
सुनसरी । जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् ।
उनले करिब आठ लाख लागतमा खेती सुरु गरेका छन् ।
मेहताका अनुसार एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायररहोल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए ।
‘खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु’, उनले भने ।
परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट १२ लाखभन्दा बढी आम्दनी हुने लक्ष्य लिएको मेहताले बताए ।
सुरुआती लगानी र मेहनतपश्चात् अहिले उनले उत्साहजनक प्रतिफल प्राप्त गरिरहेका छन् ।
प्रतिकट्ठा करिब एक हजार ४०० किलो ड्रागन फ्रुट उत्पादन हुने लक्ष्य रहेको मेहताले बताए । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका कृषकका लागि रामेश्वर मेहताको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरक उदाहरण बनेको छ ।
कम मेहनत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यसको खेतीतर्फ अन्य कृषकको आकर्षण बढ्न थालेको छ ।
यस खेतीबाट प्रशस्त आम्दनी आउन थालेपछि खेती विस्तार गर्ने तयारी थालेको किसान मेहताले बताए ।
जिल्लामा ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।
उनका अनुसार जिल्लामा १२ दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर ड्रागन फ्रुट उत्पादन हुँदै आएको छ ।






प्रतिक्रिया