
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको दाबी गरेका छन् ।
महाधिवेशन स्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।
‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,’ उनले भने, ‘महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ ।’
महाधिवशेन सञ्चालनका लागि चार करोड रूपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ । सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने उनले बताए ।
‘हामी सांसदले प्रतिमहिना १६ हजार ५०० उठाउँछौँ । त्यहाँबाट महिनामा ३२ लाख सङ्कलन हुन्छ । केन्द्रीय सदस्यले वार्षिक २५ हजार सङ्कलन गर्दछौँ,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिबाट नै डेढ करोड सङ्कलन हुन्छ ।’
उनले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा ‘क्युआर’ पठाइएको बताए ।
रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठान नपरेको उनको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए ।
‘हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ । होटल बुक पनि आफैँ नै गर्ने हो,’ उनले भने, ‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ । कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ ।’
व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए ।
‘निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन । जनताका लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ । त्यो त राजनीति नै भएन नि’, उनले भने, ‘हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ ।’
रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।






प्रतिक्रिया