठमाडौंबीचको खेल खेलाउने जिम्मा दिइएको थियो । चितवन र ललितपुरबीचको खेल पनि दनुवारले खेलाएका थिए ।

Match between Kathmandu Rayzrs FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025.
Match between FC Chitwan and Lalitpur City FC at Dasharath Stadium in Kathmandu on Thursday 10.April.2025.

रेफ्रीका कारण एनएसएलमा विभिन्न समय विवाद भइरहेको छ ।

ललितपुर र झापाबीचको खेलको ८०औँ मिनेटमा गोललाइनबाट क्लियर भएको बलले गोलको मान्यता नपाउँदा पोखराको टेक्निकल जोन आक्रोशित भएको थियो । त्यसको दुई मिनेटपछि ८२औँ मिनेटमा रेफ्री र पोखराका अफिसियलबीच विवाद हुँदा खेल तनावपूर्ण बनेको थियो ।

पोखराका टिमबाट सुन्दर थापाले गोललाइन बललाई गोल मान्यता नदिएको भन्दै फोर्थ अफिसियल उमेश बिडारीसँग विवादमा उत्रिएका थिए । बिडारी र थापाबीच धक्कामुक्कीको स्थिति बन्दा छुट्याउन पुगेका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलाई समेत थापाले तानेर पोखराको टेक्निकल लाइननजिक भुइँमा लडाएका थिए ।

अघिल्लो संस्करणको एनएसएलमा समेत रेफ्रीको निर्णयका कारण पटकपटक तनावको स्थिति बनेको थियो । खासगरी नुवारसँगै व्यञ्जनकार, किशन कनैया यादव, माधव खत्री लगायत रेफ्रीको निर्णय आलोचित हुँदै आएको छ । क्लब र टिमहरुले नेपाली रेफ्रीमाथि प्रश्न उठाएपछि गत सिजनको एनएसएलको फाइनलमा भारतीय रेफ्री ल्याइएको थियो ।

एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

गत सिजनको उपाधि विजेता टोलीले ट्रफीसहित नगद ७० लाख पुरस्कार प्राप्त गरेको थियो । एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेज्मेन्ट प्रालि हो ।