
एजेन्सी । विश्वप्रसिद्ध अन्तरिक्षयात्री सुनिता विलियम्स ९ महिनाको कठिन र जोखिमपूर्ण यात्रापछि हालै पृथ्वीमा अवतरण भएकी छन् । उनै अन्तरिक्षयात्री सुनिताबारे यतिबेला विश्वभर चर्चा भइरहेको छ ।
अन्तरिक्षबारे चासो नराख्नेहरुका लागि पनि सुनिताको यसपटकको यात्राबारे जान्ने इच्छा हुनु स्वभाविक छ ।
सुनिताको यो यात्राले नासामा मात्रै नभएर विश्वभर नै नयाँ इतिहास बनाएको छ । साथै यसअघि अमेरिकी सेनाको नेभी अफिसरको रुपमा काम गरिसकेकी सुनिताले नासाका लागि एक महत्वपूर्ण र ऐतिहासिक योगदान दिएकी छन् ।
खासगरी सुनिताको रोमान्चक र चमत्कारिक यात्राबारे धेरैलाई चासो भइरहेको छ । ९ दिनका लागि मात्रै अन्तरिक्ष यात्रामा निस्किएका सुनिता र उनका सहकर्मी बुच विलमोरले अन्तरिक्षमा ९ महिनासम्म बिताउनुपर्यो ।
जवकि सामान्यतया कुनै पनि अन्तरिक्षयात्रीका लागि यो अस्वभाविक हो । सामान्यतया ६ महिनासम्म अन्तरिक्षमा बिताउनुलाई पनि वैज्ञानिकहरु धेरै लामो समय मान्ने गर्छन् ।

को हुन् सुनिता ?
१९९६ को सेप्टेम्बर १९ मा जन्मिएकी सुनिता भारतीय मूलकी अमेरिकी नागरिक हुन् । उनका बाबु दीपक पान्डेको मूल थलो भारतको गुजरात हो । दीपक भने अमेरिकामै बसेका वरिष्ठ चिकित्सक हुन् । आमा भने स्लोभाकिया मूलकी अमेरिकी उर्सुलिन बोनी हुन् ।
सुनिता तीन सन्तानमध्ये कान्छी हुन् ।
सुनिता म्यासाचुसेट्सबाट हाइस्कुल सकेर १९८७ मा फिजिकल साइन्समा स्नातक सकेकी थिइन् । त्यसपछि उनले फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट १९९५ मा इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरिन् ।
सुनिता पूर्वअमेरिकी सैनिक अधिकृत पनि हुन् । उनले पढाइ सकेर अमेरिकी सेनाको नेभीमा काम गरिन् । त्यस क्रममा उनले प्रारम्भिक रुपमा हेलिकप्टर पाइलटको तालिम लिएकी थिइन् ।
त्यसपछि उनलाई भर्जिनियाको नोर्फोकमा हेलिकप्टर कम्ब्याट सपोर्ट स्क्वाड्रनमा खटाइयो । त्यस क्रममा उनले भूमध्यसागर, रेड सी र पर्सियन गल्फ जस्ता महत्वपूर्ण क्षेत्रमा सैन्य तैनाथ गरिन् ।
१९९० पछि उनको पाइलटको यात्रा सुरु भएको थियो । त्यसक्रममा उनले ३० वटा फरक एयरक्राफ्ट र २ हजार ७७० फ्लाइट आवर गरेकी थिइन् । र अन्तरिक्षयात्रीको रुपमा छनोट हुँदा उनी युएसएस साइपान क्षेत्रमा तैनाथ थिइन् ।
