यी हुन् बैंकमा सबैभन्दा बढी सेयर हुने २१ व्यक्ति, कुन बैंकमा कसको कति ?



काठमाडौं । लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल १०.७३ प्रतिशतको हाराहारी छ ।

प्रतिफल घटेसँगै कतिपय संस्थापक सेयरधनीहरु धमाधम सेयर बेचेर बाहिरिरहेका छन् । साथै, बैंकर र व्यवसायी छुट्याउने लामो समयदेखिको प्रयासले पनि कतिपय संस्थापकहरुले सेयर बिक्री गरेका हुन् ।

केही समयअघि सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयकमा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने लगानीकर्तालाई बैंकिङ प्रणालीबाट कर्जा लिन कडाइ गर्ने प्रस्ताव छ । जसले पनि बैंकिङमा लगानी गरिरहेका ठूला लगानीकर्तालाई अफ्ठ्यारो पर्ने देखिएको हो ।

बाफिया जस्ताको त्यस्तै पारित भयो भने प्रत्यक्षरुपमा २० वाणिज्य बैंकका ८८ जना व्यक्तिगत सेयरधनी प्रभावित हुनेछन् ।

तर, यसमध्ये पनि यो आलेखमा सबैभन्दा ठूला सेयरधनीको बारेमा जानकारी दिइने छ । वाणिज्य बैंकहरुमा ३ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्ने जम्मा २१ व्यक्ति छन् । बैंकहरुले प्रकाशन गरेको तथ्यांकअनुसार २०८० असार मसान्तसम्म बैंकिङ क्षेत्रमा २१ व्यक्तिको ४.१० प्रतिशत सेयर हिस्सा रहेको छ ।

असार मसान्तसम्म बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा २१ व्यक्तिसँग १५ अर्ब १६ करोड २७ लाख ६२ हजार ७५१ रुपैयाँको १५ करोड १६ लाख २७ हजार ६२८ कित्ता अर्थात समग्र स्वामित्वको ४.१० प्रतिशत रहेको छ।

यी २१ व्यक्तिको ६ वटा बैंकमा लगानी रहेको छ । बैंकिङ क्षेत्रको धेरै संस्थापक सेयर स्वामित्व लिने ठूला २१ सेयरधनी एभरेष्ट, माछापुच्छ्रे, सानिमा, एनआईसी एशिया, लक्ष्मी सनराईज र सिटिजन्स बैंकमा मात्रै रहेका छन् । जो व्यक्तिगत तर्फका सबैभन्दा ठूला सेयरधनी हुन् ।

एभरेष्ट बैंकमा प्रतिमा श्रेष्ठको १ अर्ब ५८ करोड ६ लाख ११ हजार १०० रुपैयाँ बराबरको १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर स्वामित्व छ । जुन बैंकको चुक्ता पुँजीको १४.७७ प्रतिशत हो।

बैंकिङ क्षेत्रमा ठूला संस्थापक सेयरधनीमा सबैभन्दा ठूला हिस्सा नै व्यक्तिगततर्फ प्रतिमाको हो । एभरेष्टमा स्वर्गीय विष्णुकुमार (बिके) श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ करोड २१ लाख ५१ हजार १०० रुपैयाँको ९८ लाख २१ हजार ५११ कित्ता सेयर स्वामित्व छ । प्रतिमा पूर्वअध्यक्षसमेत रहेका बिकेकी छोरी हुन् ।

यस्तै माछापुच्छ्रे बैंकमा सुरेन्द्र महतोको १०.९५ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर छ । माछापुच्छ्रेमा उपेन्द्र महतोको ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँको ९३ लाख ७१ हजार ८८० कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा उनको स्वामित्व ९.१४ प्रतिशत छ ।

यस्तै वाणिज्य बैंकमा ३ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेमा प्रेम कुमारी केसी रहेकी छिन् । माछापुच्छ्रे बैंकका ठूला सेयरधनी केसीसँग बैंकको ८.६८ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा उनको ८९ करोड १ लाख ५ हजार ६०० रुपैयाँको ८९ लाख १ हजार ५६ कित्ता सेयर स्वामित्व छ ।

सानिमा बैंकका ठूला सेयरधनी अरुण कुमार ओझाको ९८ करोड ९१ लाख ३२ हजार ३०० रुपैयाँको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात् ७.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । उनी सानिमा बैंकका ठूला सेयरधनी हुन् ।

