वाणिज्य बैंकहरुका ठूला सेयरधनीः को बाहिरिए, को भित्रिए ?


काठमाडौं । बैंकिङ क्षेत्रको घट्दो प्रतिफलको असर आम लगानीकर्तामा मात्रै नभएर ठुला व्यवसायिहरुमा पनि पर्न थालेको छ । निरन्तर प्रतिफल घट्दै गएपछि बैंकको संस्थापक लगानीकर्ता धमाधम सेयर बेचेर बाहिरिन लागेका छन् ।

बैंकहरुले व्यवसाय विस्तार गर्दा पनि केन्द्रीय बैंकले स्प्रेड दर र सेवाशुल्कमा लगाएको लगमाले गर्दा बैंकहरुको आम्दानी कम हुँदै गयो । जसले गर्दा बैंकहरुको व्यवसाय र बढेको पूँजीको अनुपातमा नाफा बढ्न नसक्दा सेयरधनीले पाउने प्रतिफल घट्दै गएको छ । अझै पछिल्लो समय वाणिज्य बैंकहरुमा भएको मर्जरले गर्दा केही लगानीकर्ताले बैंकमा आफ्‌नो ‘निर्णायक होल्डिङ’ गुमाएका छन् । यस्तै मर्जरको कारण २ वर्षसम्म कर छुट पाउने भएपछि लामो समयदेखि संस्थापक सेयर होल्ड गरेका लगानीकर्ताहरु कर छुटको लाभ लिएर पनि बैंकबाट बाहिरिएका छन् ।

नेपाल राष्ट्र बैंकले सेवाशुल्क लगाएतका आम्दानीमा एउटा अंकुश लगाएको र स्प्रेड दर पनि घटाउँदै लैजादा व्यवसाय विस्तारको तुलनामा नाफा बढ्न सकेको छैन । व्यवसाय बढाउन निश्चित पुँजी आवश्यक पर्ने भएकोले बैंकहरुको पूँजी बढ्दै गएको छ । तर, लगानीकर्ताले पाउने प्रतिफल लगातार घट्दै गएर पछिल्लो समय वाणिज्य बैंकहरुको औसत प्रतिफल दर एकल अंकमा झरेको छ । पछिल्लो २ आर्थिक वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलताले बैंकका लगानीकर्ता प्रतिफल बिहिन भएका छन् ।

अर्थतन्त्रमा गहिरिँदै गएको संकटका कारण ठुला व्यवसायहरुमा नै नगद प्रवाहको समस्या हुँदा बैंकको सेयर बचेर भएपनि उक्त समस्याबाट बाहिर आउने प्रयासमा पनि कतिपय व्यवसायि देखिन्छन् । जसले गर्दा बैंकमा संस्थापक सेयर बेचेर बाहिरिने क्रम बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकलाई स्थापित गराउने महत्वपुर्ण भुमीका खेलेका बैंकका ठुला लगानीकर्ता मध्य एक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादर पाँडे लगानीको प्रतिफल १० प्रतिशतभन्दा तल झरेको अवस्थामा आफै पनि बैंकको लगानी झिक्ने बताउँदै आएका छन् । उनले क्लिकमाण्डुसँगको कुराकानीमा लगानीको प्रतिफल १० प्रतिशतभन्दा पनि तल झरेमा आफु पनि बैंकिङ व्यवसायबाट बाहिरिने बताएका थिए ।

निजी क्षेत्रका बाणिज्य बैंकमध्ये केही बैंकका सञ्चालक बाहिरिएका छन् भने केही ठूला सेयरधनीले स्वामित्व घटाउन थालेका छन् ।

ग्लोबल आइएमई बैंकमा को थपिए को निस्कीए ?

वासलाता र पूँजीको आधारमा सबैभन्दा ठुला ग्लोबल आईर्एमई बैंकमा पनि ठुला संस्थापक सेयरधनीको सेयर स्वामित्व परिवर्तन भएको छ । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कम्पनी छन् । जसमा केही ठूला सेयरधनी बाहिरिएका छन् भने केही नयाँ सेयरधनी बैंकमा भित्रिएका छन् ।

यो अवधिमा बैंकबाट २ ठूला सेयरधनी बाहिरिएका छन् । ठुला सेयरधनीको सुचिमा एक नयाँ सेयरधनीको प्रवेश भएको छ । बैंकबाट मंगल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बर बहादुर मल्ल बाहिरिएका छन् । मंगल कलशको बैंकमा ४४ लाख ३० हजार ५४ कित्ता अर्थात १.२४ प्रतिशत सेयर स्वामित्व थियो । यस्तै डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको थियो । दुबैले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् ।

बैंकका नयाँ ठूला लगानीकर्ताको रुपमा गौरी श्रेष्ठको ‘इन्ट्रि’ भएको छ । श्रेष्ठको नाममा बैंकको २० लाख ५८ हजार ९३२ कित्ता अर्थात ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सिद्धार्थ बैंकमा स्वामित्व कसले घटाए, कसले बढाए ?

सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३४ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा केही व्यक्तिले आफ्नो स्वामित्व घटाएका छन् भने केहीले पुरानो स्वामित्व बढाएका छन् ।विरेन्द्र कुमार शाहले आफ्नो स्वामित्वमा रहेको सेयर बढाएका छन् । अघिल्लो आव २०७९/८० मा उनको नाममा ०.९९ प्रतिशत सेयर रहेकोमा गत आवमा बढाएर १.५४ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा १.४९ प्रतिशत सेयर रहेको अशोक कुमार बाहेटीको सेयर स्वामित्व गत आवमा बढाएर १.४८ प्रतिशत पुर्याएका छन् ।
बैंकमा गत असार मसान्तसम्म राजेश कुमार केडियाले सेयर स्वामित्व घटाएका छन् । गत असार मसान्तमा उनको सेयर ०.७८ प्रतिशत छ। २०८० असारमा उनको बैंकका ०.८८ प्रतिशत सेयर थियो ।

यस्तै मदन लाल केडियाले पनि आफ्नो स्वामित्व घटाएका छन् । अघिल्लो आवको असार मसान्तसम्म बैंकमा उनको १.०८ प्रतिशत स्वामित्व रहेकोमा गत आवको सोही अवधिमा ०.७६ प्रतिशत रहेको छ ।

यस्तै केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । अघिल्लो आवको सोही अवधिमा उनको ०.६६ प्रतिशत सेयर थियो । विनय कुमार शाह माडवारीको ०.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.७७ प्रतिशत रहेको थियो ।

माछापुच्छ्रे बैंकमा स्वामित्व कसले घटाए, कसले बढाए ?
माछापुच्छ्रे बैंकको ठूला सेयरधनीमा कर्मचारी सञ्चय कोष भित्रिएको छ । बैंकको ठूला सेयरधनीमध्येका सुरेन्द्र महतोले आफ्नो स्वामित्व ह्वात्तै घटाएका छन् । बैंकका मुख्य लगानीकर्ता गैरआवाशिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोलाई आर्थिक संकट परेपछि उनले आफ्‌नो नममा रहेको सेयर बेच्न नमिलेर भाई सुरेन्द्र महत्तोको नाममा रहेको सेयर बिक्री गरेका हुन् । सञ्चालकबाट बाहिरिएको एक वर्षसम्म सेयर बेच्न नपाईने व्यवस्थाका कारण उनले भाईको नाममा रहेको सेयर कर्मचारी सञ्चयोषलाई बिक्री गरी आफ्‌नो नगद प्रवाहको समस्या टारेका हुन् ।

महत्तोको ठुलो लगानी रहेको मेडिसिटी अस्पतालले बैंकको ऋण तिर्न नसकेपछि महत्तोलाई नगद प्रवाहको समस्या परेको थियो।

सुरेन्द्र महत्तोको बैंकमा रहेको सेयर कर्मचारी सञ्चय कोषले खपरिद गरि ९.२४ प्रतिशत सेयर स्वामित्व बनाएको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्तमा बैंकमा महतोको ११.११ प्रतिशत स्वामित्व रहेको थियो । अहिले १.७१ प्रतिशतमात्रै बाँकी छ ।
बैंकमा महतोको १ अर्ब १३ करोड ९१ लाख ७ हजार ३०० रुपैयाँको सेयर स्वामित्व थियो । उनले ९४ करोड १ लाख ५६ हजार १०० रुपैयाँको सेयर बिक्री गरेका छन् । अब बैंकमा उनको स्वामित्वमा १९ करोड ८९ लाख ५१ हजार २०० रुपैयाँको छ ।

यस्तै बैंकमा ठुला लगानीकर्तामा एनएमबि सरल बचत फण्ड–ई पनि भित्रिएको छ । साथै,राजन लाल श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५ करोड २१ लख ७० हजार रुपैयाँको सेयर बिक्री गरेर बाहिरिएका छन् । पिकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्वामित्व ६.३५ प्रतिशतबाट घटेर ६.०७ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठले २.०६ प्रतिशत रहेको स्वामित्व १.७८ प्रतिशतमा झारेका छन् ।

यस्तै व्यावसायिक घराना लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले १.१८ प्रतिशतबाट ०.९१ प्रतिशतमा झारेका छन् । श्री हिमालयन इन्टर प्राइजेज प्रालिको ०.८० प्रतिशतबाट घटेर ०.७७ प्रतिशत रहेको छ । आजाद श्रेष्ठको ०.६४ प्रतिशतबाट घटाएर ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नेपाल एसबिआई बैंकमा को थपिए, को बाहिरिए ?

भारतको स्टेट बैंक अफ इण्डिया (एसविआई) को संयुक्त लगानी रहेको नेपाल एसबिआई बैंकको ठूला सेयरधनीबाट अमिर श्रेष्ठ बाहिरिएका छन् । बैंकका अनुसार गत आवको असार मसान्तसम्म बैंकमा नयाँ ठूला सेयरधनीको रुपमा बबिन श्रेष्ठ भित्रिएका छन् ।