
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सरुवा हुने भएका छन् । प्रबन्ध निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयल सरुवा गर्ने सरकारले तयारी गरेको स्रोतको दाबी छ ।
‘प्रबन्ध निर्देशक घिसिङलाई हितेन्द्र देव शाक्यकै जसरी मन्त्रालय सरुवा गरेर उपकार्यकारी निर्देशकलाई निमित्त दिने तयारी छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘भोलि (सोमबार) को मन्त्रिपरिषदले उनको सरुवा गर्ने तयारी भएको छ ।’
सरकारलाई असहयोग गरेको, निर्देशन नमानेको, आफूखुसी निर्णयहरु गरेको भन्दै उनलाई सरुवा गर्न लागिएको स्रोतको दाबी छ । ऊर्जामन्त्री दीपक खड्काले संसददेखि सार्वजनिकस्थलहरुमा समेत घिसिङको खरो आलोचना गर्दै आएका छन् । उनले कुलमानलाई उज्यालोको नायक मान्न नसकिने भन्दै लोडसेडिङ अन्त्यको जस निजी क्षेत्र र भारतलाई दिनुपर्ने बताउँदै आएका छन् ।
ऊर्जामन्त्री खड्काको निर्देशन नमानेपछि घिसिङ र खड्काबीच दुरी बढेको हो । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा समेत दुईबीच फरक मत छ । घिसिङले सञ्चालक समितिको निर्देशन नमानेको, मन्त्रालयले बनाएको समितिलाई डेटा नदिएको, मन्त्रीको निर्देशन नमानेको भन्दै ऊर्जामन्त्री खड्का पनि रिसले चुर भएका छन् ।
पटक-पटक सोधिएको स्पष्टिकरणमा कुलमानले चित्तबुझ्दो जवाफ दिएका छैनन् । यद्यपि, मन्त्रालयले बनाएको समितिलाई काम नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रधानमन्त्री ओली पनि कुलमानलाई हटाउने पक्षमा छन् । डेडिकेटेड ट्रंक लाइनका विषयमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको र सरकारले पटक पटक दिएको निर्देशन पालना नगरेपछि प्रधानमन्त्री ओली कुलमानसँग रुष्ट छन् ।
सरकारले ६ पटक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिसकेको छ । ऊर्जा मन्त्रालयले कार्य सम्पादन मूल्यांकन ढिलो बुझाएको भन्दै शुन्य अंकसमेत दिएको छ ।
उनलाई मन्त्रालय सरुवा गरेपछि प्राधिकरणकै उपकार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिने तयारी छ । प्राधिकरणमा बरिष्ठताको आधारमा दिर्घायुकुमार श्रेष्ठ उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । बरिष्ठलाई नै निमित्तको जिम्मेवारी दिने गरिएको यस अघिको अभ्यासलाई मान्ने हो भने उनले निमित्तको जिम्मेवारी पाउने सम्भावना छ ।
प्राधिकरणमा फणिन्द्रराज जोशी, मदन तिम्सिना उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । सरकारले चाहेमा अन्य उपकार्यकारी निर्देशकलाई समेत जिम्मेवारी दिन सक्नेछ ।
प्रतिक्रिया