यस्तै सानिमा बैंकका अर्का ठूला सेयरधनी टेकराज निरौलाको नाममा ८४ करोड ८३ लाख ५५ हजार रुपैयाँको ८४ लाख ८३ हजार ५५० कित्ता अर्थात ६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकमा अशोक कुमार अग्रवालको ७१ करोड ४६ लाख ५५ हजार २०० रुपैयाँको ७१ लाख ४६ हजार ५५२ कित्ता अर्थात ६.१८ प्रतिशत रहेको छ ।

बैंकिङ क्षेत्रका ठूला सेयरधनीमा जिवनाथ लामिछाने पनि हुन । सानिमा बैंकमा उनको ६८ करोड ६७ लाख २९ हजार ४०० रुपैयाँको ६८ लाख ६७ हजार २९४ कित्ता सेयर अर्थात् ५.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनआईसी एशिया बैंकमा त्रिलोक चन्द अग्रवालको ६१ करोड ७५ लाख १७ हजार ६०० रुपैयाँको ६१ लाख ७५ हजार १७६ कित्ता अर्थात ५.३४ प्रतिशत सेयर स्वामित्व छ । एनआईसीमै रामचन्द्र संघाइको ५० करोड ९९ लाख ७२ ४०० रुपैयाँको ५० लाख ९९ हजार ७२४ कित्ता अर्थात ४.४१ प्रतिशत छ ।

सानिमा बैंकमा विनय कुमार श्रेष्ठको ५४ करोड ६० लाख ६० हजार ९०० रुपैयाँको ५४ लाख ६० हजार ६०९ कित्ता अर्थात ४.३८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै एनआइसी एशियामा सुभाष चन्द्र संघईको ५० करोड ५३ लाख ४६ हजार ८०० रुपैयाँको ५० लाख ५३ हजार ४६८ कित्ता अर्थात् ४.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

राम आषीश साहुको माछापुच्छ्रे बैंकमा ४३ करोड ४४ लाख २ हजार ७०० रुपैयाँको ४३ लाख ४४ हजार २७ कित्ता अर्थात् ४.२४ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै लक्ष्मी सनराइज बैंकमा सारिका खेतानको ९० करोड ३६ लाख ७२ हजार ८०० रुपैयाँको ९० लाख ३६ हजार ७२८ कित्ता अर्थात् ४.१७ प्रतिशत र स्नेहा खेतानको ८४ करोड ६४ लाख ३९ हजार ६०० रुपैयाँको ८४ लाख ६४ हजार ३९६ कित्ता अर्थात ३.९१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सारिका राजेन्द्र खेतानकी श्रीमति हुन् भने स्नेहा छोरी हुन् ।

सानिमा बैंकका ठूला सेयरधनी घनश्याम थापाको ४३ करोड ५७ लाख १७ हजार ६०० रुपैयाँको ४३ लाख ५७ हजार १७६ कित्ता अर्थात ३.५ प्रतिशत सेयर स्वामित्व छ ।

सानिमाका अर्का ठूला सेयरधनी खेमराज लामिछानेको ३.५ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा उनको ४३ करोड ५६ लाख २६ करोड ५०० रुपैयाँको ४३ लाख ५६ हजार २६५ कित्ता सेयर स्वामित्व छ ।

यस्तै उर्मिला पाण्डेको सिटिजन्स बैंकमा ४६ करोड ९२ लाख ६८ हजार ५५१ रुपैयाँको ४६ लाख ९२ हजार ६८६ कित्ता अर्थात् ३.३ प्रतिशत सेयर स्वामित्व छ । उनी बैंकका अध्यक्ष प्रवलजंग पाण्डेकी आमा हुन् ।

एनआईसी एशिया बैंकका लोकमान्य गोल्छाको ३५ करोड ८४ लाख ८४ हजार रुपैयाँको ३५ लाख ८४ हजार ८४० कित्ता अर्थात् ३.१ प्रतिशत सेयर स्वामित्व छ । अनुज अग्रवालको एनआईसी एशिया बैंकमा ३४ करोड ८० लाख ७६ हजार ४०० रुपैयाँको ३४ लाख ८० हजार ७६४ कित्ता अर्थात् ३.०१ प्रतिशत सेयर स्वामित्व छ ।


क्लिकमान्डु