रवीन्द्र मिश्र, धवल शम्शेर लगायतलाई आज अदालत उपस्थित गराउने तयारी

623
Shares

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा लगायतलाई आइतबार(आज) अदालत उपस्थित गराइने भएको छ ।

काठमाडौं प्रहरी परिसरले मिश्र, राणा, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतका आरोपीलाई आइतबार म्याद थपका लागि अदालत लगिन लागेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिश्र, राणा र स्वागत नेपाललाई शुक्रबार पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो।

त्यस्तै खतिवडा शनिबार पक्राउ परेका थिए । अदालत शनिबार बन्द रहने भएकाले उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको हो ।

उनीहरूमाथि राज्यविरूद्धको अपराध कसुर,ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध र हिंसात्मक गतिविधि जस्ता कसुरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ ।

शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन भएको थियो । प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा हिंसात्मक गतिविधि भएका थिए । त्यसक्रममा तोडफोड र आगजनी भएका थिए ।