राष्ट्र बैंकको ईडीबाट प्रकाश श्रेष्ठले १८ फागुनमै दिएका थिए राजीनामा, के गर्दैछन् गुणाकर भट्ट ?

3.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका छन् । हाल काजमा राष्ट्रिय योजना आयोगका सदस्य रहेका श्रेष्ठले गत १८ फागुनमा राजीनामा दिएका हुन् ।

श्रेष्ठको राजीनामा गभर्नर महाप्रसाद अधिकारीले तोक लगाइसकेको स्रोतले पुष्टि गरेको छ । सरकारले गभर्नर नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउनुपूर्व नै श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ गभर्नरका आकांक्षीमध्येका एक हुन् । एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ अहिलेको अर्थमन्त्री विष्णु पौडेल पहिले अर्थमन्त्री हुँदा अर्थमन्त्रीको आर्थिक सल्लाहकार भएर पनि काम गरेका थिए ।

गभर्नरको दावेदार रहेका श्रेष्ठले गभर्नर नियुक्ती प्रक्रिया सुरु हुनभन्दा अघि नै राजीनामा दिनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

यद्यपी उनले १८ फागुनमा नै राजीनामा दिएकोले गभर्नर नियुक्त हुने निश्चित भएर नै राजिनामा दिएको हो भन्ने अवस्था देखिँदैन । श्रेष्ठ आगामी जेठमा ५८ वर्षको उमेरहदका कारण राष्ट्र बैंकबाट अवकास हुँदैछन् ।

यसअघि गभर्नर नियुक्ति प्रक्रिया सुरु भएसँगै गभर्नर बन्ने प्रतिस्पर्धामा रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पनि मंगलबार राजीनामा दिएका थिए ।

राष्ट्र बैंककै अर्का कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि गभर्नरको आकांक्षीका रुपमा छन् । ऐनले नेपाल राष्ट्र बैंकको अधिकृत विशिष्टि (कार्यकारी निर्देशक) पदमा काम गरेको व्यक्तिलाई गभर्नरको लागि योग्य हुने व्यवस्था गरेको छ ।

यस आधारमा कार्यकारी निर्देशक गभर्नर हुन योग्य हुने देखिन्छ । ऐन अनुसार कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्न सिफारिस गर्न सिफारिस समितिलाई बाधा पर्ने देखिँदैन ।

यद्यपि अर्का कार्यकारी निर्देशक श्रेष्ठले राजिनमा दिएपछि भट्टले के गर्छन् भन्ने चासोको विषय बनेको छ । ऐनले वाणिज्य बैंक वा वित्तीय संस्थाका बहालवाला पदाधिकारी गभर्नर हुन नपाउने व्यवस्था रहेको कारण नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका थिए ।