बैंकबाट किन धमाधम बाहिरिँदैछन् संस्थापक सेयरधनी ?



काठमाडौं । हिमालयन बैंकसँगको ३१ वर्ष लामो साझेदारी अन्त्य गर्दै पाकिस्तानको हबिब बैंकले सेयर बेचेर फर्किने निर्णय गरेको छ ।

हबिबले हिमालयनमा भएको आफ्नो १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख २० हजार कित्ता सेयर प्रतिकित्ता १३० रुपैयाँका दरले हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई ३ अर्ब ६४ करोड रुपैयाँमा बेचेर बाहिरिने प्रक्रियामा छ ।

माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी सुरेन्द्र महतो पनि बैंकबाट बाहिरिन खोजेका छन् । महतोले आफ्नो स्वामित्वमा रहेको १०.९५ प्रतिशत १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् ।

बैंकमा यसअघि उनको ११.११ प्रतिशत सेयर स्वामित्व रहेको थियो । उनले यसअघि ०.१६ प्रतिशत सेयर बिक्री गरिसकेका छन् । बाँकी रहेको सेयर १०.९५ प्रतिशत सेयर पनि लिलामीमा रहेको छ ।

अहिले बैंकका ठूला सेयरधनी आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर धमाधम बैंकबाट बाहिरिरहेका छन् केही प्रकृयामा छन् ।

प्रभु बैंकका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी देवीप्रकाश भट्टचनले प्रभु बैंकमा रहेको करिब १ करोड कित्ता संस्थापक सेयर प्रतिकित्ता १२१ देखि २०० को बीचमा बिक्री गरेर बैंकको लगानीलाई घटाए । उनले बिक्री गरेकोमध्ये धेरै सेयर एशियन लाइफ इन्स्योरेन्स र त्यससँग सम्बन्धित व्यक्तिहरुले किनेका छन् । प्रभु बैंकमा अझै पनि भट्टचन र उनको समूहको १ करोड कित्ताको हाराहारीमा संस्थापक सेयर छ ।

कुनै समय बैंकको संस्थापक सेयरधनी बन्ने धेरैको चाहना हुन्थ्यो । लगानीको राम्रो प्रतिफल पाउने, लगानी डुब्ने सम्भावना नहुने र बैंकिङ बिजनेश ग्ल्यामर हुने लगायतका कारण बैंकको संस्थापक सेयरधनी बन्न लालयित हुन्थे । तर, अहिले अवस्था फेरिएको छ ।

बैंकिङ क्षेत्रले अत्यन्तै कम प्रतिफल दिएको र सञ्चालक समितिमा बस्दा बढी जोखिम हुने भएकाले सेयर बिक्री गरेको भट्टचन बताउँछन् ।

‘बैंकबाट अपेक्षित प्रतिफल नपाएपछि लगानी डाइभर्ट गरेको हुँ,’ भट्टचन भन्छन्, ‘हामी लगानीकर्ताले खोज्ने सुरक्षित प्रतिफल हो।’

बैंकिङ क्षेत्रको प्रतिफल कमजोर हुन थालेपछि संस्थाप सेयरधनीहरु धमाधम बाहिरिन थालेका हुन् । बैंकहरुले प्रकाशित गरेको सूचना हेर्दा गत बैशाख यतामात्रै १२४ भन्दा बढी संस्थापक सेयरधनीले ३ करोड ४८ लाख ४१ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

२०७७ असार २१ गते क्लिकमान्डुसँगको कुराकानीमा तत्कालिन नेपाल इन्भेष्टमेन्ट अहिलेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको आरओई १० प्रतिशतबाट झर्यो भने आफू बैंकिङ व्यवसायबाट बाहिरिने बताएका थिए ।

