
काठमाडौं । विश्व फुटबलका हस्ती ब्राजिली लिजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को अवसरमा उनी काठमाडौं आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विशेष सम्मानका साथ स्वागत गरिएको थियो ।
नेपाल बसाइका क्रममा कार्लोसले नेपाली फुटबलप्रेमीहरूसँग भेटघाट गर्नेछन् भने दशरथ रंगशालामा आयोजना हुने एनएसएलको ‘क्वालिफायर–टु’ खेल समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई धन्यवाद दिएका छन् ।

उनले यसअघि भारत आउँदा नेपालको बारेमा सुनेको र अहिले नेपाल आइपुग्दा धेरै खुसी लागेको बताए । उनले नेपालमा रहेका फुटबल खेलाडीलाई सन्देश दिँदै मेहनत र परिश्रमले मात्र उपलब्धि हासिल गर्न सकिने बताए ।
५२ वर्षीय कार्लोसले सन् २०१६ मा व्यावसायिक फुटबलबाट सन्न्यास लिएका थिए । ब्राजिलका पूर्व डिफेन्डर कार्लोस आक्रामक खेलशैलीका कारण चर्चामा रहने गरेका थिए ।
उनी शक्तिशाली प्रहार र फ्रिकिकका लागि चर्चित थिए । कार्लोसले ब्राजिलका लागि तीनवटा विश्वकपमा सहभागिता जनाएका छन् । सन् २००२ को विश्वकपमा ब्राजिललाई उपाधि जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलको राष्ट्रिय टोलीका लागि उनले १२५ खेल खेलेर १० गोल गरेका छन् ।
उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट १२ वर्ष खेले । त्यस्तै इटालियन क्लब इन्टर मिलानमा पनि उनले केही समय बिताएका थिए।













प्रतिक्रिया