हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर साढे ३ अर्बमा हिमालयन रि इन्स्योरेन्सले किन्ने



काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर किन्ने भएको छ । हबिब बैंक र हिमालयन रिबीच सेयर किनबेच सम्झौता भइसकेको छ । सोही अनुसार हिमालयन बैंकको सञ्चालक समितिले पनि हिमालयन रिलाई हबिबको सेयर बिक्री दिने सिफारिस गरेको छ ।

देशका ठूला व्यापारिक घराना संस्थापक रहेको हिमालयन रि-इन्स्योरेन्स पछिल्लोसमय आफ्नो पोर्टफोलियो बढाउन आक्रामक ढंगले लगानी विस्तारको रणनीति बनाएको छ। हिमालयन ब्राण्डमा विभिन्न बिजनेश गर्दै आएको समूहद्धारा प्रवद्र्धित हिमालयन रिले हिमालयन बैंकमा रहेको हबिब बैंकको २ करोड ८० लाख २० हजार कित्ता अर्थात् चुक्ता पुँजीको १२.९३ प्रतिशत सेयर किन्न लागेको हो । स्रोतका अनुसार प्रतिकित्ता १३० रुपैयाँका दरले ३ अर्ब ६४ करोड रुपैयाँमा डिल फाइनल भइसकेको छ । हिमालयन बैंकको चुक्ता पुाजी २१ अर्ब ६५ करोड २० लाख रुपैयाँ रहेको छ ।

३१ वर्ष लामो साझेदारी टुंग्याउँदै हबिब हिमालयन बैंकबाट बाहिरिन खोजेको हो । पाकिस्तानको अर्थतन्त्र समस्यामा परेपछि हबिब बैंक पनि समस्यामा परेको छ । विदेशमा रहेको आफ्नो लगानी फिर्ता गर्ने रणनीति अनुसार हबिबले धमाधम आफ्नो सेयर बिक्री गरिरहेको छ । केही वर्षयता उसले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्रीमा राखेको थियो । बेलायतको एउटा नियोग र कर्मचारी सञ्चय कोषले उक्त सेयर किन्नका लागि डिल गरेपनि उक्त डिल फाइनल हुन सकेको थिएन । त्यो बेला प्रतिकित्ता २५० रुपैयाँ मूल्य राखिएको थियो ।

प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको हिमालयन रिले उक्त सेयर प्रतिकित्ता १३० रुपैयाँमा किन्न लागेको हो ।

हिमालयन रिले अनुमति माग गर्दै गत सातामात्रै राष्ट्र बैंकलाई औपचारिकरुपमा पत्र पठाएको छ । बैंकको संस्थापक सेयर खदिर गर्ने लगानीकर्ता कम्पनीको राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्ट गर्छ । फिट एण्ड प्रोपर टेस्टमा योग्य कम्पनीलाई मात्रै राष्ट्र बैंकले सेयर किन्न अनुमति दिन्छ ।

‘हिमालयन रिले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर किन्ने अनुमति माग गर्दै राष्ट्र बैंकमा पत्र पठाएको छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘हामीले फिट एण्ड प्रोपर टेस्टको प्रक्रिया अघि बढाएका छौं । योग्य देखियो भने अनुमति दिन्छौं।’

हिमालयन रिमा ग्रोल्छा ग्रुपका प्रमुखसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा अध्यक्ष छन् । गोल्छा महासंघको अध्यक्ष हुँदा हिमालयन रिले लाइसेन्स पाएको थियो । शंकर ग्रुपका शाहिल अग्रवाल सञ्चालक छन् । यो कम्पनीमा अन्य ठूला व्यापारिक घरानासँगै व्यवसायी दिपक भट्टको पनि लगानी छ । यो समूहले हिमालयन स्टक एक्सचेञ्ज पनि ल्याउन खोजिरेको छ ।

व्यवसायमा आक्रामक बनेको शंकर ग्रुपले विगत ४/५ वर्षदेखि बैंकमा प्रवेश गर्न खोजिरहेको थियो ।

हिमालयन रिका सञ्चालकहरु भने आफ्नो कम्पनीको पोर्टफोलियो बढाउनका लागि हबिब बैंकको सेयर किन्न खोजेको बताउँछन् ।

‘रि–इन्स्योरेन्सले विदेशी कम्पनीको पनि व्यापार ल्याउनुपर्ने हुन्छ, त्यसका लागि ठूलो पोर्टफोलियो चाहिने भएकाले हामी बैंकमा प्रवेश गर्न लागेका हौं,’ एक सञ्चालकले क्लिकमान्डुसँग भने, ‘प्रतिफलका हिसाबले त हिमालयन बैंकमै मुद्दति निक्षेपमा राखेको भए बढी हुन्थ्यो नि।’

बैंकबाट धमाधम संस्थागत लगानीकर्ताहरु बाहिरँदा बीमा कम्पनीले बैंकको सेयर किनिरहेका छन् ।

संस्थागत लगानीकर्ता भनेर आएपनि बिजनेश कम्युनिटी नै बैंकमा आएकाले फिट एण्ड प्रोपर टेस्टमा कसरी विश्लेषण गर्ने भनेर राष्ट्र बैंकका अधिकारीहरुले छलफल शुरु गरेका छन् ।

‘संस्थागतका नाममा व्यापारिक घरानाले नै बैंकको सेयर किन्न खोज्दा स्वार्थको द्धन्द्ध हुन्छ कि भन्ने विषय पनि आएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, यति ठूलो रकम जो कोहीले निकाल्न नसक्ने व्यवहारिक पाटो पनि हेनुपर्ने हुन्छ ।’

अर्कोकुरा मर्जरमा जाँदा स्वाप रेसियोबाट भएको लाभमा पनि सरकारले कर तिराउने भनेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँका दरले गाभेको थियो । सिभिललाई गाभ्दा हिमालयनलाई प्रतिकित्ता १९ रुपैयाँ लाभ भएको थियो।

उक्त लाभको कर तिर्नुपर्ने विषय सर्बोच्च अदालतमा बिचाराधीन अवस्थामा छ । यही मंसिर २० गते अन्तिम पैसलाका लागि पेशी तोकिएको छ । अदालतको अन्तिम फैसलापछि मात्रै राष्ट्र बैंकले औपचारिक प्रक्रिया अघि बढाउने बताइएको छ ।


क्लिकमान्डु