‘मेरो आशा के हो भने मैले कुनैपनि क्षेत्रमा लगानी गरेँ भने मलाई २० प्रतिशत नाफा हुनुपर्छ’ उनले भनेका थिए, ‘बैंकिङ क्षेत्रले दिने प्रतिफल १५ प्रतिशतमा झरिसक्यो । यसमा पनि म सहमत नै छु । तर, भोलि घटेर १० प्रतिशतमा झर्यो भने म त आफ्नो लगानी डाइभर्ट गर्छु । मैले समाजसेवा गर्न त बैंक खोलेको होइन । म व्यवसायी होइन, बैंकर हो ।’

बैंकमा गरेको लगानीबाट आउने पैसाले नै घर चलाउने भएकाले त्यहीबाट आउने पैसा घर खर्च पनि गर्न नसक्ने गरी आउन थाल्यो भने लगानी गरिरहन नहुने उनको तर्क थियो । ‘बैंकिङ क्षेत्रबाट अनुभवी र राम्रा मान्छेहरु पछि हटे भने कस्तो अवस्था आउँछ ? उनी प्रश्न गर्छन् ।

अर्थतन्त्र सुस्ताउँदा पनि बैंकहरुले धेरै कमाएको भनेर व्यवसायीहरुले आलोचना गरिरहेका छन् । यथार्थमा बैंकिङको प्रतिफल न्यून छ । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसत ८ प्रतिशत हाराहारी प्रतिफल पाएका हुन् । तर, अहिले वाणिज्य बैंकको मुद्दती निक्षेपमा औषत ब्याज ९.९९ प्रतिशत छ । सेयर बेचेर सोही बैंकमा मुद्दति निक्षेप राख्ने हो भने बढी फाइदा हुने अवस्था छ । बैंकका सेयरधनीले पाउने लाभ मुद्दति निक्षेपको भन्दा औषतमा १.१९ प्रतिशत बिन्दुले कम छ ।

बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहाल बैंकको प्रतिफल दर कम भएको, बैंकको खराब कर्जा बढ्न थालेको, बैंकभन्दा अन्यत्र आम्दानी राम्रो देखेका कारण पनि बैंकका संस्थापकहरुले सेयर बिक्री गरेर बाहिरिने गरेको बताउँछन् ।

‘अहिले बैंकले धेरै कमाए भनेर प्रचार गर्ने गरिन्छ’ दहाले भने ‘बाहिर हल्ला भएजस्तो बैंकहरुको नाफा छैन, बैंकले नाफा कमाए भनेर गाली गर्नेक्रम बढ्दो छ, गाली पनि खानु छ बैंकको प्रतिफल दर पनि कम हुँदैछ, यस्तो अवस्थामा संस्थापकले बैंकभन्दा अन्यत्र लगानीको राम्रो सम्भावना देखेका हुन सक्छन् ।’

प्रतिफल घट्न थालेपछि कतिपय बैंकका संस्थापकले आफूले हालेको मूल्यभन्दा कममा सेयर बिक्री गरेर बैंकबाट बाहिरिन थालेको वित्तीय बजारमा व्यापक चर्चा छ ।

संस्थापक सेयर बिक्री गर्न चाहने सेयरधनीमा अधिकांश कम आरओई रहेका बैंकका नै रहेका छन् । धेरै संस्थापक सेयर बिक्री गर्न चाहनेमा अहिले कुमारी बैंक, प्रभु बैंक, प्राइम बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक लगायत संस्थापक सेयरधनी रहेको देखिन्छ । असोज मसान्तसम्म कुमारी बैंकको आरओई २.८१ प्रतिशत, प्रभु बैंकको १२.०२ प्रतिशत, हिमालयन बैंकको ११.५७ प्रतिशत, प्राइम बैंकको १५.९४ प्रतिशत, नबिल बैंकको १०.०१ प्रतिशत, सिद्धार्थ बैकको ०.६७ प्रतिशत तथा ग्लोबल आइएमई बैंकको ८.१६ प्रतिशत रहेको छ ।


सोभित थपलिया