यसरी सुनिताले १९९८ मा अन्तरिक्षयात्रा सम्बन्धी तालिम लिन थालिन् । त्यसबेला उनी मस्को गएर रोबोटिक्स र आइएसएस अपरेसन सम्बन्धी तालिम लिइन् । अन्तत २००६ को डिसेम्बर ९ मा उनले एसटीएस–११६ मिसन अन्तरगत ‘स्पेस सटल डिस्कभरी’को टिममा रहेर पहिलो अन्तरिक्षयात्रा गरिन् ।

विलियमले २०१२ को जुलाइमा दोस्रो अन्तरिक्ष यात्रा गरेकी थिइन् । सोयुज टीएमए–०५ मिसनको टिमबाट उनले दोस्रो यात्रा गरेकी थिइन् । उनी त्यस क्रममा फ्लाइट इन्जिनियरको रुपमा थिइन् । त्यस क्रममा उनी १२७ दिन अन्तरिक्षमा बिताएर नोभेम्बर ११ मा पृथ्वीमा अवतरण गरेकी थिइन् । यसरी उनका दुई अन्तरिक्ष यात्राको समग्र समय हिसाब गर्दा ३२१ दिन भइसकेको थियो।
यसैगरी २०१५ मा विलियम नासाको कमर्सियल क्रुका लागि छनोट भइन् । चार जनाको टोलीमा विलियम पनि एक हुन् । र यसका लागि दुई नयाँ निजी अन्तरिक्ष यान स्पेस एक्स र बोइङको संयोजन थियो ।
यो मिसनको लागि पहिलो उडान २०२२ मा तय गरियो जहाँ सुनिता पनि एक थिइन् । सुनिता र उनका सहयात्री बुच विलमोर २०२४को जुनमा पृथ्वी छाडेर अन्तरिक्ष यात्रामा निस्किए । विलमोर कमान्डर थिए भने विलियम्स पाइलट ।
उडानको क्रममा अन्तरिक्षयात्रामा रहेको यानको पाँचवटा इन्जिनमा समस्या उत्पन्न भएर हेलियम लिक भएको पत्ता लाग्यो । तर नासाले उक्त यान स्टारलाइनलाई फेरि सुरक्षित रुपमा प्रवेश गर्नसक्ने नभएसम्म पृथ्वीमा फिर्ता गर्न ढिला गर्यो ।
नासाले २०२४ को अगस्टमा सुरक्षा चासोका कारण अन्तरिक्ष यात्राको लागि पठाइने अर्को यान स्पेस एक्स क्रुमा चार जनाको सट्टा दुई जनालाई मात्रै पठाउने घोषण गरेको थियो । र २०२५ को फेब्रुअरीमा विलियम र विलमोर अवतरण गर्ने बताएको थियो।
तर उनीहरुको पृथ्वी फर्किने समय झनै लम्बिएर मार्च १८ मा मात्रै सम्भव भयो । यतिन्जेलसम्म उनीहरुले अन्तरिक्षमा ९ महिना बिताइसके । यसपटक सुनिता र विलमोरले २८६ दिन अन्तरिक्षमा बिताए । यसरी सुनिता विलियमले तीनवटा यात्रा जोडेर अन्तरिक्षमा मात्रै बिताएको पूरा समय हिसाब गर्दा ६७५ दिन भएछ ।
जे भए पनि सुनिता सफल रुपमा पृथ्वीमा अवतरण भइसकेकी छन् । यसबीचमा उनको यात्रा कति रोमान्चक थियो वा कठिन थियो भनेर धेरैलाई कौतुहलता लाग्नु स्वभाविक नै हो । तर इतिहास रच्ने नासाको वैज्ञानिकको रुपमा सुनिताले आर्थिक रुपमा कति कमाइ गर्छिन् भन्ने थप रोचक हुनसक्छ ।

सुनिताले कति कमाउँछिन् ?
अमेरिकी सरकारी तलब स्केल अनुसार नासाको अन्तरिक्षयात्रीले पाउने पारिश्रमिक ‘जीएस–१३ देखि जीएस–१५’ सम्म हो । अर्थात् सरकारी उच्चस्तरीय प्राविधिकले पाउने तलब स्केल हो । उच्च अनुभवी अन्तरिक्षयात्रीको रुपमा विलियम्सले पाउने तलब स्केल ‘जीएस–१५’ श्रेणीमा पर्ने बताइन्छ ।
यो श्रेणीका कर्मचारीको वार्षिक पारिश्रमिक सामान्यतया १ लाख ५२ हजार २५८ अमेरिकी डलरदेखि १ लाख ६२ हजार ६७२ हुन्छ । अर्थात् यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कम्तिमा २ करोड ९ लाख ४९ हजार रुपैयाँ हुन जान्छ । यो सुनिताले अमेरिकी सरकारबाट वार्षिक रुपमा पाउने नियमित तलब हो । यसबाहेक उनले अन्तरिक्षमा जाँदा अतिरिक्त रकम पाउँछिन् ।
सुनिता विलियम्सको पछिल्लो अन्तरिक्ष मिशन २८७ दिन लामो रह्यो । यस अवधिको लागि उनको अनुमानित तलब ९३ हजार ८५० देखि १ लाख २२ हजार ४ अमेरिकी डलर (करिब १ करोड २४ लाखदेखि १ करोड ६१ लाख रुपैयाँ) हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस अतिरिक्त उनले अन्तरिक्षमा बस्दा दैनिक भत्ता स्वरूप ४ डलर प्रतिदिन पाउँछिन् । जसले २८७ दिनको लागि १ हजार १४८ अमेरिकी डलर (करिब १ लाख ५७ हजार रुपैयाँ) हुन्छ।
यस आधारमा उनको कुल कमाइ ९४ हजार ९९८ देखि १ लाख २३ हजार १५२ अमेरिकी डलर (करिब १ करोड २५ लाखदेखि १ करोड ७० लाख रुपैयाँ) अनुमान गरिएको छ। तलब र अन्तरिक्ष यात्रसमेत गरेर उनले ३ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम पाउन सक्ने देखिएको छ ।
यो त भयो सामान्य पारिश्रमिकको रकम मात्रै । यसबाहेक नासाको अन्तरिक्षयात्रीले सरकारबाट पाउने सुविधा कुनै पनि उच्चपदस्थ अमेरिकी नागरिकभन्दा व्यापक छ । विलियम्सका लागि प्रसस्त मात्रामा स्वास्थ्य बिमा, एड्भान्स मिसन तालिम, मनोवैज्ञानिक सहायता र व्यापक रुपमा यात्राको लागि खर्च पनि नासाले दिने गर्छ ।

विलियम्स आफ्ना पति माइकेल जे विलियम्ससँग टेक्सासमा बस्छिन् । जसको साथमा ५ मिलियन अमेरिकी डलरको सम्पत्ति छ । तर विलियम्सका लागि अब पैसा वा तलबको कुनै महत्व रहेन । उनले यति फराकिलो प्रसिद्धि पाएकी छन् यसले जीवनभर उनलाई स्वर्ण सम्झना दिइरहनेछ । यसपटकको अन्तरिक्ष यात्राले विलियम्स एक वैज्ञानिकका लागि मात्रै नभएर उनका कयौं पुस्तासम्मलाई अमूल्य गौरव प्रदान गर्नेछ ।
ठोस रुपमा हेर्दा भने भविष्यमा विलियम्सका अन्तर्वार्ता, फिल्म, पुस्तक जस्ता सिर्जनशील कामहरु प्रसस्त हुने नै छन् । यसका लागि विलियम्सले इच्छा र माग गरेअनुसार कमाउन सक्नेछिन् । तर यसरी कमाउने रकमभन्दा पनि धैर्य र साहसको प्रतिमूर्तिको रुपमा एक महिला वैज्ञानिकले पाएको जुन स्तरको प्रसिद्धि छ यसले अर्बौं बराबरको वहुमूल्य पारिश्रमिक दिइरहनेछ ।
प्रतिक्रिया